एचकेनेपाल डट कम संवाददाता-
रौतहट, १५ चैत । एकीकृत नेकपा माओवादीका सभासदको नाममा एसएलसी परीक्षा दिएका नक्कली परीक्षार्थी बुधवार रौतहटबाट पक्राउ परेका छन्।
सशस्त्र प्रहरी टोलीले माओवादी सभासद प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिइरहेका साहित्य लामालाई जुडिबेलास्थित जुडिबेला उच्च मावि परीक्षा केन्द्रबाट पक्राउ गरेको हो।
मकवानपुर लामाटार ८ का साहित्य लामाले मकवानपुर क्षेत्र नम्बर २ का सभासद पुलामीको नामबाट परीक्षा दिएका हुन्। संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिमा र संसदको सार्वजानिक लेखा समितिमा सदस्यसमेत रहेका पुलामीले मकवानपुरमा परीक्षा कडाई हुने ठानेपछि रौतहटबाट परीक्षा दिने चाँजो मिलाउंदा उनी प्रकाउ परेका हुन्।
लामा माओवादी सभासद पुलामीको नाममा ऐच्छिक गणित विषयको परीक्षा दिइरहेका थिए। गत वर्ष नै एसएलसी परीक्षा उत्तीर्ण गरेका लामाले सभासद पुलामीको प्रवेशपत्र लिएर परीक्षा दिइरहंदा पक्राउ परेको जिल्ला शिक्षा कार्यालय रौतहटका विद्यालय निरीक्षक पशुपति महतोले बताए।
लामाको पक्राउसंगै परीक्षा केन्द्रमा रहेका शिक्षकहरू त्यहाँबाट भागेका थिए। त्यहाँका अधिकांश शिक्षकले १५ देखि ५० हजार रुपैयाँ लिएर पास गराउने भन्दै फर्म भराएका थिए। सोही केन्द्रबाट सभासदका नक्कली परीक्षार्थीसहित २९ जना परीक्षार्थीहरू पक्राउ परेका छन्।
पक्राउ पर्ने परीक्षार्थीहरूलाई शिक्षा नियमावलीअनुसार कारवाही गरिने प्रहरीले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस