प्रकाश तिमल्सिना / एचकेनेपाल डट कम –
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पल्सर स्पोर्ट्स अवार्ड २०७० अन्तर्गत विभिन्न ९ विधाकामा खेलाडी र प्रशिक्षकलाई सम्मानित गरेको छ। स्पोर्टस अवार्डअन्तर्गत राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बर्षका उत्कृष्ट पुरुष खेलाडी र जुडोकी सुनिता बोहोरा बर्षका उत्कृष्ट महिला खेलाडी चुनिएका छन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

प्रज्ञा भवनमा एक भव्य समारोहका बीच बर्षका उत्कृष्ट युवा खेलाडी विधा फुटबलमा विमल घर्तीमगर र बर्षका उत्कृष्ट प्रशिक्षकको अवार्डबाट क्रिकेटका प्रशिक्षक पुबुदु दसानायके सम्मानित भएका छन्। भलिबलकी सरस्वती चौधरी बर्षको लोकप्रिय खेलाडी छानिएकी छिन्।

उत्कृष्ट पुरुष खेलाडी विधामा पारससँगै बसन्त रेग्मी (क्रिकेट), सुवाश खकुरेल (क्रिकेट), शिवराम श्रेष्ठ (गल्फ) र याम साजन सुनार (एथ्लेटिक्स) मनोनयनमा परेका थिए। बर्षको उत्कृष्ट महिला खेलाडीमा सुनितासँग दिलमाया कार्की (एथ्लेटिक्स), सोफिया शाह (पौडी), सिता रानामगर (क्रिकेट) र तारादेवी पुन (भारोत्तोलन) मनोनयनमा थिए।

उत्कृष्ट युवा खेलाडीको विधामा विमललाई पौडीका शिरिष गुरुङ, उसुका विशाल थापा सिंजाली एवम् क्रिकेटका सोमपाल कामी र अविनाश कर्णले चुनौति दिएका थिए। उत्कृष्ट प्रशिक्षकमा पुवुदुसँगै बालगोपाल महर्जन (फुटबल), कपिल किशोर श्रेष्ठ (भलिबल), युवराज गुरुङ (उसु) र ऋषिराम प्रधान (जुडो) मनोनयनमा परेका थिए।

मञ्चले सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा हिमेशरत्न वज्राचार्य, नवीन खतिवडा, प्रजित शाक्य, राजु घिसिङ्ग, सरिता श्रेष्ठ र आदर्श ढकाल सदस्य रहेको छनौट समिति मार्फत मनोनयन सार्वजनिक थियो।

वर्षभरी खेलाडीले गरेको प्रदर्शन, सहभागी प्रतियोगीताको स्तर, प्रदर्शनबाट प्राप्त उपलब्धि र उपलब्धिले पारेको प्रभावलाई मध्यनजर गर्दै मनोनयन सार्वजनिक गरिएको थियो।

वर्षको चर्चित खेलाडी विधामा पारस खड्का (क्रिकेट), विमल घर्तिमगर (फुटबल), सोफिया शाह (पौडी) र यामसाजन सुनार (एथ्लेटिक्स) प्रतिस्पर्धामा थिए। यो विधा एसएमएस भोटिङका आधारमा छनोट भएको हो।

यो वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड बैकुण्ठ मानन्धर, स्पेसल अवार्ड शरद भेषावकार र पाराएथ्लीट अफ द इयरको उपाधिबाट यादव कुँवर सम्माति भए।

उत्कृष्ट महिला, पुरुष र लोकप्रिय विधाका खेलाडीले अवार्डसँगै पल्सर मोटरसाइकल प्राप्त गरे। बर्षका उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लाइभटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पाराका एथलेटिका विजेताले अवार्डसहित जनही ५० हजार रुपैयाँ पाए। मनोनयमा पर्नेले गिफ्ट ह्याम्पर प्राप्त गरे।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको अटोमोबाइल ब्राण्ड पल्सरले मुख्य प्रायोजजक रहेको अवार्ड कार्यक्रमलाई सूर्य नेपाल, डिस होम, आइएसएमई प्रालि, जोनप्लेयर, राष्ट्रिय खेलकुद परिषद, होटल रोयलसिंगी, आरजे स्पोर्टस्, टिएच्टी लाईभ ३१३१ ले साथ दिएका छन्। अवार्ड एभेन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोला।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस