एचकेनेपाल डट कम संवाददाता-
मुम्बई, ४ वैशाख (एजेन्सी)- एक महिना अघिदेखि आफ्नै कोठाबाट बेपत्ता भएकी नेपाली अभिनेत्री मिनाक्षी थापाको हत्या भएको खुलासा भएको छ।
हत्याको आरोपमा भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३६ वर्षीय अमित जयसवाल र २६ वर्षीया प्रिती एलभिना सुरी रहेका छन्।
नवोदित २६ वर्षीया अभिनेत्री मिनाक्षी बलिउड फिल्म ‘४०४’ र केही टेलिभिजन कमर्सियलमा देखिएकी छन् भने रिलिज हुन बाँकी चलचित्र हिरोइनमा समेत उनले सानोतिनो रोल गरेकी छन्।
बलिउड चलचित्रमा छोटो समय अभिनय गरेकी मिनाक्षीको शव टुक्रा-टुक्रा पारेर ट्यांकीमा फालिएको थियो भने टाउको दुइ दिनसम्म राखेर बसबाट फालेको बताएको छ। उनीहरूले टाउको नचिनिने गरी क्षतविक्षत पारेका थिए।
देहरादूनमा वसोवास गरेकी नेपाली मिनाक्षी एक महिनाअघि मुम्बईस्थित आफ्नै निवास स्थान लोखण्डवालाबाट बेपत्ता भएकी थिइन्। चलचित्र सुटिङका बेला चिनचान भएका अमित र प्रितीले उनको अपहरण गरी रकम असुल्ने योजना गरेका थिए। आफू सम्पन्न परिवारको भएको र चलचित्र शौखका लागि मात्र खेल्ने गरेको बताएपछि नाजुक आर्थिक अवस्थाबाट ग्रजिरहेका अभियुक्तहरूले उनको अपहरण गरी रकम असुल्ने योजना गरेका थिए।
अभियुक्तहरुले मिनाक्षीका आमा र भाइसँग १५ लाख भारतीय रूपैयाको रकम माग गरेको बताइएको छ। रकम नदिए मिनाक्षीको पोर्न भिडियो बनाउने र हत्या गर्ने धम्की दिएको प्रहरी अधिकारीले बताएका छन्। उनीहरूले फोन गरेर मिनाक्षीका भाइ नवराजलाई उनको खातामा रकम राख्न भनेका थिए। नवराजले देहरादून प्रहरीमा थापाको अपहरण भएको रिपोर्टसमेत लेखेका थिए। तर पुरा रकम जम्मा गर्न नसकेका नवराजले अपहरणकारीलाई मात्र ६० हजार भारतीय रुपैया दिएका थिए। माग गरेबमोजिमको रकम नपाएपछि अभियुक्तहरूले मिनाक्षीको हत्या गरेका थिए।
हेर्नुहोस् स्टार न्युजको भिडियो