एचकेनेपाल डट कम संवाददाता-
दाङ १५ चैत । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले माओबादीले नेपाली सेनामा आफनो पार्टीको प्रभाव कायम गर्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।
उनले माआबादीले सेना समायोजनका क्रममा महानिर्देशनालयको दोस्रो दर्जा माग्नु सेनामा आफनो प्रभाव कायम गर्ने चाल भएको दावी गरे।
रिपोर्टर्स क्लब नेपाल दाङले बुधवार दाङको तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले सेनामा कुनै पनि हालतमा राजनीतिकरण गर्न नदिने स्पष्ट पारे।
उनले सेनालाई पूर्ण रुपमा ब्यावसायिक र लोकतान्त्रिकरण गर्न आफूहरु तयार रहेको भन्दै राजनीतिकरण गर्न भने नहुने सुझाव दिए।
शाखा अध्यक्ष शरद रेग्मीको सभापतित्वमा भएको साक्षात्कारमा सचिव ज्ञावलीले सेना समायोजनमा माओबादीभित्र ठूलै अन्यौलता रहेको भन्दै पार्टीले काम गरेको आधारमा सेना हुन नसक्ने समेत स्पष्ट पारे।
अर्को एक प्रसंगमा नेता ज्ञवालीले नेपाली राजनीति बिराट समभावना र चुनौतिको दोसाँधबाट अघि बढिरहेको भन्दै माओबादीले ७ बुदे सहमितिको पालना गरे बर्तमान समस्या समाधान हुने बताए।
उनले माओबादीमा उग्रबामपन्थी चिन्तन, एकदलीय तानाशाही सोच र हतियार प्रतिको मोह कायम रहेसम्म मुलुकले निकास नपाउने दावी गरे। नयाँ सबिधानमा मिश्रित निर्वाचन प्रणाली राख्न दलहरुबिच सहमति हुने विश्वास ब्यक्त गर्दै उनले शासकीय स्वरुपमा पनि एमालेले राखेको प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्री र संबैधानिक राष्ट्रपति उत्तम बिकल्प रहेको बताए।
उनले संबिधान निमार्णमा अवको जटिल बिषय भनेको राज्य पुर्नसंरचना मात्र रहेको भन्दै त्यस बिषयमा दलहरुले गम्भीर रुपमा छलफल अगाडि बढाउनु पर्ने धारणा राखे।
राज्य पुनसंरचनाका सम्बन्धमा दलहरुबिच एक पक्षले सामर्थ्यलाई पहिलो बनाउने र अर्को पक्षले पहिचानलाई पहिलो प्राथमिकता दिने भन्ने बिषयमा मात्र असहमति रहेको भन्दै त्यसलाई छलफलबाट समाधान गर्न सकिने बताए।