सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १६ बैशाख । आउँदो बैशाख २४ गते काठमाडौंमा ‘मिस नेपाल २०१२’ को फाइनल प्रतिस्पर्धा हुँदैछ। फाइनल प्रतिस्पर्धाका लागि देशभरका १६ युवती १ महिनायता प्रशिक्षणमा व्यस्त छन्।
कोरियोग्राफर रचना शर्मा गुरुङ र प्रशान्त ताम्राकारले उनीहरुलाई र्याप मोडलिङ, व्यक्तित्व विकास, पहिरनलगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेका छन्।
एक महिनाको लामो प्रशिक्षणको अन्तिम रिजल्टको छिनोफानो आगामी २४ गते हुनेछ। यस वर्ष २ जना प्रतियोगीले पूर्वाञ्चलको प्रतिनिधित्व गरिरहेका छन्। धरानबाट इन्दिरा राई र झापाबाट हीना श्रेष्ठले प्रतियोगितामा भाग लिएका छन्।
धरानमै एमबीएस पहिलो वर्षमा अध्ययनरत इन्दिरा यसअघि ‘मिस पूर्वाञ्चल २०११’ मा सहभागिता जनाएर टप टेनसम्म पुग्न सफल प्रतियोगी हुन् भने राजविराजमा ल्याब टेक्निसियन पढ्दै गरेकी हीना मिस पूर्वाञ्चल २०१२ की सेकेण्ड रनर-अप हुन्।
भारत्तोलन खेलको राष्ट्रिय खेलाडीसमेत रहेकी हीनाले मिस पूर्वाञ्चलबाट सिधै प्रवेश पाएकी हुन्।
मिस नेपालमा भाग लिएर व्यक्तित्व विकास र आफूमा भएको कला उजागर गर्न अझ सजिलो भएको दुवैको अनुभव छ। सपना सधैं जित्नु नै हुन्छ र त्यहीअनुरुप कडा मेहनत पनि गरिरहेको बताउने हिना जीत-हारलाई सहजरुपमा लिने बताउँछिन्।
सफलता पाउन भाग्य पनि त्यतिकै बलियो हुनुपर्ने उनको बुझाइ छ। इन्दिरा पनि मिस नेपालको ताज-जित्नका लागि आफ्नो कला, ज्ञान, सीप लगाएर कडा मेहनत गरिरहेको बताउँछिन्।
मिस नेपालको ‘मिस पपुलर’ एवार्डका लागि इन्दिरा राईलाई भोट गर्न MN (space) 17 र हिना श्रेष्ठलाई भोट गर्न MN (space) 17 टाइप गरी 2722 मा पठाउनु पर्नेछ।