Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लिम्बूवान स्वायत्त राज्यको माग गर्दै अमेरिकाबाट ज्ञापन पत्र

बुद्ध चेम्जोंग/ एचकेनेपाल डट कम-
न्यु योर्क, किराँत याक्थुङ चुम्लुङ अमेरिकाले नेपालमा बन्न लागेको संविधानमा संघियता सहितको”लिम्बूवान स्वायत्त राज्य”को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायी नियोगको कार्यालय न्यु योर्कमा नियोग स्थायी प्रतिनिधि राजदूत ज्ञानचन्द्र आचार्यलाई ज्ञापन पत्र बुझाएको छ।

चुम्लुङ महासचिव दिपेश चबेगुद्वारा संचालित उक्तकार्यक्रममा नेपाली कांग्रेस जन सम्पर्क मञ्च न्यु योर्क च्याप्टरका युवा नेता मुनिन्द्र नेम्बांगले लिम्बुवानको माग किन? भन्नेप्रश्नको उत्तर प्रष्ट पार्दै अबको एक्काइसौ शताब्दीमा “लिम्बुवान राज्य” एक अपरिहार्य भएको बताउनु भयो। उहाँले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गरी सरकार र सबै राजनीतिक पार्टीहरुले लिम्बुवान मागलाई पुरा गर्नु पर्ने बताउनु भयो।

तस्वीरः बुद्ध चेम्जोंग/ एचकेनेपाल डट कम

कार्यक्रमको बीचबीचमा महासचिव दिपेश चबेगुले चुम्लुङ अमेरिकाले यो “लिम्बुवान राज्य” प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन तथा नैतिक समर्थन रहेको प्रतिवद्धता जनाउनु भयो। कथमकदाचित लिम्बुवानको मागलाई अस्वीकार गर्ने अवस्था सिर्जना हुन लागेमा यसै संयुक्त राष्ट्र संघको कार्यालयमा आइएलओ १६९सन्धिलाई आधार मान्दै लिम्बुवानको आवाजलाई बुलन्द पारिने बताउनु भयो।

किराँत याक्थुङ चुम्लुङ अमेरिकाका कार्यवाहक अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले अब बन्ने संविधानमा कुनै पनि हालतमा अरुणपूर्वका नौ जिल्ला लिम्बुवान हुनुपर्छ भनेर जोड दिनुभयो। लिम्बुवान प्राप्तिपछिको राज्य संरचनामा त्यस लिम्बूवानभित्र बसोबास गर्ने सम्पूर्ण जातजातिको मनोभावना अनुसार राज्य चलाईने बताउनु भयो।

कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले अमेरिकामा रहेका लिम्बूहरुको यो “लिम्बुवान राज्य” माग प्रतिको आवाजलाई नेपाल सरकार समक्ष पेश गरिदिने प्रतिवद्धता जनाउनु भयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by