Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रहरीकै सुरक्षामा लागू औषधको सेवनसहित “ट्रान्स पार्टी”

त्रिभुवन पौडेल/ एचकेनेपाल डट कम-
पोखरा, पोखराको फुलबारी रिसोर्टमा तीन दिनदेखि प्रहरीकै सुरक्षामा अबैध लागू औषधको सेवनसहित “ट्रान्स पार्टी” भइरहेको छ।

ठूलो आवाजमा बिदेशी संगीत मात्र बजाएर तीन चार दिनसम्म लगातार नाँच्ने कार्यक्रमलाई ट्रान्स पार्टी भनिन्छ। प्रायः बिदेशी र केही नेपालीहरु समेत सहभागी भएको उक्त पार्टीमा सहभागीहरुले निस्फिक्री गाजा कालो पदार्थ सहितका लागू औषध प्रयोग गरेर शनिबार बिहान देखिलगातार नाचिरहेका छन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

उत्तेजक पोशाक लगाएका युवतीहरु उफ्री उफ्री नाचेको कोही चौरमा ढलेको कोही गाँजा तान्दै गरेको अनौठो दृश्य फूलवारी रिसोर्टमा देख्न पाइन्छ। तर रिसोर्ट वरपरका स्थानीयवासीहरुले भने ठूलो आवाजमा गीत बजाउँदा ध्वनी प्रदुषण भएको गुनासो गरेका छन्। उनीहरुले कन्सर्टमा जस्तै ठूलो आवाजमा गीत बजाउँदा राति सुत्न समेत नसकेको बताएका छन्।

कार्यक्रममा छिर्नका लागि मात्रै एक जना ब्यक्तिले ६ हजार पाँच सय तिर्नुपर्छ। आयोजक आफैले कार्यक्रम स्थलमा यति दरिलो सुरक्षा बनाएका छन् कि उस्तै परे होटलका कर्मचारी छिर्न पनि धौ धौ हुन्छ। पार्टीका लागि भनेर फूलबारी रिसोर्टका एक सय २० वटा कोठा बुक गरिएका छन्।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेक कुमार थापाले भने ट्रान्स पार्टीमा अबैध खबर भएको भन्ने कुरा थाहा नपाएको वताए। लागू औषध प्रयोग गरेको भए थाहा हुने कुकुर र अञ्चल प्रहरी कार्यालय पोखराको लागू औषध नियन्त्रण कार्यान्वयन इकाइको टोली पठाइएको जानकारी दिदै थापाले त्यस्तो थाहा भएमा कार्बाही हुने वताए।

पर्यटन मन्त्रालयबाट जिल्ला प्रशासन हुँदै सुरक्षाका लागि चिठी आएकाले सुरक्षा दिएको एसपी थापाको भनाई छ। तर पश्चिम क्षेत्रका प्रहरी प्रमुख राजेन्द्रिसंह भण्डारीले लागू औषधको प्रयोग भएको ठाउँमा सुरक्षा दिएको भए त्यो गल्ती हुने वताए। काठमाण्डौ रहेका डिआइजी भण्डारीले भने-“के रहेछ बुझेर त्यस्तो भएको भए पक्राउ गर्न लगाउछु।” अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिश्वराज थापाको नेतृत्वमा त्यहाँ सादा पोशाकको प्रहरी टोली खटिइको छ।

निरीक्षक थापाले गाँजा खाएका केही ब्यक्तिहरुको गाजा खोसेर फ्याकिएको बताउँदै अन्य लागू औषध कारोबार भने नभएको दाबी गरे। उनले गाँजा खाने सबैलाई पक्राउ गरेर ल्याउन संभव नहुने भएकालले खाएकाहरुको थुतेर फालिएको बताए। तर त्यहाँ केही पत्रकारहरुको टोली पुग्दा कुना कुनामा बसेर बिदेशी पर्यटकहरु गाजा भन्दा पनि अन्य नशालु पदार्थहरु चुरोटमा मिसाएर सेवन गरीरहेका थिए।

स्रोतका अनुसार धेरैजसो बैंककमा बस्ने अग्रवाल थरका एक ब्यक्तिले इन्टरनेट मार्फत नै कार्यक्रमको चाजोपाँचो मिलाएका हुन्। केही युवाहरुलाई पोखराको कार्यक्रमको ब्यबस्थापन गर्ने जिम्मा दिइएको छ।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by