नरेन्द्रराज प्रसाई /एचकेनेपाल डट कम-
बाँचुन्जेल शान्ति मास्केका मनमा सधैं आँधिहुरीले मात्रै डेरा जमाएको थियो। उनको जीवनमा खुसीको दिन पनि बिरलै भेटिन्थ्यो । उनी अरूका अघि हाँसीहाँसी दिन फ्याक्ने गर्थिन्। उनी भन्थिन्, ‘म एक्लै जन्मेँ; तर बाँचुन्जेल म एक्लै रहेँ। मेरा लागि जोजो नजिक आए तापनि त्यो सबै नाटक थियो।’ वास्तवमा नाटकबाट नै जनस्तरमा प्रस्तुत भएकी शान्ति नाटकमा नै निदाइन् । अनि २०६७ साल माघ ४ गते उनले चिम्लेका आँखा कहिले उघ्रेनन्।
खड्गबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठकी छोरी शान्ति मास्के १९८३ साल माघ ५ गते गोरखामा जन्मेकी थिइन् । शान्तिका बाबुले कान्छी स्वास्नी ल्याएपछि यी आमाछोरीको घरबास उठेको थियो । त्यसैले उनी सानैमा आफ्नी आमाकै औला समाएर चन्द्रशमशेरकी कान्छी श्रीमती बालकुमारीलाई पछयाउँदै बनारस पुगिन् । त्यहाँ नै शान्तिको साँस्कृतिक जीवन सुरु भयो । नाच्न र गाउनमा त्यहीँ उनले आफ्नो हैसियत कायम गरेकी थिइन्।
शान्ति वनारसमा नै बिमारी परिन् र उनलाई काठमाडौं ल्याइयो । केही आराम भएपछि उनलाई केशरशमशेरकी पत्नी राज्यलक्ष्मीले आफ्नो दरबारमा नाच्ने र गाउने काम दिइन् । तर राणा दरबारको तडकभडक खेप्न उनलाई गाह्रो हुन थाल्यो । त्यहाँबाट फुस्केर आमाछोरी नै कोलकाता लागे । त्यहाँ शान्ति योङ गोर्खा एशोसियनमा पुगिन् । त्यहीँबाट उनी नाटकमा खेल्न थालिन् । अनि ती नाटकमा यी नायिकामा आवद्ध थिइन्।
शान्तिको स्कुले शिक्षा थिएन । तर परेर नै उनी जान्ने भइसकेकी थिइन् । उनी सानैदेखि क्रान्तिकारी स्वभावकी थिइन् । उनले वीरगञ्ज कब्जा गर्ने विषयको सबै योजनाका खाका पेटिकोटमा घुसारेर कोलकता पुर्याइन् र सुवर्णसमशेरलाई बुझाइँन् । कोलकातामा बसेकै बेला सुवर्णसमशेर र महावीरशमशेरसँग यिनको गाडा सम्पर्क भयो । अनि त्यहीँ बसेताका यिनलाई पनि गोली हान्ने तालीम प्राप्त भएको थियो। त्यही कालखण्डमा उनको विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालासँग पनि बसउठ हुन थाल्यो। उनीहरूकै निर्देशनबाट उनी गोली गठ्ठा बोकेर राणा शासन विरुद्धमा वीरगन्ज पसेकी थिइन्।
शान्ति लडाकु भएर वीरगञ्जमा राणासेनासँग हनाहानमा थिइन् । त्यतिबेलै राणासेनासँगको लडाइँमा थीरबम मल्ल गोली लागेर ठहरै भए । त्यस दृश्यले शान्तिका हातबाट बन्दुक झरेनन् बरु उनी निक्कैबेरसम्म सेनासँग लडाइँ गरिरहिन् । त्यसैबेलाको उनको दक्षताको सबैले प्रसंशा गरे।
शान्ति गीतगायनकी पनि सौखिन थिइँन् र उनको स्वर पनि राम्रो थियो । विराटनगरमा खोलिएको प्रजातन्त्र रेडियोबाट उनले आफूलाई औपचारिक गायिकाका रूपमा परिचित गराइन्।
नेपालमा प्रजातन्त्र आएपछि शान्तिलाई नेताहरूले हाम्रो भन्थे । तर उनी कसैप्रति पनि विश्वास गर्दिन थिइन्। किनभने उनका लागि कुनै नेताले एउटा सिन्को पनि भाँची दिएनन्। कतिसम्म भने उनको मुटुको गतिलाई चलाउने पेशमेकर राख्नसमेत राज्यको ढुकुटीको साँचो खुलेको थिएन। यसबारेको पनि एउटा सानो घटना छ- शान्ति ‘सन्तान’ नामक चलचित्र छायाङ्कनका बेला चितवन गएकी थिइन् । त्यस बेलाको प्रसङ्ग उनले पछिसम्म पनि भनिरहिन्, ‘त्यस चलचित्रमा पुलबाट तल मलाई हामफाल्न लगाए । मैले हामफालेँ । त्यसपछि म मुर्छा परेछु । अनि मेरो मुटुले पनि त्यसै बेला पेशमेकर खोजेको रहेछ।’
२०४६ सालपछि पनि शान्ति नेताहरूको झनै काउछो बनेका थिइँन्। तर उनको स्वर्गारोहणमा नेताहरूले जनमाझ बचन फालेका थिए, ‘शान्ति मास्केको निधन भनेको नेपाली कलाको अपूरणीय क्षति हो । राज्यले उहाँको योगदानको कदर गर्ने छ।’ बोल्दैमा कसको के जान्छ र ? त्यसैले धेरै नेताले उनका बारे तँछाड र मछाड गरेर घाँटी सुकाएका थिए।
राजनीतिमा शान्तिले जति गरिन् धेरै गरिन् । तर उनी नेपाली चलचित्र जगतकी एउटा थप मेरुदण्ड पनि थिइन् । उनले खेलेका चलचित्र दर्शकले मौलिक मान्थे । चार दर्जनभन्दा बढी चलचित्रमा भूमिका निभाएकी उनले हिजोआजभोलिदेखि चलचित्रमा अभिनय गर्न थालेकी थिइन् । साथै उनले केही हिन्दी चलचित्रमा पनि भूमिका निभाएकी थिइन्।
शान्ति सशक्त कलाकार थिइन्। उनी मौलिक धारामा प्रस्तुत हुन सिपालु थिइन् । उनी रुँदा उनका आँखामा भिक्स दल्नुपर्दैनथ्यो। एकपटक नाटकमा रुँदारुँदै साँच्चैको धेरै बेरसम्म रोएर उनले दर्शक पनि रुवाएकी थिइन्। अनि नामीनामी सबै नेपाली चलचित्रहरूमा उनको अभिनयले साथ पाएको हुन्थ्यो।
शान्ति राजनीति र कलामा मात्रै बसिनन्। जीवन बाँच्नका लागि उनी झण्डै दुइ दशक जति नेपाल महिला सङ्गठनको जागीरे पनि भइन्। त्यस बेला महिलाको सीप विकासमा उनको विशेष सक्रियता थियो । तर २०४६ सालको आन्दोलनबाट प्राप्त प्रजातन्त्रले उनको जागीरको कुर्सीको खुट्टा पनि भाँचिदियो।
नेपाली चलचित्रमा उत्कृष्ठ अभिनय गरेबापत शान्तिले चार नम्बरको गोरखा दक्षिणबाहुलगायत विजया राणाले स्थापना गरेको हरितारा पुरस्कार पनि पाइन्। साथै उनले भूपाल पुरस्कार, उर्वशी पुरस्कार, चेतनारायण वसुन्धरा पुरस्कार, लाइफटाइम इचिब्मेन्ट, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री र अमेरिकाको न्यूयोर्क कला इचिब्मेन्ट आदि पनि प्राप्त गरिन्। तर जति नै सम्मान पाए पनि उनले आफ्नो आँतमा कहिले घाम लागेको देखिनन् । त्यसैबारे उनी प्रायः भन्थिन्, ‘यस संसारमा यो एउटा टाउको छिराउने मेरो घर पनि छैन।’ उनी घरिघरि सहयोगीहरूलाई फोन गरेर धुरुधुरु रुन्थिन र बिलौना गर्थिन् ‘मेरा लागि जीवन बाँच्नु व्यर्थ छ।’
२०११ सालमा शान्ति धरानका वीरबहादुर मास्केकी तेस्री पत्नीका रूपमा प्रवेश भएकी थिइन्। त्यसबेला यी दम्पतीको सम्झोता शान्तिकी आमालाई पनि ससम्मान आफैसँग राख्ने थियो। अनि २३ वर्षसम्म यी दम्पतीले विष्णुमाया श्रेष्ठको यथोचित सेवा गरे। तर वीरबहादुर मास्केको निधन भएपछि यिनीहरुलाई शान्तिकी सौताले लखेटिन्। त्यसपछि शान्ति आफ्नी बूढी आमालाई डोर्याउँदै काठमाडौंको एउटा डेरामा थन्किन पुगिन्।
शान्ति जीवनको अन्तिम घडी काठमाडौंको भैंसीपाटीस्थित लतिकाका घरमा थिइन्। लतिकालाई सुरुमा उनले छोरी बनाएर राखेकी थिइँन्। तर तिनै लतिकाले यिनलाई मन, वचन र कर्मले जीवन पर्यान्त सेवा गरिन्। साथै यिनको जीवनमा वसुन्धारा भुसाल, नीर शाह र मोहन निरौलाले पनि आआफ्नो गच्छे अर्पण गरेका थिए।
शान्ति समाजसेवामा पनि लागि परेकी थिइन्। त्यही भावनाले प्रेरित भएर उनले आफ्ना आँखा पनि मरोणोपरान्त दान गरेकी थिइन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस