एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति बन्ने दावी गरेका छन्।
शान्ति र संविधान निर्माणका लागि रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दवावमूलक अभियान अर्न्तगत ज्ञापनपत्र बुझाउन अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीसँगको कुराकानीमा अध्यक्ष नेम्वाङले कार्यब्यवस्था परामर्श समितिमा प्रमुख दलका शीर्षनेताहरुले गरेको प्रतिबद्धता अनुसार सेना समायोजनको काम पछाडी फर्कन नसक्ने गरी अगाडि बढेको उल्लेख गर्दै यहि स्प्रिटमा बैशाख ५ गतेभित्रै संविधानका विवादित विषयमा सहमति बन्ने विश्वास ब्यक्त गरे।
उनले भने- शीर्षनेताहरुले चैत्र ३० गतेभित्र समयोजन र बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति कायम गर्ने प्रतिबद्धता ब्यक्त गरे। त्यसअघिनै समायोजनमा ऐतिहासिक निर्णय भयो । अब यहि स्प्रिटमा बढे बैशाख ५ गतेभित्र सहमति बन्छ।
जेठ १४ गतेभित्र संविधान जारी हुने विश्वास ब्यक्त गर्दै उनले दलहरुलाई प्रतिबद्धता अनुसार अघि बढ्दै संबैधानिक समिति र विवाद समाधान उपसमितिको बैठक बसेर सहमति गर्न आग्रह गरे । उनले भने-सेना समायोजनको निर्णय भएकोले अब संविधान बन्ने निश्चित भएको छ।
शान्ति प्रक्रिया र संविधान निर्माण कार्य एक अर्कासँग अर्न्तसम्बन्धित रहेको भन्दै शान्ति प्रक्रिया पछाडि र्फकन नसक्ने गरी अगाडि बढेकोले अब संविधान निर्माणको काम पनि द्रूत रुपमा अगाडि बढने नेम्वाङले बताए। उनले भने- संविधान निर्माणको क्रममा असहतजता हटेर विश्वासको वाताबरण बनेको छ । अब संविधान निर्माण हुन्छ।
सेना समायोजनका सन्दर्भमा भएको निर्णयलाई ऐतिहासिक भन्दै नेम्वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाली काग्रेस, नेकपा एमाले र मधेसी मोर्चालाई धन्यवाद दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस