नातिबाब भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपालीहरुले नयां बर्ष२०६९ को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमका साथ शुभकामाना साँझ सम्पन्न गरेका छन्।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोस्थित थ्रोन्टन हाईस्कुलमा आयोजित कार्यक्रममा यहां रहेका झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो। खचाखच भरिएको हलमा सबै नेपाली भेषमा, नेपाली दाजुभाई, दिदीबहिनी देख्दा विश्वको जुनसुकै कुनामा भएपनि नेपालीले आफ्नो संस्कृति र चार्डपर्ब को जगेर्ना गर्न कम्मर कसेर लाग्ने रहेछन् भन्ने प्रष्ट हुन्थ्यो।
तस्वीरः नातिबाब भट्ट / एचकेनेपाल डट कम
शनिवार साँझ संम्पन्न भएको कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए। कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरीकी महिला साडी ब्लाउच र पुरुष दौरा सुरुवाल लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे।
बाल हुन् वा बृद्ध, यूवा यूवती हुन् वा अधबैसे सबै आ आफ्ना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए। कोही हात मिलाएर त कोही अँगालो मारेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार शुभकामाना साटासाट गर्ने कार्यक्रम चलिरहेको देखिन्थ्यो।
शुभकामाना सांझमा अधिकांश मनोरञ्जन दिने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। लोक, आधुनिक, पप, दोहोरी तथा नेवारी गीतमा कलाकार भाई बहिनीहरुले कम्मर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहदा आफूलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो। दर्शक दीर्घबाट ताली र हुटिङको आवाजले हल गुन्जिरहेको थियो।
सुमीत महर्जनको बांसुरी, दीया, सोना, देब्नसी को जातिस्वाराम नाच, सीमोनी, किर्तन, छिन्ना को च्याट् रुमाल क्या मालुम कोटका खल्तीमा भन्ने गीतको नाचले दर्शकको मन जितेको देखिन्थ्यो। साझ ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा आयोजकले दर्शकहरुलाई भरपूर मानोरञ्जन दिने प्रयास गरेका थिए।
सोही कार्यकममा कवि तथा साहित्यकार मनु ब्राजाकी तथा बरिष्ठ गायक हिरण्य भोजपुरेलगायतका अतिथीहरुले गायक दिनेश कार्कीको गीति क्यासेट बिमोचन गर्नु भएको थियो। कार्यक्रममा उपस्थित दर्शकहरुलाई नेपाली स्वादमा दाल भात तरकारीको समेत ब्यबस्था गरिएको थियो।