एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ चैत । डोल्पा जिल्लाको विकासका लागि तय गरिएका अधिकांश योजनाहरुमा कामै नगरी करोडौको बजेट स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार हुने गरेको भन्दै स्थानीय प्रमुख राजनीतिक दलहरुले छानविन गरी दोषिमाथि कारवाहीको माग गरेका छन्।
नेकपा एमाले डोल्पा जिल्ला कमिटीको आयोजनामा एकीकृत नेकपा माओवादी, नेपाली काग्रेससहितका प्रमुख दलका जिल्ला नेताहरुले रिपोर्टर्स क्लब नेपालमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले त्यस्तो माग गरेका हुन्।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार दुनै-ल्हासिक्याप-धो मोटरबाटो निर्माणको लागि १६ करोड, ९१ लाख, ५ हजार १ सय ४७ रुपैयाको बजेट निकासा भए पनि स्थानीय सरकारी अधिकारीसँगको मिलेमतोमा जम्मा मजदुरको नाममा ९८ लाख रुपैया वितरण गरेर बाँकी रकम कामै नगरी हिनामिना गरिएको छ।
त्यसैगरी, सुपानी-भित्ति-मोतीपुर हुँदै दुनै तथा जुफाल-दुनै मोटरबाटो निर्माण, धो-मरिम्ला मोटरबाटो, जुफाल र पाहाडा एयर पोर्ट, दुनै, माझफाल, पाहाडा, पिम्री सिजाई आयोजना कागजमा मात्रै निर्माण सम्पन्न गरेर अनियमितता गरिएको र ४८ करोड रुपैयाको डीआरआईएलपी-२ आयोजना पनि कमिसन बाडेर खाने योजना भईरहेको दावी पत्रकार सम्मेलनमा गरिएको थियो।
पत्रकार सम्मेलनमा एमाले डोल्पा जिल्ला कमिटिका अध्यक्ष अंगदकुमार बुढाले जिल्लामा भएका विकास निर्माणको क्रममा भएका भ्रष्टाचारका विषयमा अख्तियारले समेत वेवास्ता गरेको आरोप लगाउँदै भ्रष्टाचारमा ठेकेदारलाई अगाडि सारेर केन्द्रदेखि जिल्ला सम्मका सबैको मिलेमतोमा भ्रष्टाचार गरेको दावी गरे।
उनले तत्कालीन डीटीओ रवी पजियार, डीपीओ सन्तोष बुढाथोकी र स्थानीय विकास अधिकारी तिलक क्षेत्रीले एक करोडको सडक खण्ड एकलाख साठी हजारको मात्र काम गरी भ्रष्टाचार गरेको विषयमा अख्तियारमा उजुरी गर्दासमेत अख्तियार समेत आर्थिक प्रलोभनमा परी कारवाही नगरेको भन्दै उनीहरुलाई तत्काल कारवाहीकोलागी माग गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस