नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
श्रद्धाको फूल चढाई दिनु
आएर लाशमा
नपाए फूल भै गयो, तिमी
रोइदिनु आशमा…।
नारायणगोपालले रवीन्द्र शाहको गीत गाएपछि त्यसबेला नेपाली परिवेशमा यी दुवै स्रष्टाको महिमा बढेको थियो। त्यतिमात्र होइन शाहका शब्दमा नारायणगोपालको स्वर मिस्सिएपछिको भाका त्यसबखतका दुख्खमा रमेका प्रेमीप्रेमिकाको गीता बन्थ्यो।
नेपाली गीतियात्रामा हिँड्ने गीतकारहरूमध्येको अग्रपङ्क्तिमा आउने नाउँ हो रवीन्द्र शाह । उनले राष्ट्रिय भावधारामा आवद्ध धेरै गीत लेखे । गीत लेख्ता यिनले आफ्नो मौलिक विचार पनि लेखे । उनका गीति शब्दमा राष्ट्रियताको ध्वनी चहकिलो भएर जनजनका हृदयमा सम्प्रेषित हुन्थ्यो । त्यति मात्र होइन उनका शब्द भन्नुको परिभाषामा प्रेम, जीवन र जगत पर्छन्।
यी धारा नै उनीभित्र छताछुल्ल भएर नाच्ने गर्थे । त्यसैले यिनको गीतियात्राका विषयमा यिनका बुबा मवीवि शाहले लेखे- ‘रवीन्द्र शाहद्वारा रचित गीतका प्रायः धेरै थुङ्गा मैले टिप्ने अवसर पाएँ। परिश्रमी नेपाली ठिटाहरूको उचित परिश्रमले नेपाली साहित्य फुल्ने छ।’ वास्तवमा त्यस पुस्तामा रवीन्द्रको नेपाली गीतियात्रामा महत्वपूर्ण भूमिका थियो। त्यसैले यी जनजनका हृदयमा गीतकारका रूपमा चम्केका थिएः
म चरी बनी चुमूँला
म परी बनी रमूँला
देशको माटो चुमूँला
म फूल बनी झुमूँला ।
गीतकार राजा महेन्द्रले किशोर वयमा फक्रेका बेला गीतासँग प्रेम गरे । अनि उनीहरूको वैवाहिक जीवन पनि बाँधियो। त्यस बेलाको राजकाजमा त्यस विवाहलाई औपचारिक दिन मिल्दैन थियो । तर पनि यी दम्पत्तिले १९९६ साल असारमा रवीन्द्र शाह जन्माए।
रवीन्द्रले आफ्नो पीडा, आफ्नो दुक्ख र आफ्नो विपतलाई पनि गीतमा उने । त्यसैले उनले दुखात्मक गीत धेरै लेखे। गीतैको माध्यमबाट उनले आफ्नी आमाको करुणा पनि लेखे र बुबाको गाथा पनि लेखे । वास्तवमा उनी साँच्चैका कवि थिए । त्यसैले उनले कलात्मक पाराले शास्वत बेहोराका गीत लेखे।
रवीन्द्र जुन परिवेशमा धर्तीमा जन्मे, उनी त्यही माथीको आकाशमा मन जोडेर बसे । अनि त्यसको सग्लो निष्कर्ष यिनले सानैदेखि गीत लेखे । यिनले जति रचना रचे ती भाकाहरू एकएक गरेर आफ्ना कवि वावुलाई देखाए । त्यसबेला यी बाबु छोरा पनि खुबै मिल्थे । वास्तवमा राजा महेन्द्र बाँचुन्जेल रवीन्द्र शाहको संसार नै फराकिलो, सग्लो र उज्यालो थियो । आफ्नो रगतलाई राजकुमारको पद्वी दिएर रवीन्द्र दरबार बनाई दिने काम पनि महेन्द्रले नै गरे । त्यसपछि समाजमा रवीन्द्रको हैसियतले पनि राम्ररी जरा गाँस्न थाल्यो । तर यिनले आफ्नो जीवनको पृष्ठभूमि साहित्यमा नै केन्द्रित गरे।
पच्चीस वर्षको भएपछि रवीन्द्रको रचना रेडियो नेपालबाट बजेको थियो । भनौं २०२१ सालमा यिनको पहिलो गीत रेडियोमार्फ जनसमक्ष आएको थियोः
रानी तलाउ किनारा !
रवीन्द्रका प्रायः गीत नातिकाजीले सङ्गीत गरे । नातिकाजीको सङ्गीत थपिनाले यी झनै चर्चित भए । अनि नारायणगोपालले यिनको गीत गाउन थालेपछि यी झनै जनप्रिय हुन थाले । साथै तारादेवीका स्वरमा पनि यिनका धेरै गीत चम्के । पुष्प नेपाली, प्रेमध्वज प्रधान, ध्रुव केसी र गौरी केसीहरूले पनि यिनका गीत गाएर यिनलाई धुरी चढाएका थिए । अनि यी पनि माथी, माथी र फेरि माथीको बादल छुने खालकै स्रष्टा थिए।
शिष्टता रवीन्द्रको व्यक्तित्व र कृतित्वको मौलिक शैली थियो । बाँचुन्जेल उनले आफ्नो शैलीलाई हेरफेर गराएनन्। त्यसैले उनलाई दरबारियाले पनि माने र उनका स्रोता र पाठकले पनि त्यतिकै माने । किनभने उनी जनजीवनको लहरमा लहरिंदै पनि गीत लेख्थे । अनि यी स्वतन्त्र विचारक पनि थिए । रवीन्द्रका सम्धी तेजबहादुर प्रसाईका अनुसार उनी प्रजातन्त्रका कट्टर हिमायती थिए । उनका लागि नेपाली भाषा र नेपाली पहिरन पनि अति नै प्रिय थियो । उनी जति उदार थिए, सहृदय पनि त्यस्तै थिए।
रवीन्द्रको विवाह जनरल डाजलशमशेर जबरा र जयाराज्यलक्ष्मी राणाकी छोरी चन्दासँग २०२२ सालमा भएको थियो। यी दम्पत्तिबाट जन्मेका दुई छोरी रचना प्रसाई, सृजना थापा र छोरा पवीन्द्रविक्रम शाह आआफ्ना घरगृहस्थीमा आबद्ध छन्। रचना र सृजनाचाहिँ जुम्ल्हा जन्मेका थिए।
रवीन्द्रले आफूले लेखेका अक्षरलाई समेटेर झरेको फूल, मायाको छाया, पत्रपुष्प, सम्झनाको सौगात र भावनाको लहर गरी पाँचवटा गीतिकविताका कृतिहरू प्रकाशनमा ल्याए। उनी कृतिकार मात्र थिएनन् अब्बल दर्जाका लेखक थिए। त्यसैले उनका कृतिका बारे राष्ट्रकवि माधव घिमिरेले लेखे- ‘गीतकार रवीन्द्र शाहमा अन्तर हृदय बोलेको पाइन्छ भने कवि रवीन्द्र शाहमा अन्तदृष्टि खुलेको पाइन्छ।’
रवीन्द्रलाई धेरै नजिकबाट चिन्ने, जान्ने र बुझने अर्का व्यक्तिको नाउँ हो- पं.श्यामदास वैष्णव । वैष्णवले नै यिनका प्रायः सम्पूर्ण कृतिको अनौपचारिक सम्पादन गरे । त्यतिमात्र होइन यिनका गीतिकविताबारे उनले लेखे पनि- ‘शाहभित्र सौन्दर्यको चेत, देशको बखान, जीवनको उद्गार र हृदयको भाका पाइन्छ।’
रवीन्द्रले त्रिचन्द्र कलेजबाट बीए पास गरे। अध्ययनकालमा पनि यिनले गीतै लेखिरहे। लेखनमा नै यी रमाए । यसै परिवेशमा रम्दारम्दै यिनले कति ठाउँ हारे, कति ठाउँ जिते । यसै सिलसिलामा यी कहिले रोए र कहिले हाँसे । तर पनि यिनले गीत लेख्न छाडेनन्:
यस्तो बाजी हारें मैले
जीत सारा तिम्रो भयो
यस्तो गीत गाएँ मैले
प्रीत सारा तिम्रो भयो ।
रवीन्द्रले जीवनमा धेरैजसो बिरहकै गीत लेखे । यिनले मायाप्रीतिले गुथिएको गीत लेखे । अनि यिनले सुस्केराको भाकाको सिलमा उनेर धेरै राम्राराम्रा गीत लेखे । तर यिनले सस्तो नाराका गीत भने कहिले लेखेनन् । यसबारे उनैले भनेका पनि थिए, ‘मलाई उत्ताउलो र क्षणिक रमाइलो दर्शाउने खालका गीतहरूभन्दा गम्भीर भाव व्यक्त गर्ने सङ्गीत मन पर्छ।’
नेपाली राष्ट्रियताका पूजारी, संवेदनशील कवि र बौद्धिक चेतका गीतकार रवीन्द्र शाह २०५४ साल असोज २१ गते काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा स्वर्गीय भए।
naiprasai@gmail.com