एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ चैत । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले जेठ १४ अघिनै नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताएका छन्।
शान्ति र संविधानको लागि दवाव अभियान अर्न्तगत रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएका सञ्चारकर्मीहरुको टोलीसँगको कुराकानीमा उनले काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने त्यसले संविधान निर्माण कार्यलाई सहज बनाउने दावी गरे।
कोइरालाले भने-यसले दलहरुवीच विश्वासको बातावरणलाई अझै मजबुत बनाउँछ । दलहरुले हातेमालो गरेर मुलुकलाई विकास तिर अगाडि लैजानु पर्छ। राष्ट्रिय सहमतिकै सरकारले मात्र मुलुकलाई अब सही दिशा दिन सक्छ।
शान्ति प्रक्रिया पछि काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा पहिला नै तय भएको स्मरण गर्दै भने-शान्ति प्रक्रियापछि काग्रेसको नेतृत्वमा सहमति सरकार स्वभाविक हुन्छ। यसले प्रक्रियालाई अगाडि बढाउन सहज बनाउँछ। यद्यपि, उनले अब फेरि बहुमतीय सरकार बनाउने कुराप्रति भने असहमति प्रकट गरे।
आफूलाई सरकारको नेतृत्वको कुनै मोह नभएको स्पष्ट पार्दै सभापति कोइरालाले काग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ भन्ने कुराका निर्णय केन्द्रीय समितिले गर्ने बताए। उनले भने- म सभासद पनि छैन अनि कसरी मेरो नेतृत्व भन्न मिल्छ। नेतृत्व गर्न त सभासद पनि बन्नु पर्यो नि।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस