Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

३ सय ६४ यूनिट रगत संकलन

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २५ चैत्र । रक्तदानको बारेमा सचेतना जगाउदै नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियो अन्नपूर्ण ९३.४, पोखराले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ सय ६४ यूनिट रगत संकलन भएको छ।

रक्तदान गर्दै आफ्नो १८ औं जन्मदिन मनाउन सहभागी पोखरा गैह्रापाटनकी रितु श्रेष्ठले जन्मदिनको अवसरमा पूण्य काम गर्न पाएको भन्दै खुशी व्यक्त गरिन्।

राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ्गले पहिलोपटक रक्तदान गरेका थिए। हरेक वर्ष पर्यटकसहित कार्यक्रममा सहभागिता जनाउँदै आएका पर्यटन व्यवसायी गोविन्दराज पहारीले यस पटक २ पर्यटकलाई समेत रक्तदान कार्यक्रममा सहभागिता गराए। यस्तै, राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ, गायक विनित जोजिजू, लोक गायक आयुष परियार, तीन विदेशी पर्यटक लगायतले रक्तदान गरेका थिए।

तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

रेडियोले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत रक्तदानमा, रक्तदान गर्न ४ सय ७२ जना जनाले नाम दर्ता गराएपनि स्वास्थ्यका कारण रक्तदान गर्न नपाएपछि निराश हुदै फर्केका थिए। ३ सय ५ पुरुष तथा ५९ महिलाको सहभागिता रहेको कार्यक्रममा ९५ जनाले पहिलो पटक रक्तदान गरेका थिए।

रक्तदान ! “यसपाली चाहीं म छुटाउँदिन” भन्ने मुल नाराका साथ रेडियोले आयोजना गरेको रक्तदान कार्यक्रमको शसस्त्र प्रहरी बल, कालिका गण मालेपाटनका गणपति प्रहरी उपरीक्षक शम्भु उप्रेतीले पहिलो रक्तदाता गोकर्ण कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए।

रक्तदान कार्यक्रमबाट धेरै रक्त संकलन गर्नु भन्दा पनि नयाँ पिँढीलाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्न रेडियोले बर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले बताए।

रक्तदानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरीको पोखरामा रहेको विभिन्न युनिट, खेलकुद, कला साहित्य, आमा समूह, टोल विकास संस्था, क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थाको संस्थागत सहभागिता रहेको कार्यक्रमका संयोजक कविता श्रेष्ठले जानकारी दिइन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by