सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २३ चैत्र । झापाका पत्रकार यादव पौडेलको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले विरोध जुलुस प्रदर्शन गरेको छ।
विहीवार विहान ९ बजेदेखि धरान १२ स्थित शाखा कार्यालयबाट निकालिएको विरोध जुलुस छाताचौक, महेन्द्रपथ हुँदै भानुचोकमा आइ कोणसभामा परिणत भएको थियो।
पौडेलको निर्मम हत्या गर्ने हत्याराहरुलाई राज्यले कुनै पनि पक्षमा छोड्नु हुन्न भन्दै नेपाली काग्रेसका नगर सभापति किशोर राईले विरोधप्रति कांग्रेसको पनि ऐक्यवद्धता रहेको बताउनुभयो। सक्रमणकालिनको फाइदा उठाउदै पत्रकारमाथि हुने गरेका यस्ता घटनाहरुलाई राज्यले निरुत्साहित पार्नुपर्ने उहाँले बताउनुभयो।
कोणसभामा अर्का बक्ता एमाले जिल्ला उपसचिव मोतीराज सुनुवारले हत्यारालाई कडा कारबाही गरी प्रेश स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो। एमालेले प्रेस स्वतन्त्रताको ग्यारेन्टी चाहेको उद्घोष गर्दै सरकारले कानुनी राज्य बनाउन प्रयत्न गरोस् भन्ने मागसमेत गर्नुभयो।
त्यस्तै, एमाओवादीका जिल्ला इन्चार्ज मुक्साहाग मेन्याग्वोले प्रतिगामी शक्तिहरुको पहिलो निशानाका रुपमा संचारक्षेत्र हुदै आएको र यादव पौडेलमाथिको घटनामा पनि त्यसैको नमूना भएकाले राज्यले प्रेस जगतको रक्षा गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, अर्का वक्ता जिल्ला सहकारी संघका उपाध्यक्ष विपिन सुब्बाले हत्यारालाई पहिचान गरी कारबाही गर्दै संक्रमणकालको फाइदा लिने त्यस्ता गिरोहलाई सरकारको पक्षबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो। राष्टि्य जेसिज वर्ष २०१२ का उपाध्यक्ष विष्णु बरालले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गरिनु पर्ने विरोधमा जेसिजको पनि ऐक्यवद्धता रहेको प्रष्ट पार्नुभयो। कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दवूका केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठले लोकतान्कि अग्रमनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुमाथि बारम्बार आक्रमणको घटना भइरहेकोले सरकारले पत्रकारको सुरक्षामा चासो नदिएको आरोप समेत लगाउनुभयो। उहाँले राजनीतिक रंग दिएर फेरि पनि पत्रकार यादवको हत्यारालाई छुट दिएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो।
त्यस्तै, प्रेस चौतारीका सुनसरी सचिव देवेन्द्र कार्कीले पत्रकार पौडेलको हत्यारालाई चाँडो पक्राउ गरी कानुनी राज्यको स्थापना गर्नुपर्ने राज्यलाई चुनौतीसमेत दिनुभयो । कोणसभामा प्रेस युनियनका सुनसरी अध्यक्ष बासु बरालले पत्रकारहरुमाथि हुने घटनाहरुमा पत्रकारहरुले सडकमा मात्रै उभिएको तर, माग हालसम्म पनि सरकारले सुनुवाई नगरेको बताउनुभयो। सरकारले पत्रकारहरुमाथि हत्या आतंक हुदैन भन्ने प्रत्याभूति नदिएसम्म पत्रकारहरु कहिल्यै सुरक्षित नहुने दाबी गर्दै पीडितको परिवारलाई उचित क्षतिपूर्ति र हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्नुभयो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस