एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ चैत । सेना समायोजन विशेष समितिका सदस्य एवम एमाले नेता भीम रावलले चैत ३० गतेसम्म सेना समायोजनको काम सुरु नगरे प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बैधानिक तरिकाले नै हटाउने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा रावलले बुधवारसम्म सहमति बन्न नसके चैत्र ३० गतेभित्रमा सेना समायोजनको प्रक्रिया सुरु हुनै नसक्ने ठोकुवा गर्दै शान्ति प्रक्रिया अडकाउने प्रधानमन्त्रीलाई पदमा टिकी रहने हैसियत नभएको बताए।
साक्षात्कारमा उनले शान्ति प्रक्रिया सकिए पछि नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्ने देखेर प्रधानमन्त्री आफ्नो आयू बढाउन शान्ति प्रक्रियामा अनावश्यक झमेला खडा गरेको दावी गरे। उनले भने- प्रधानमन्त्री पद जान्छ भनेर शान्ति प्रक्रिया प्रति नकारात्मक देखिनु भएको छ । उहाँ प्रक्रिया लम्ब्याएर पद लम्ब्याउने योजनमा हुनु हुन्छ । विगतमा पनि उहाँले ४५ दिनभित्र सकिन भने मेरो औचित्य सकिन्छ भन्नु भएको थियो तर उहाँ पदमै हुनुहुन्छ । शान्ति प्रक्रिया कार्तिक मसान्त, मंसिर मसान्त, पुस, माघको समयसीमा ल्याउँदै उहाँले केही नगरेर अहिलेसम्म पद लम्ब्याउनु हुन्छ अहिले पनि उहाँ त्यसै योजनामा लाग्नु भएको छ।
शान्ति प्रक्रियामा नेपाली काग्रेस र एमालेको धारण एउटै रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सात बुँदे सहमति विपरित शैक्षिक अवस्था र अनिमिनले गरेको प्रमाणिकरणलाई नमानेपछि विशेष समितिमा सहमति बन्न नसकेको उनले स्पष्ट पारे । उनलेभने-सात बुँदे सहमति विपरित प्रधानमन्त्रीले गर्न खोजेको कामको विरोध गरेकोले आक्रोसमा प्रधानमन्त्रीले एमालेलाई शान्ति विरोधी भनेका हुन । प्रधानमन्त्री जनतामा भ्रम बाँडेर सत्तामा टिक्ने दाउमा हुनु हुन्छ।
उनले प्रधानमन्त्रीले कुरा अड्काएर एमालेलाई आरोप लगाएको दावी गर्दै भने-आफै कुरा अड्काएर अरुलाई आरोप लगाउँन प्रधानमन्त्री जस्तो ब्यक्तिलाई सुहाउँदैन।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस