एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ चैत्र । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी गर्नु भएको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले दलहरु भारतले तयार पारिसकेको संविधान जारी गर्ने बातावरण निर्माण गर्न लागिपरेको दावी गर्नुभयो।
भारतले २०४७ सालको संविधानबाट संवैधानिक राजतन्त्रको ब्यवस्था हटाई गणतन्त्र लेखेर नयाँ संविधान बनाईएको उहाँको भनाई छ। जनताको संविधान नआए आफूहरु आन्दोलनमा जाने भन्दै उहाँले भन्नुभयो-’त्यसैकारण हामीले आन्दोलनको सुरुवात गरेका हौं । हामी जनताको संविधान बन्नु पर्छ भन्ने पक्षमा छौं । जनताको संविधान आएन भने हामी जस्तोसुकै अभियान सञ्चालन गर्न तयार छौं ।’
संघीयताको बकालत मधेसले मात्रै गर्दा मुलुकको राष्ट्रिय एकतामा आघात पर्ने भन्दै उहाँले संघीयताको विनाको संविधानको परिकल्पना गर्न नसकिने बताउनु भयो।
प्रमुख दलवीच भएको सातबुँदे सहमति र बुधवार भएको सेना समायोजन सम्बन्धी सहमतिप्रति आफूहरुको असहमति रहेको भन्दै गजुरेलले यो आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्नुभयो।
कांग्रेस नेता सदस्य डा. मिनेन्द्र रिजालले संघियता विनाको संविधानको पक्षमा काग्रेस पनि नरहेको बताउनु भयो । मधेसको बारेमा बोल्ने हैसियत मधेसवादी दलमा मात्र सिमित नभएको भन्दै उहाँले भन्नुभयो-’मधेसमा मधेसी दलले भन्दा माओवादी, काग्रेस र एमालेले बढी मत ल्याएका छन् । मधेस कसैको विर्ता होईन । मधेसी दलहरुले भन्दैमा कांग्रेस त्यसको पछि लाग्दैन ।’ मधेसी दलहरु संघीयताका नाममा जेठ १४ सम्म बाबुराम भट्टराईलाई टिकाउने खेलमा लागेको आरोप उहाँको आरोप छ।
एमाले नेता प्रदिप ज्ञवालीले चैत ३० गते सम्म शान्ति प्रक्रिया टुङगिएमात्रै संविधान जारी हुने भन्दै शान्ति विनाको संविधान जारी हुनै नसक्ने बताउनु भयो । कार्यक्रममा सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले काग्रेस र एमालेले संविधान निर्माणलाई बन्धक बनाएको भन्दै संघीयता विनाको संविधान जारी गर्ने प्रयास गरे मधेसले त्यसलाई जलाउने चेतावनी दिनुभयो।
तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले संघियता विनाको संविधान र संविधान विनाको निर्वाचनको षड्यन्त्र गरे मधेसका २२ जिल्ला बाहेकको नेपालमा मात्र गर्न चुनौति दिनुभयो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस