Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकार ढकाललाई वरिष्ठ पत्रकारिता पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ चैत । रिपोर्टर्स क्लव नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोईराला स्मृति वरिष्ठ पत्रकारिता पुरस्कार’ द रिपव्लिका अंग्रेजी राष्ट्रिय दैनिकका प्रधानसम्पादक अमित ढकाललाई प्रदान गर्ने भएको छ।

रिपोर्टर्स क्लवको पुरस्कार छनौट कमिटीको विहीबार बसेको बैठकले दुइ दशकदेखि पत्रकारितामा सक्रिय रही निष्पक्ष पत्रकारिता, प्रेस स्वतन्त्रता र व्यवसायीक संचारको पक्षमा समर्पित पत्रकार अमित ढकाललाई लोकतन्त्रका महानायक गिरिजाप्रसाद कोईरालाको स्मृतिमा स्थापित गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। क्षमतावान र सफल पत्रकार ढकाललाई १ लाख १ रुपैयाँसहित ताम्रपत्र प्रदान गरिनेछ। गत वर्ष यो पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको थियो।

क्लवले स्वतन्त्रता सेनानी एवं रेडियो नेपालका संस्थापक तारीणीप्रसाद कोईरालाको स्मृतिमा स्थापीत तारीणीप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका समाचार ब्युरो प्रमुख किरण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ। डेढ दशकदेखि पत्रकारितामा सक्रिय रही प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिताको पक्षमा समर्पित किरण पोखरेललाई ३० हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिनेछ। यसअघि यो पुरस्कार वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरिएको थियो।

त्यसैगरी, क्लवले कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संर्घष र जोखिमको बिचबाट लामो समय पत्रकारितामा शक्रिय रहँदै प्रेस स्वतन्त्रता, लोकतन्त्र र जनपक्षीय संचारको पक्षमा समर्पित एबीसी टेलिभिजनका शुभशंकर कँडेललाई प्रदान गर्ने भएको छ। कँडेललाई २० हजार रुपैयासहित ताम्रपत्र प्रदान गरिनेछ।

त्यसैगरी, क्लवले २० हजार रुपैयाँ राशिको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सालिग्राम तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ। फोटो पत्रकारितामार्फत निष्पक्ष सूचना प्रवाहमा निर्वाह गरेको भूमिकाको कदर गर्दै सालिग्रामलाई यो पुरस्कार प्रदान गरिएको हो।

२० हजार रुपैयाँ राशीको उमा सिंह स्मृती पत्रकारिता घटना र विचार साप्ताहीककी सम्पादक बबिता बस्नेतलाई प्रदान गर्ने निर्णय गरीएको छ। अढाई दशकदेखि व्यवसायिक पत्रकारितामा सक्रिय रही प्रेस स्वतन्त्रता, लोकतन्त्र, शान्ति र महिला शसक्तीकरणका पक्षमा समर्पित पत्रकार बबितालाई उहाँको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो।

रिपोर्टर्स क्लव नेपालले यी सबै पुरस्कार शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने क्लवको चौधौं वाषिर्कोत्सव, रिपोर्टटर्स डे तथा ‘शान्ति र संविधानका लागि राष्ट्रिय सहमति’ विषय बृहत संगोष्ठीका अवसरमा प्रदान गर्नेछ। कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by