सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –
केन्ट, बेलायत। विश्व लिम्बु सांस्कृति महासङ्घ केन्द्रिय कमिटिको आयोजनामा जुन १ तारिखका दिन बेलायतको डोबरमा यक्वा तङ्नाम (उभौली) भब्यताका साथ सम्पन्न भयो।


कार्यक्रममा सभापति क्याप्टेन काजिमान कुरुम्बाङ एम.सि, प्रमुख अतिथि नेपालबाट पाल्नु भएका लिम्बु भाषा साहित्य तथा संस्कृतिविद येहाङ लाओती, अतिथिहरु काजीमान यक्सो अध्यक्ष सेवारो कलाकार सङ्घ बेलायत, मान तबेबुङ उपाध्यक्ष सेवारो कलाकार सङ्घ बेलायत साथै महा–सचिव म.स.स. लिम्बुवान राज्य परिसद वेलायत, चन्द्र कुबेर आङ्बुहाङ सदस्य सेवारो कलाकार सङ्घ बेलायत, धन ब. योङ्याङ, बिनोद केरुङ, कृष्ण लोक्साम, छत्र लिङ्थेप, हेमन्त तुम्बाहाङ्फे रहनु भएको थियो।

कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात प्रमुख अतिथि, सभापति साथै सङ्घका अध्यक्षले दियो बालेर कार्यक्रमलाई सुरुवात गरिएको थियो। दिप प्रजलनपछि साना नानीहरुले लिम्बु नाँच पालाममा नृत्य प्रस्तुत गरेका थिए। त्यस पश्चात बाहिर राखिएको स्टलहरु लि तोङ (धनु बाँण) मा महेश लिम्बु, छेलोमा प्रदेश लिम्बु, चयाभ्रुङमा काजीमान याक्सोले पुर्खाहरुले चलाउदै ल्याएका, लाउदै ल्याएका सामानहरु देखाउन र किन, कसरी, केका लागि चलाईएका हुन् भन्ने छोटो ब्याख्या पनि दिएका थिए।

यक्वा तङ्नाम (उभौली) राजधानी काठमाणडौंलगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ सुनसरी, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किरातीहरुले मनाउदै आएका छन्। त्यसैगरी, अन्तर्राष्ट्रिय रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत, सिक्किम,अमेरिका,बेलायत, हङकङ,जापान,कोरिया मलेशिया, कतार र ब्रुनाईमा समेत अहिले भव्यरुपमा मनाउने प्रचलन रहेको पाईन्छ। यक्वा तङ्नाम (उभौली) पूजा खेतीपाती लगाउने समय भएकाले अन्नवाली वा उव्जनी बढोस् आधीवेरी, असिना नहोस्, अन्नबालीमा रोग नलागोस् भनि शक्ति, बल आर्शीवाद माग्ने चलनमा पाईन्छ। पछिल्लो समयमा विदेशतिर यसलाई लोप हुन नदिन एक संस्कृतिको रुपमा मनाउने प्रचलन बढेको छ।

उभौली र उधौलीको नामले बर्षमा दुई पटक किराँत समुदायले यो पर्ब मनाईने गरिन्छ। परा पुर्खाहरुले कुखुराको भाले, पोथी र सुंगुर आदि जनावरको बलि दिने चलन थियो भने अहिले फलफूल नैबेदले मनाउने चलन चलेको पाईन्छ। बाली लगाउने बेलामा भने उभौली पर्ब मनाउने प्रचलन छ। उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंङसिर पूर्णिमाको पूर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ। किरातहरुको मुन्धुमअनुसार १ बर्षलाई दुई भागमा लिईन्छ, (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो। उभौली र उधौली किरात समुदायको मुख्य चाड हो। याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र यक्वा तङ्नाम, राईहरुले साकेला भन्ने चलन छ।

कार्यक्रमको विचमा प्रमुख अतिथि येहाङ लाओतिले विदेशमा रहेर पनि आफ्नो कामलाई छाडेर यसरी आफ्नो संस्कार र संस्कृति बचाउन लागि परेको देख्दा अति गौरन्वित भएको महशुस गर्नु भएको बताउनु भयो साथै यो यक्वा तङ्नाम (उभौली) पर्वको बारेमा पनि छोटो बोल्नु भयो। विश्व लिम्बु संस्कृति महासङ्घको अध्यक्ष शन्तकुमार आङ्देम्बेले यक्वा तङ्नाम (उभौली)का बारे बोल्दै यस संस्थाको लक्ष्य र दायित्व, लिम्बु एकता र एक रुपताको लक्ष्य, संकल्पित अभियानलाई अघि बढाउने कुरा प्रष्ट पार्नु भयोे।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापति क्याप्टेन काजीमान कुरुम्बाङ एम.सिले कार्यक्रमको जुन लक्ष्य थियो सफल भएको र सफल पार्नको लागि खट्नु भएका सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिदै औपचारिक रुपमा कार्यक्रम सकिएको घोषणा गर्नुभयो। कार्यक्रमलाई महेश वनेमले सञ्चालन गर्नुभएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस