सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम-
पोखरा, पोखराको फुटवल विकासमा क्रियाशील सहारा क्लबले फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले शुक्रवारदेखि १० देखि १२ बर्ष उमेर समूहका बालकहरुलाई दुई हप्ते निःशुल्क फुटवल प्रशिक्षण सुरु गरेको छ।
कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सुमन देवकोटाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो। बौद्ध तथा सहारा फुटबल क्लबका प्रशिक्षक किरण श्रेष्ठ (राष्ट्रिय खेलकूद परिषद्बाट एनआईएस प्रशिक्षक) ले प्रशिक्षण गराउनुहुने तालिममा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत करीब १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको छ।
तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम
फुटबलको आधारभूत तालिमबाट बालकहरुमा फुटबलप्रतिको क्रेज वृद्धि हुनाका साथै खेलसम्बन्धी आधारभूत ज्ञान समेत प्राप्त हुने क्लबको विश्वास छ।
अन्तिम परीक्षा समेत सम्पन्न भएकाले फुर्सदको समयलाई सदुपयोग गराउन पनि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।
“आत्मा साछी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने मूल मन्त्रका साथ स्थापित सहारा क्लब पोखराले युवा मोहलाई कुलत एवं विसंगतीबाट टाढा राखि खेलकुदको माध्यमबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने विश्वासका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।