Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एक मधेस प्रदेशको पुर्नविचारमा नवनियुक्त सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ चैत । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयुक्त विकल्प आए आफूहरु शान्ति र संविधानको सुनिश्चितताको लागि समग्र मधेस एक प्रदेशको अडानमा पुनर्विचार गर्न सकिने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका मन्त्री यादवले मधेस शान्ति र संविधानको पक्षमा रहेको भन्दै मधेस प्रदेशको उपयुक्त विकल्प कोही विद्धानहरुले ल्याए त्यसमा आफूहरु खुल्ला हृदयका साथ छलफल गरेर पुनर्विचार गर्न तयार रहेको बताएका हुन। उनले भने- हामीलाई संघीयता सहितको जेठ १४ भित्रै चाहिन्छ । त्यसको लागि मधेस जस्तो सुकै त्याग गर्न पनि तयार छ।

साक्षात्कारमा उनले मधेससहित समग्र नेपालको हितको लागि जस्तो सुकै कदम उठाउन समेत तयार रहेको स्पष्ट पार्दै भने- अब मधेस केन्द्रीत मात्रै हुन चाहँदैन। देशलाई आर्थिक विकास र राजनीतिक स्थायित्व चाहिएको छ । त्यसकोलागी मधेस बाधक बन्दैन।

उनले राष्ट्रिय सहमतिको सरकारको लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व स्वीकारेर आउन काग्रेस र एमालेलाई आग्रह गर्दै नभए अहिलेको सरकारले नै शान्ति र संविधान निर्माणको काम पूरा गर्ने बताए।

उनले भने-राष्ट्रिय सरकार जादुको छडि होईन, विकल्प खुल्ला छ । कुरा गरेर मात्रै हुँदैन, काम पनि गर्नु पर्यो। राष्ट्रिय सहमतिको बाधक को छ र? काग्रेस र एमाले ठूलो छाती बनाएर सरकारमा आए आफूहरु मन्त्रालय छाड्न समेत तयार रहेको स्पष्ट पार्दै शान्ति र संविधानको पक्षधरलाई पुरस्कृत गर्दै यसका विरोधीहरुलाई दण्डित गर्नु पर्ने धारणा समेत मन्त्री यादवले साक्षात्कारमा राखे।

मन्त्री यादवले देश र जनतको लागि काम गर्न पद नै पाउनु पर्छ भन्ने कुनै आवश्यकता नरहेको जिकिर गर्दै मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकतासमेत औल्याए।

एक साताभित्र शान्ति प्रक्रिया पुरा भएर जेठ १४ भित्र संघीयता सहितको संविधान जारी हुने विश्वास ब्यक्त गर्दै त्यसको लागि आजैबाट मधेसी मोर्चासहित तीन दलका शीर्षनेताहरुको बैठक बस्न लागेको उनले जानकारी दिए। उनले भने- बैठकले शान्ति प्रक्रियामा रहेका केही विवाद समाधान गरेर संविधान निर्माणमा आफूलाई केन्द्रीत गर्छ।

माओवादी लडाकुको समायोजन एक सातामै पुरा हुन्छ । अहिले देखिएका दर्जा लगायतका विवाद मिल्छ । लडाकुका शिविर खाली भएर हतियार राज्यको जिम्मा आउँछ। लडाकुहरु सेनाको मातहतमा जान्छन्।

सरकारले शान्ति र संविधानको सुनिश्चितताको लागि जस्तो सुकै भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै मन्त्री यादवले अब जनताको आकांक्षा अनुसारको संविधान बन्ने विश्वास ब्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by