एचकेनेपाल डट कम संवाददाता-
काँकडभिट्टा, २२ चैत्र । अज्ञात समूहले गएराति झापाबाट पत्रकारिता गर्दै आएका पत्रकार यादव पौडेलको निर्ममतापूर्वक हत्या गरेको छ।
झापाबाट प्रकाशित हुने मेची टाइम्सका कार्यकारी सम्पादक, एभिन्यूज टेलिभिजन तथा राजधानी दैनिकका झापा सम्वाददाता ३८ वर्षीय पौडेलको शव विर्तामोडको बस पार्कस्थित सेकुवा कर्नर नामको होटल बाहिर राति १ बजे भेटिएको प्रहरीले जनाएको छ।
उनको घाँटी रेटेर हत्या भएको हो। उनको घाँटीको अगाडि भागबाट काटिएको छ भने दाहिने हातसमेत भाँचिएको छ। त्यसबाहेक उनको शरीरको विभिन्न भागहरूमा धारिलो हातियार प्रहार भएको देखिएको छ।
उनले लगाएका कपडा च्यातिएका अवस्थामा छन् भने एउटा जुत्ता भेट्टिएको छैन। उनको मोटरसाइकल घटनास्थलमै भेट्टिएको छ भने त्यहाँ रहेका दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ सिजुवा घर भएका पौडेल ६/७ वर्षदेखि झापामा बसी पत्रकारिता गर्दै आएका थिए। उनका एक श्रीमती र एक छोरा छन्।
होटल संघका पूर्व अध्यक्ष युवराज गिरीसहित १२ जना पक्राउ
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले होटल संघका पूर्व अध्यक्ष युवराज गिरी र सेकुवा कर्नर एण्ड लजका संचालक सोम ढकालसहित १२ जनालाई पक्राउ परेको छ। स्थानीयबासीले राति करीव १२ बजे होटलमा पत्रकार लुकेर बसेको छ, मार्नु पर्छ भन्ने सुनेको बताए।
घटनाको विरोध गर्दै न्यायिक छानविनको माग
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल पत्रकार महासंघ राजधानी शाखा, रिपोर्टस क्लव नेपाललगायतले घटनाको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको न्यायिक छानबिन गर्न सरकारसंग माग गरेको छ।
प्रधानमन्त्रीद्वारा गम्भीर चासोः
त्यसैगरी, प्रधानमन्त्री बाबुराम भट्टराईले झापामा पत्रकार यादव पौडेलको हत्या भएको घट्नप्रति गम्भीर चासो व्यक्त गरेका छन्। प्रधानमन्त्रीले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलिफोन गरी दोषीलाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
पत्रकार महासंघको टोली झापा जाँदै
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंलेसहित एक टोली झापा जाने भएको छ। महासंघको आकस्मिक बैठकले घटनाको छानविन गर्न ७ सदस्यीय छानविन टोली गठन गरेको छ। अध्यक्ष शिव गाउँलेको नेतृत्व गठित टोलीमा सल्लाहकार पोषण केसी, पूर्वाञ्चल संयोजक मोहनकाजी, झापाका शाखा अध्यक्ष लगायत स्थानीय पत्रकारहरु छन्। बैठकले सम्पूर्ण जिल्ला शाखाहरूमा अपराह्न ४ बजे शोक सभा र बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
पत्रकार यादव पौडेलको हत्या किन भयो त? उनी कार्यरत सञ्चारसंस्था एभिन्युज टेलिभिजिनले तयार पारिएको विशेष रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।