मञ्जु गुरुङ / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। आदिकवि भानुभक्त आचार्यको जन्म दिन अषाढ २९ गते अथार्त जुलाई १३ तारिख दक्षिण कोरियामा पनि भव्य भानु जयन्ती मनाइने भएको छ।
कार्यक्रमको लागि आइतबार जेठ १८ गते कोरियाको राजधानी सउलमा सम्पन्न बैठकले “आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समिति” गठन गरेको छ।
आदिकविको जन्म दिन दुई सय वर्ष पुगेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित “आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति” अन्तरगत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति गठन गरी देश तथा विदेशमा भब्य भानुजयन्ती मनाउन लागेको छ। त्यसैले कोरियामा भानुजयन्ती मनाउन मन्त्रायलबाट मनोनित मञ्जु गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। जसमा नेपाली साहित्य समाज दक्षिण कोेरियाका अध्यक्ष प्रविण राई र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोेरिया च्याप्टरका उपाध्यक्ष प्रमोद सारंग उपाध्यक्षमा, कोरियन कवि किम ह्योेङ ह्यो कोषाध्यक्ष र सदस्य सचिवमा सहित्यकर्मी निश्चल काउचा रहेका छन्। त्यस्तै सदस्यमा एनआरएन कोरियाका प्रवक्ता विमल सुवेदी, एनसिसिका उपाध्यक्ष केशब गौतम, महिलाका लागि महिलाका अध्यक्ष जुनु गुरुङ, पत्रकार पुष्पराज लामिछाने, साहित्यकर्मी विदूर शर्मा र गीतकार सिपी मगर रहेका छन्।
कवि गोष्ठीको रुपमा गरिन लागेको सो कार्यक्रममा दक्षिण कोरियामा रहेका साहित्य अनुरागीहरुलाई आ आफ्नो सृजना समितिका पदाधिकारीहरुलाई उपलब्ध गराइदिन आग्रह गरिएको छ। कोरियास्थित नेपाल राजदूतवासको समन्वयमा गरिने भानुजयन्ती कार्यक्रममा खुुला कविता वाचन गरिने भएकोले सर्जकहरु तथा सहभागीहरुले सम्भव भएसम्म नेपाली पहिरणमा उपस्थित हुन पनि समितिले आग्रह गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस