एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, चैत २७ – प्रधानमन्त्री बाबुराम भट्टराईले सोमवार सूचना तथा सञ्चार र कृषि तथा सहकारी मन्त्री नियुक्ति गरेका छन्।
प्रधानमन्त्रीले रिक्त रहेका सूचना तथा सञ्चार मन्त्रीमा राजकिशोर यादव र कृषि मन्त्रीमा अकवाल अहमदलाई नियुक्त गरेका हुन्।
प्रधानमन्त्री भट्टराईले आजै नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति भवन शितल निवासामा राष्ट्रपति डा रामवरण यादवसमक्ष पद तथा गोपनियताको सपथ ख्वाएका थिए।
दुई मन्त्रीले सपथ लिएपछि मन्त्रीमण्डलको सदस्य संख्या फेरि ४९ पुगेको छ। नेपालको इतिहासमा यो सर्वाधिक ठूलो जम्बो मन्त्रीपरिषद बनेको छ।
सूचना तथा सञ्चार मन्त्री भएका यादव मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष र सभासद हुन् भने कृषि मन्त्री बनेका अहमद सोही पार्टीका महासचिव तथा सभासद हुन्।
यसअघि, तत्कालीन सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारको मुद्दामा जेल परेपछि सो पद खाली रहेको थियो भने कृषि मन्त्री नन्दन कुमार दत्तलाई फोरम गणतान्त्रिकको सिफारिसमा प्रधानमन्त्री भट्टराईले पदबाट हटाएका थिए।
तस्वीरमा यादव
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस