अनुज उप्रेती/ एचकेनेपाल डट कम-
लन्डन यूके, यती नेपाली एसोशियसन यूके को २६ औ कार्य समितिको समुदघाटन तथा पद हस्तान्तरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोछ।
स्थानीय दार्जिलिंग इन रेस्टुरामा सम्पन्न समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राजदूत डा. सुरेश चन्द्र चालिसेले यती संस्थाले ५२ बर्षको इतिहास बोकेर विभिन्न आरोह अबरोहहरु पार गरेको र सबै नेपालीहरुमा एउटा आशाको पुनञ्ज र बिश्वासको वातावरण बनाएको कुरा चर्चा गर्नुहुँदै राजदूतले यहाँको ब्रिटिश समुदायमा पनि एउटा सेतुको काम गरेको छ भन्नु भयो।
अब आउने कार्य समितिले यहाँ आएका नेपाली बृद्ध बृद्धाहरुलाई यहाको समाजमा कसरी प्रतिस्थापन गर्न सकिन्छ यो पनि सोच्नु आवश्यक रहेको छ भन्दै राजदूत चालिसेले नवनिर्बाचित पदाधिकारीहरुलाई शुभ कामना व्यक्त गर्नुभयो।
सभापतिको आसनबाट बोल्नुहुँदै डा. राघब प्रसाद धिताल ओबीइले यती संस्थाले समाजको प्रत्यक्ष प्रतिनिधित्व गर्दै धेरै काम गर्दै आएको कुरा स्मरण गराउँदै राष्ट्र र राष्ट्रिय एकताको पक्षमा राष्ट्रिय एकता दिवस समेत मनाउने गरेको कुरा चर्चा गर्नुभयो। उहाँले यस सस्थाँले हरेक नेपालीलाई पर्ने सुख दुःखमा साथ दिदै आएको कुरा प्रष्ट पार्दै सबै संघ संस्थाहरुलाई मिलाएर अग्रणी भूमिका निर्बाह गर्न नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिनुभयो।
यसअघि, सभालाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष उमेश राज मोक्तानले अग्रजहरुको सल्लाह र युवाहरुको जोशलाई समेटेर समाजको सेवामा समर्पित रहने प्रण गर्नुभयो। यसैगरी, उपस्थित सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै २५ औ कार्यसमितिका उपाध्यक्ष मदन थापाले यती संस्था राष्ट्रलाई छातिभारि बोकेर हिडने समाजसेवीहरुको संस्था भएकोले नैतिकता र नीतिको ख्याल सबै पदाधिकारीहरुले राख्नुपर्ने बिचार व्यक्त गर्नुभयो।
२५ औ कार्य समितिका सदस्य सचिव सुरेशजंग शाहले कार्यक्रमको सञ्चालन गर्दै यती संस्थाको स्थापनाकाल देखिको हाल सम्मका सबै गतिबिधिहरुको जानकारी दिनुभयो भने कोषाध्यक्ष विजय थापाले पूर्वकार्यसमितिले सबै हिसाब किताबहरु र संस्थाका जिन्सीहरु नदेखाएको हुदा र १४७ पौण्ड माइनसमा गएको एकाउन्टलाई करिब २००० पौण्ड जम्मा गरी नवनिर्वाचित कार्यसमितिलाई दिन दिन सफल भएका छौ भन्नु हुँदै यसअघि आफूले तयार गरेको आर्थिक प्रतिवेदन कार्यकारिणी सदस्य कोमल श्रेष्ठ मल्लले संस्थाको एजीएममा पेश गरिसक्नु भएको कुरा उलेल्ख गर्नुहुँदै सबै कगजाजहरु नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नुभयो।
सभामा पूर्व उपाध्यक्ष धुर्ब केसी, निर्वाचन सचिव राजकुमार त्रिपाठी, निर्वाचन पर्वेक्षक सुमन खरेल र नरेन्द्र कंडेलले निर्वाचन स्वच्छता र यती सँस्थाको महत्वबारे प्रकाश पार्नुभयो।
अध्यक्ष राघव प्रसाद धितालको सभापतित्व र सदस्य सचिव सुरेश जंग शाहको सञ्चालनमा आरम्भ भएको समारोहमा प्रमुख अतिथि राजदूत डा. चालिसेले दीप प्रज्वलन गर्नुभइ २६ औ कार्यसमितिको समुद्धाटन गर्नु भएको थियो। कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापनका साथै रमाइलो रात्रिभोज तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस