रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम-
हङकङ, २ अप्रिल । किरात धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा), साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पूजा) आइतबार हङकङको मङकी हिल डाँडामा सम्पन्न भएको छ।
किरात धर्म तथा सहित्य उत्थान संघ हङकङद्वारा आयोजना गरिएको सेवामा सेवासावा (किरात धर्मका पुजारी) हरुद्वारा उक्त सेवा गरिएको हो। धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा, साकमुरा वादेम्मा सेवा तथा ङा (लाधुङसेमी सेवा छुट्टा–छुट्टै गरिएको थियो। साकमुरा वादेम्मा तथा ङा–लाधुङसेमी सेवा त्यहाँको मुख्य सेवा रहेको थियो।
तस्वीरः जगतअम्बु गुरूङ र रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम
सेवामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङले सेवाको वारेमा बताउदै आदि अनादीकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको बताउछन।
किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङद्वारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले बताए। विचलन हुदै आएको किरात धर्मलाई महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ उहाँले किरात धर्मलाई पुनरउत्थान गरेको नेम्बाङले बताए। उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाई स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डोर्याएको बताएका छन।
पूजामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै संघका सचिव इन्द्र लक्समले त्यहाँ भइरहेको अवस्था तथा किरात धर्मको वारेमा ब्याख्या गरेका थिए। उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद मागने पूजा हो भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजनहरुलाई प्रष्ट्याएका थिए। विश्व शान्ति, मानव एकता र चराचर सृष्टि, मानवको सुख, शान्ति र समृद्घिको लागि किरात धर्मले सधैं सेवा गर्ने लक्समले बताए।
किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लाजेसा लिम्बूले साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पूजा) को वारेमा प्रष्ट्याएका थिए। किरातीहरुमा वर्ष भरिमा आफूलाई गाली सराप लागेको हुन सक्ने भएकोले त्यसलाई किरात मुन्धुम अनुसार वर्षमा एक पल्ट गाली सराप बगाउनु पर्ने बताए।
किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु उत्र बहादुर राई, कसिव राई, सान्ती आङवोहाङ, हेम येङदेन रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए।
हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ। किरातीहरुमा वर्षमा एक पल्ट गाउँघरतिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ। धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए। किरात धर्म अनुसार पूजामा सवैले फूल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए।
बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फूल तथा फल–फूल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखिएका थिए।
CLICK HERE TO VIEW MORE PHOTOS
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस