एचकेनेपाल डट कम संवाददाता-
उदयपुर, २६ चैत्र । युवकहरूको एक समूहले कांग्रेस सभासद लक्ष्मी परियारमाथि आइतबार बिहान आक्रमण गरेको छ।
काठमाडौंबाट गाइघाट आउँदै गरेकी सभासद् परियारलाई बिहान ५ बजे उदयपुरको त्रियुगा नगरपालिका- ८ बगहास्थित सालधारी चौकमा आक्रमण गरेको प्रहरीले जनाएको छ।
परेली यातायातको ना ३ ख ५०७२ नम्बरको यात्रुवाहक बसमा संगै आएका युवकहरूले उनीमाथि आक्रमण गरेका हुन्। आफूसंग आएका कान्छा भाइ सन्दीप टेलरलाई बसबाट ओरालेर ती युवकहरूले कुटपिट गरेपछि रोक्न खोज्दा सभासद परियारसमेत पिटिएकी हुन्। कुटपिटबाट परियारको अनुहार र तिघ्रामा चोट लागेको छ।
सभासद परियारमाथि आक्रमण गर्ने समूहको पहिचान भइ सकेको प्रहरीले जनाएको छ। पक्राउको लागि उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक खग्रेन्द्र खड्काले बताएका छन्।
परियार कांग्रेसकी समानुपातिक सभासद् हुन्। उनी कांग्रेस क्षेत्र नम्वर १ उदयपुरको क्षेत्रिय सम्मेलनमा भाग लिन आएकी हुन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस