योगराज राई/ एचकेनेपाल डट कम-
वेलायत, फार्नब्रोमा रावाखोला सेरोफेरोले शनिवार आफ्नो दोश्रो महाअधिवेशन सम्पन्न गरेको छ। सन् २००७ मा स्थापना भएको यो संस्थाको अधिवेशन तीनबर्ष पहिले नै आयोजना गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने भएपनि कार्य ब्यस्तताको कारण अधिवेशन गर्न नसकेको कुरा कार्यक्रम संचालक धर्मराज राईले बताए।
बिभिन्न चरणमा विभाजन गरी संचालन गरिएको कार्यक्रमको शुभारम्भ नेपालको राष्ट्रिया गीत गाएर गरिएको थियो। साथै, रावाखोला सेरोफेरोका ज्ञातअज्ञात मृतात्माहरुको संझनामा एक मिनेट मौनधारण पनि गरिएको थियो। संस्थालाई यहाँसम्म ल्याउनमा उल्लेखनीय योगदान पुर्याउनु भएका रामप्रसाद लिम्बु, जो हाल व्रुनाईमा कार्यरत हुनुहुन्छ, उहाँको भूमिकाको सबैले प्रसंशा गरेका थिए।
संस्थाको संयोजक गजुरमान राईले स्वागत मन्तब्य दिदै आफ्नो कार्यकालमा आफूले सोचे जस्तो काम गर्न नसकेपनि सहयोग दिने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। साथै राईले नयाँ गठन हुने कार्य समितिलाई पनि उत्तिकै सहयोग, सद्भाव र योगदान दिनको लागि सबैसंग आग्रह पनि गरे।
कोषाध्यक्ष धर्मराज राईले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अर्को चरणमा रावाखोला सेरोफेराबाट ब्रिटीस आर्मीमा भर्ती भई मेजर जस्तो सम्मानित दर्जामा पुग्न सफल मेजर रिटायर्ड दिलकुमार राई र मेजर ईन्द्रप्रसाद राईलाई निवर्तमान अध्यक्ष शिवप्रसाद राईले संस्थाको तर्फबाट खादा ओडाएर सम्मान गरेका थिए।
कार्यक्रमको प्रमख उद्धेश्य नयाँ कार्यसमितिको चयन गर्ने र संस्थाको नयाँ विधान सबैको सहमतिमा पारित गर्नुरहेको थियो। मेजर ईन्द्रप्रसाद राईले नयाँ विधान पढेर सुनाउँदै त्यसको तात्पर्य र सान्दर्भिकताको बारेमा पनि स्पष्ट पारेका थिए। विधानमा समेटिएका सबै बुंदाहरुमा विचार विमर्श गरी संशोधन पनि गरिएको थियो। स्मरण रहोस्, विधान सर्वसम्मतले पारीत गरेपनि अझै केही समयको लागि संशोधनकै क्रममा राखिएको छ।
संविधान संशोधन पश्चात मेजर ईन्द्रप्रसाद राईको संयोजकत्वमा धर्मराज राई र रामप्रसाद राई सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन प्रकृया अगाडि बढाईएको थियो। जसअन्तर्गत अध्यक्षमा पदम राई, उपाध्यक्षमा प्रेमध्वोज गुरुङ र तीर्थ राई, सचिवमा भीमप्रसाद राई, सहसचिवमा खेम क्षेत्री, कोषाध्यक्षमा धर्मराज राई,सहकोषाध्यक्षमा भीमराज राई, वेभमास्टरमा आश्रकुमार राई, उपेन्द्र राई र पुरण कुमार राई, संयोजकमा गजुरमान राई र सप्तराज राई लगायत अन्य दश सदस्य सहितको कार्यसमितिको गठन गरिएको छ।
सल्लाहकारहरुमा क्रमश: युवराज राई, किरात राई यायोक्खाको अध्यक्ष रामधन राई, सकलबहादुर राई र विशेश्वर राई चुनिएका छन्। त्यस्तै, संस्थालाई अझ प्रभावकारी बनाउनको लागि समाजसेवाको क्षेत्रमा धेरै अनुभव संगालि सकेका पूर्व रावाखोला सेरोफेरोका अध्यक्ष शिवप्रसाद राई, मेजर रिटायर्ड दिलकुमार राई, मेजर ईन्द्रप्रसाद राई, डा.प्रमोद राई र मेजर योगेश राईलाई संरक्षकको रुपमा राखिएको छ।
नवनिर्वाचित अध्यक्ष पदम राईको अनुपस्थितिमा नयाँ कार्यसमितिको तर्फबाट उपाध्यक्ष प्रेमध्वोज गुरुङले सबैले आफ्नो क्षमताले भ्याएसम्म कर्तब्यनिष्ठ भएर संस्थाको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। र छिट्टै बैठक बोलाएर भावी योजनाको बारेमा सबैलाई अवगत गराउने जानकारी गराए। अन्तमा: निवर्तमान अध्यक्ष शिवप्रसाद राईले पाँचवर्षे कार्यकालमा आफ्नो सामथ्र्य र विवेकले भ्याएसम्म संस्थाको लागि काम गरेको भन्दै निर्वाचित सबैलाई उहाँहरुको कार्यकालको लागि हार्दिक शुभकामना ब्यक्त गरेका थिए।
स्मरणीय रहोस्, रावाखोला सगरमाथा अञ्चल, खोटाङ्ग जिल्लाको उत्तरी भेगमा बग्ने एउटा प्रसिद्ध खोलाको नाम हो। जुन खोला स्वादिष्ट माछाको लागि ज्यादै लोकप्रिय मानिन्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस