एचकेनेपाल डट कम संवाददाता –
पोखरा, २४ जेष्ठ। नेपाल ब्यायाम मन्दिरका रामबहादुर दाहाल बुल्स मेन भएका छन्। उनले आफ्ना ५ प्रतिद्वन्दीलाई पछि पार्दै “प्रथम मिस्टर बुल्स मेन राष्ट्रिय खुला शारिरीक सुगठन प्रतियोगिता”को उपाधि जितेका हुन्। उनले उपाधिका साथ नगद १ लाखका साथै आफ्नो तौल समूहमा प्रथम भए बापतको नगद १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।


तस्वीरहरुः सुदर्शन रञ्जित र उमेश पुन / एचकेनेपाल डट कम

बुल्स मेन क्लब पोखराको आयोजनामा भएको “प्रथम मिस्टर बुल्स मेन राष्ट्रिय खुला शारिरीक सुगठन प्रतियोगिता”को शनिबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धाको ५५ केजी तौलमा बुल्सजिम सेन्टर पोखराका सुरेश गुरुङले स्वर्ण पाए। उनले ब्यायाम मन्दिरका रवि महर्जनलाई पछि पारे। तृतीय स्थानमा नेपाल ब्यायाम मन्दिरका सुरेश खत्री रहे।

शनिबार सम्पन्न प्रतियोगिताको ६० केजीमा नेपाल ब्यायाम मन्दिर, ज्याठाका सुजन तामाङले फिटनेश स्टुडियो लाजिम्पातका रुजेश शाहीलाई द्वितीय स्थानमा झारे। तृतीय स्थानमा रत्नश्री जिम पोखराका कमल भण्डारी रहे। ६५ केजीमा नेपाल ब्यायामका रामहरि खनालले प्रथम स्थान प्राप्त गर्दा दोश्रो स्तानमा आफ्नै क्लबका संजीव श्रेष्ठलाई पछि पारे। अजिमा फिजिकल फिटनेश भक्तपुरका रामकृष्ण तामाखुले तेश्रो स्थानमा चित्त बुझाए। ७० केजीमा टाईटल उपाधि विजेता नेपाल ब्यायाम मन्दिरका रामबहादुर दाहालले आफ्नै क्लबका दीपक ध्वज ठकुरीलाई पछारे। फिटनेश फ्याक्ट्री, धरानका होमराज शर्मा तेश्रो भए। ७५ केजीमा सेप फिटनेशका महेश्वर महर्जनले स्वर्ण, बुल्स जिम सेन्टर, पोखराका निरज गुरुङले रजत र नेपाल ब्यायाम मन्दिरका सरोज मानन्धरले कास्य पाए। ७५ केजी माथिको तौलमा नेपाल ब्यायामका ज्ञान नारायण महर्जनले स्वर्ण प्राप्त गर्दा फिटनेश फ्याक्ट्री धरानका तोर्णबहादुर भुजेल (पारश)ले रजत र चित्रवती लेजर सेन्टर, बाँकेका दिनेश सहनीले कास्य पदक पाए।

प्रत्येक तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले नगद १०, ७ र ५ हजार नगदका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे। बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि पश्चिमाञ्चल प्रहरी प्रमुख नायब महानिरीक्षक सिंहबहादुर भण्डारी, कास्की जिल्ला प्रहरी प्रमुख, एक्सेसरी स्कुलका फाउण्डर राम बस्नेत, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुनकाजि गुरुङ, हङकङ नेपाल शारिरीक सुगठन संघका सल्लाहकार तिलक सोम मगर, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद संघका प्रमुख डेमबहादुर बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा नेपाल भरिका २५ क्लबका विभिन्न तौल समूहमा ६३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।


तस्वीरहरुः सुदर्शन रञ्जित र उमेश पुन / एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोला

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस