नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
सनकसिंह टण्डन नेपालका एकजना वीर सैनिक थिए । उनीमा टेशभक्ति जति थियो धर्मकर्मप्रति पनि त्यति नै श्रद्धा र विश्वास थियो । उनले नेपालको गरिमा, महिमा र स्वतन्त्र अस्तित्वको सर्म्वर्धनका लागि आफ्नो ज्यानको बाजि लगाई भोटसँगको लडाइँ र लखनउँ युद्धमा नेतृत्व गरेका थिए। वास्तवमा ती युद्धमा नेपाललाई विजय गराउन उनको पनि ठोस योगदान थियो । अनि उनको त्यही कार्य नेपालको राष्ट्रियताको इतिहासमा स्वणिर्ङ्कित छ।
टण्डनको मन, वचन र कर्म नेपालको सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनमा जोडिएको थियो । उनी देशभक्तिका एउटा सग्लो नमुना थिए । त्यसैले उनले आफ्नो सम्पूर्ण जीवन नेपालकै हितमा समर्पण गरे । उनको कामप्रति राजा र प्रधानमन्त्री खुसीले गदगद थिए । त्यसैले उनले कमाण्डिङ कर्णेलको पद पाए । जुन ओहोदा जनताका छोराका लागि सबैभन्दा ठूलो थियो । त्यतिमात्र होइन, उनको वीरतापूर्ण कार्यका लागि राजा सुरेन्द्रले उनलाई काठमाडौंको बत्तिसपुतलीमा ८१ रोपनी जग्गा पनि बक्सिस दिएका थिए। त्यही ठाउँमा आफैंले पैसा हालेर उनले २९३ रोपनी जग्गा पनि जोडे। अनि बत्तीसपुतलीको त्यही थुम्कोमा १९२८ सालमा उनैले राममन्दिरको स्थापना गरे । तर विभिन्न चरणमा त्यहाँको जग्गा अतिक्रमण भैरहृयो र अन्ततः आज ठिङ्ग मन्दिर उभिने मात्र ठाउँ रहेको देखिन्छ।
टण्डन दानवीरका नम्बरी सुन थिए । अर्घाखाँचीको बलकोटमा पनि उनले आफ्ना बुबा र भाइका स्मृतिमा स्थापना गरेका श्रीपरशुरामेश्वर र इन्द्रेश्वर मन्दिरको नाउँमा ८० वटा घरकुरियासहित झण्डै १३ हजार रोपनी जग्गाको गुठी राखेका थिए । त्यहीं नै उनले सत्तल, पाटीपौवा, धारा, पोखरी र मन्दिरहरू पनि बनाए । तर पछिपछि ती मन्दिरहरू जीर्र्णोद्वारको अभावमा त्यतिकै भत्कने क्रममा लागे । अनि त्यस ठाउँलाई गुठी संस्थानले आफ्नो अधिनमा लियो तर व्यवस्थापनको अभावमा त्यो लथालिङ्ग नै भयो।
टण्डन जति दानी थिए त्यति नै इमानदार पनि थिए । उदाहरणका लागि भन्ने हो भने बत्तिसपुतलीको राममन्दिरको डाँडो पहिले धेरै अग्लो र चुचो थियो । त्यस डाँडालाई सम्याउने क्रममा तीन घ्याम्पा सुनका असर्फीहरू भेटिएका थिए। अनि उनले त्यो बेहोरा राजा सुरेन्द्रलाई जाहेर गरे । राजाले ती असर्फी तिमी आफैं लेउ भनेपछि यिनले त्यही धनसमेत गाभेर राममन्दिर बनाएका थिए।
परशुराम खत्रीका जेठा छोरा सनकसिंह टण्डनको जन्म १८६७ साल (अनुमानित) अर्घाखाँचीमा भएको थियो । युवाकालको प्रवेशसँगै उनी लाहुरे भए र उनले खत्री थर छाडेर टण्डन लाहुरी क्षेत्री लेख्न थाले । यी १९०४ सालतिर गोरखादलको कप्तान भइसकेका थिए।
जङ्गबहादुर राणासँग टण्डनको सम्बन्ध क्रमशः बाक्लो हुन थाल्यो। अनि राणासँग टण्डनले आफ्नी बहिनी नन्दकुमारीको बिहे गरिदिए। जङ्गलमा हात्ती समाएर दिनचर्या विताउने स्थितिका गरिब जङ्गबहादुरले सनकसिंहबाट धेरै दाइजो पनि पाए। वास्तवमा त्यसपछि नै जङ्गबहादुर आर्थिक रूपमा सबल पनि भए र आफ्ना जेठानसँग कृतार्थ पनि भए । जङ्गबहादुरका छोरा पद्मजङका अनुसार ख्यातिप्राप्त व्यक्तित्वकी चेली बिहे गरेपछि जङ्गबहादुरको जीवन सफल भयो।
तत्कालीन नेपालको तराई भेकमा औलोको प्रकोप धेरै थियो । यसबारे पनि टण्डनले चिन्तन गरे । अनि उनले अब तराईमा अवादी बढाएर औलो उन्मुलन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । त्यसपछि उनले जग्गा अवाद गर्न लगाई तराईमै गएर केही काल मुकाम जमाए । त्यसैबेला उनले आफ्ना लागि धेरै जग्गा आवाद गराएका थिए । तर उनले जति धन आर्जन गर्थे त्यो धर्मकर्म र समाजसेवामा चढाउने गर्थे । त्यसैले त्यसबेला उनले बनाएका विभिन्न मन्दिरहरू र राममन्दिर पनि स्रोत र साधनबाट पनि झकिझकाउ थियो।
टण्डनले सुरुमै राममन्दिरमा राम, सीता, लक्ष्मण, भरत, शत्रुघनको कालो ढुङ्गामा निर्मित मूर्ति स्थापित गराए । त्यति मात्र होइन उनले मन्दिर प्राङ्गणमा नै चारवटा धर्मशाला, बानेश्वरको चौबाटोमा धर्मशाला र धारा बनाए । उनैले बत्तीसपुतलीमा इनार र पाटी बनाए। तर ती सबै घरहरू प्रजातन्त्रको आगमनसँगै अर्थात् २००७ सालपछि क्रमशः प्रजाहरूले ओगट्न थले र टण्डनका दानगृहहरू जनगृहहरूमा रूपान्तरित भए।
टण्डन पाका विचारले भरिएका दूरदर्शी थिए । उनी सिद्धान्त र व्यबहारका लखपति पनि थिए । उनका बारे धेरैले धेरै कुरा लेखे । अनि उनका वङ्शज डा.गोविन्द टण्डनले पनि लेखे- ‘कमाण्डिङ कर्णेल सनकसिंह टण्डनमा भएको रणकुशलता, चातुर्य, इमान्दारी र राष्ट्रप्रतिको वफादारीको कारणले नै हो उनलाई संवेदनशील र महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्ने जिम्वेवारी विभिन्न समयमा दिएको घटनाहरू भेटिन्छन्।’
राजा राजेन्द्रबाट १९०४ सालमा अलौको बिसौलीयामा केन्द्रको शासनका विरोध हुन थाल्दा त्यसको दमन गर्ने जिम्मा टण्डनले नै पाए। राज्यलाई जवजव अप्ठयारो पथ्र्यो तबतब उनी नै गुहारिन्थे । साथै उनलाई जुन काम सुम्पिए पनि उनी त्यसको जय गराएरै छाड्थे । उनी जङ्गी र निजामति दुबैतिर बराबरी पोख्त थिए । उनैले १९२४ सालमा गुरुङ जातिको जातको थितिमा उठेको ठूलो कचिङ्गल समेत सामसुम पारेका थिए।
टण्डन सामाजिक भावना भएका उदार दिलका प्रतिमूर्ति थिए । राजनीतिमा पनि उनको बलियो सोच र फराकिलो विवेक देखिन्थ्यो। त्यसैले प्रधानमन्त्री भएपछि जङ्गबहादुर राणाले उनलाई सल्लाहकारमा राखे। वास्तवमा उनी जेठान भएका नाताले मात्र होइन उनको विशाल हृदय भएका कारण उनी जङगबहादुरका पतेरा थिए। राज्यका उच्च ओहोदाका पदाधिकारीहरू प्रायः सबैले उनैको पनि सल्लाह लिन्थे । अनि विशेष गरेर उनी जङ्गबहादुरको राजनैतिक सल्लाहकारका रूपमा चाहिं प्रख्यात थिए।
टण्डनको महानताको समकालीन शासक र जनताले जयगान गाइरहे । धेरैका हृदयमा बसेका टण्डन १९५२ तिर कासीमा स्वर्गीय भए। नेपालको इतिहासले टण्डनको मूल्याङ्कन गरिरहृयो । उनको योगदानको छापलाई ज्यूँदो राख्न र उनले भोट र लखनौँ युद्धमा देखाएको वीरताको केही झलक दिने खालका उनले प्रयोग गरेका विविध सामाग्री, हातहतियार र पोशाकहरू राष्ट्रिय सङ्ग्राहलयमा प्रदर्शित थिए। तर दुर्भाग्य, पचासको दशकमा आएर सरकारले ती सबै सामाग्री त्यहाँबाट हटाई दियो।
naiprasai@gmail.com