एचकेनेपाल डट कम संवाददाता-
विराटनगर, २१ चैत। मंगलवार विहान खेलिने भनिएको खेलमा हङकङ नेप्लीज टिम मैदानमा नउत्रेपछि आयोजक समितिले मनाङ मर्स्याङ्दीलाई विजय घोषित गरेको छ।
विराटनगरमा जारी रमपम विराट गोल्डकप फुटबल प्रतियोगितामा सोमवार साँझ हङकङ नेप्लीज टिम र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा भएको थियो।
सहिद मैदानमा भएको खेलमा दुबैतर्फबाट २-२ गोल भएर पेनाल्टी सुटआउटको बेला लाइट नपुगेको भन्दै मनाङका खेलाडीहरूले खेल्न इन्कार गरेपछि सो खेलको निरन्तरता मंगलवार विहान ८ बजे खेलाइने आयोजकले निर्णय गरिएको थियो। तर, हङकङ नेप्लीज टिम भने सोही खेलको निरन्तरताको पक्षमा थिए। आयोजकको निर्णयप्रति बेमति जनाउंदै हङकङ नेप्लीज टिमले खेल बहिष्कारको चेतावनी दिएको थियो।
विहान हुने भनिएको खेलमा हङकङ नेप्लीज टिम मैदानमा नपुगेपछि खेल आयोजकले मनाङ मर्स्याङ्दीलाई विजय घोषित गरेको हो।
सोमवार साँझ भएको प्रतिस्पर्धामा हङकङ नेप्लीज टिमका विशाल राईले २१ र नरेन लिम्बूले २६औं मिनेटमा गोल गरेका थिए। त्यसैगरी, मनाङ मर्स्याङ्दीका अनिल गुरूङले १२ र एम्बिल स्टेफनले ३४औं मिनेटमा गोल गरेका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस