Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जुनियर तेक्वान्दोमा शुक्रराज बलभद्र स्कुल च्याम्पियन

प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, १६ वैशाख। शुक्रराज बलभद्र तेक्वान्दो स्कुल कास्की जिल्ला तेक्वान्दो सङ्घ पोखरा रंशालामा सञ्चालित कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड-२०६९ को च्याम्पियन बनेको छ।

११ स्वर्णका लागि भएको सो खेलमा दुइ स्वर्ण दुइ रजत तथा एक काँस्य पदक प्राप्त गर्दै शुक्रराज पहिलो पटक आयोजना गरिएको रनिङशिल्डको च्याम्पियन बन्न सफल भएको हो।

११ मध्ये शहीद स्मृति आवासीय तेक्वान्दो स्कुल र शुभकामना तेक्वान्दो डोजाङले दुइ-दुइ तथा लेखनाथ तेक्वान्दो डोजाङ, गुडसेर्फड तेक्वान्दो स्कुल, पोखरा तेक्वान्दो डोजाङ, पार्दी तेक्वान्दो स्कुल र बाराही तेक्वान्दो स्कुलले एक-एक स्वर्ण पदक प्राप्त गरेका थिए।

च्याम्पियन बनेको शुक्रराज बलभद्रलाई प्रमुख अतिथि नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष एवं एसियन ह्याण्डबल महासङ्घका उपाध्यक्ष तेजबहादुर गुरुङ तथा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले रनिङशिल्ड हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रमुख अतिथि गुरुङले मार्सल आर्टको विधा तेक्वान्दोले विगतदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउँदै आएको बताए। उनले कुनै पनि खेलाडीलाई ग्रासरुटदेखि नै राम्रो प्रशिक्षण दिने हो भने ऊ भविष्यमा राम्रो खेलाडी बन्न सक्ने धारणा राखे।

प्रतियोगितामा पुरुषतर्फ ४०-४४ केजी तौलसमूहमा स्वर्ण पदक प्राप्त शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सुशान्त गुरुङ तथा महिलातर्फ ४३-४७ केजी तौल समूहमा बाराही तेक्वान्दो स्कुलकी प्रशंसा क्षत्री बेस्ट फाइटर घोषित भए। उनीहरु दुवै जनालाई प्रमणपत्र र एक-एक थान तेक्वान्दो दोबोक प्रदान गरिएको थियो।

समापनका अवसरमा भएको पुरुष २०-२३ केजी तौल समूहमा शुभकामना तेक्वान्दो डोजाङका राजाराम प्यासीले गुडसेर्फड तेक्वान्दो स्कुलका खेम गुरुङलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे। २६-२९ केजी तौलसमूहमा गुडसेर्फड तेक्वान्दो स्कुलका संर्घष श्रेष्ठले यासुदा तेक्वान्दो डोजाङका जेनिश कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारे। ४०-४४ केजी तौलसमूहमा शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सुशान्त गुरुले बाराही तेक्वान्दो स्कुलका दिपिन क्षेत्रीलाई पराजित गर्दै स्वर्ण क प्राप्त गरे। यस्तै महिला ४३-४७ केजी तौलसमूहमा बाराही तेक्वान्दो स्कुलकी प्रशंसा क्षत्रीले शुक्रराज बलभद्र तेक्वान्दो स्कुलकी प्रतीक्षा सुवेदीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए। शुक्रबार सात स्वर्णको टुङ्गो लागेको थियो।

सोही अवसरमा सिनियर खेलाडीहरुले तेक्वान्दोको डेमोन्स्ट्रेशन पनि गरेका थिए। सो अवसरमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र धनगढीमा सञ्चालित छैटौं राष्ट्रिय प्रतियोगितामा कास्की जिल्लाबाट सहभागी भई मेडल प्राप्त गर्ने खेलाडीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो। कास्कीले महिला पुम्सेमा स्वर्ण तथा महिला पुम्सेमा काँस्यपदक प्राप्त गरेको थियो। स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा रेखमाया गुरुङ, प्रतीक्षा सुवेदी र मनिषा गुरुङ रहेका थिए भने काँस्यपदक प्राप्त गर्ने खेलाडीमा बालकृष्ण महतो, विनोद नेपाली र विकास गुरुङ रहेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by