कसले बनायो हङकङ?
आजको भव्य हङकङ निर्माणका लागि हजारौँ गोरखा सैनिक र तिनका सन्तानहरूले रगत, पसिना र आँसु बगाएका छन्।
हङकङको अन्तर्राष्ट्रिय विमानस्थल चेकलाप कोक
राजेश राई / एचकेनेपाल डट कम –सात द्वारहरू भएको थिब्ज नगर बनायो कसले ?
पुस्तकमा त लेखिएको हुन्छ राजाहरूको नाम
के ती राजाहरूले उचालेका थिए चट्टानका विशाल डल्लाहरू ?
र, धेरै पटक ध्वस्त पारिएको बेबिलोनलाई
कसले ठड्याएको थियो त्यति धेरैपटक ?
स्वर्णपुरी लिमाका कुन घरहरूमा बस्थे निर्माताहरू ?
चीनको विशाल पर्खाल बनाइसकिएको साँझ
कता गएका थिए कर्मीहरू ?
महान रोम भरिपूर्ण छ विजयका तोरणद्वारहरूले
कसले बनाएका थिए ती तोरणहरू ?
कसमाथि विजय हासिल ग¥यो सिजरले ?
(एक पठित मजदुरको प्रश्न÷ब्रर्तोल ब्रेख्त)
१ मार्च २०१४ । हङकङको अन्तर्राष्ट्रिय विमानस्थल चेकलाप कोकमा पुग्दा म निकै रोमाञ्चित भएँ। ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठनको निम्तो मान्न गेसोका सभापति पदमबहादुर गुरुङसँग पहिलोपटक हङकङ पुगेको थिएँ। भव्य विमानस्थल देखेर सभापतिज्यूलाई सोधेँ, ‘अहो ! कस्तो भव्य रहेछ, ब्रिटिसले नै बनाएको होइन?’ ‘हो’, उहाँको उत्तर थियो, ‘ब्रिटिसले छोडेर जाने बेला बनाएर गएको हो।’ रातको निद्राको बोझ भए पनि भव्य विमानस्थलको भव्यताले मन चङ्गा बनाइरहेको थियो। चङ्गा मेरो मन अध्यागमनको चेकचाँचमा पुगेपछि चाहिँ भरङ्ग भयो। मेरो लहरमा बसेकाहरू मध्ये एक जना बंगालदेशी बाहेक सबै ब्रिटिस नागरिक थिए। उनीहरूलाई राहदानी मात्रै हेरेर सरासर अध्यागमन पास दिए। कुन्नि के कारणले हो ? बंगालदेशका नागरिकलाई त्यहीँबाट फिर्ता पठाइयो। कता पठाइयो त्यो चाहिँ थाहा भएन। पालो आयो मेरो। मेरै जस्ता गोलो अनुहार र थेप्चो नाक भएका अध्यागमनका अधिकारीले निधार खुम्चाउँदै मलाई केरकार सुरु गर्यो। मेरो जवाफले तिनको चित्त बुझेन क्यारे। अध्यागमनका उच्च अधिकारी कहाँ पठाइयो। करीब आधा घण्टा यस्तरी केरकार गर्यो, मानौँ म अपराधी हुँ। केरकारपछि छोड्दा जेलबाट छोडेजस्तै अनुभूति भयो। झिलीमिली शहरमा मेरो मन अमिलो भयो, अरुको अनुहार पनि धमिलो देखेँ।
हङकङको अन्तर्राष्ट्रिय विमानस्थल चेकलाप कोक
हामीलाई लिन आउनु भएका गोरखा भूतपूर्व सैनिक संगठनका सचिव ईश्वर गुरुङ र राम तामाङले बाहिर कुरिरहनु भएको रहेछ। ईश्वर मामालाई अध्यागमनमा पाएको दुःख सुनाएँ। उहाँको सहज प्रष्टीकरण थियो, ‘भान्जा, यो सब हामी नेपालीहरूकै कारण हो। नेपालीहरूले फट्याइँ गरेपछि निगरानी बढाएको छ, तपार्इं पनि त्यही घानमा पर्नुभयो।’ हङकङ जानुअघि अनलाइनमा एउटा रिपोर्ट पढेको थिएँ। त्यो रिपोर्ट भन्छ, ‘विकसित राष्ट्रहरूले नेपाली प्रवेशमा कडा निगरानी बढाएको छ, अवैध रुपमा प्रवेश गरेका नेपालीहरूको कारण समस्या भएपछि यस्तो कडाई गरिएको हो।’ ‘बर्मा गयो, कर्मसँगै’ भनेझै कर्म बदल्न सातसमुन्द्र पारी गएकाहरूले नेपाली काइदा नछोड्दा कहिलेकाहीँ जाने हामी जस्तालाई पनि बेफाइदा हुन्छ क्यारे? चेकलापकोकमा पाएको सास्तीपछि मनमा प्रश्न उठ्यो, ‘हङकङमा गोरखाहरूले बनाएको पुरानो वैभव कसले भत्काउँदैछ?’ सायद, यो मेरो मनभित्रको उत्तेजना मात्रै होइन गोरखालीहरूको चिन्ता पनि होला कि!
गोरखालीको यो साइनो
बाटोमा जाँदै गर्दा ईश्वर मामाले चेकलाप कोक निर्माणमा गोरखालीहरूको सहभागिता र सहयोग बारेमा बताउनुभयो। उहाँको कुरा सुनेर गर्व लाग्यो, ‘त्यो भव्य विमानस्थलका भित्ताहरू हाम्रा सयौँ गोरखालीहरूले पनि छोएका रहेछन्। त्यहाँ प्रयोग भएका सिमेन्ट, इँटा र ढुङ्गाहरू हाम्रा गोरखालीहरूले पनि उचालेका रहेछन्।’ प्रसिद्ध कवि बर्तोल ब्रेख्त ‘एक पठित मजदुरको प्रश्न’ शीर्षकको कवितामा सोध्छन्ः
सात द्वारहरू भएको थिब्ज नगर बनायो कसले ?
पुस्तकमा त लेखिएको हुन्छ राजाहरूको नाम
के ती राजाहरूले उचालेका थिए चट्टानका विशाल डल्लाहरू ?
(एक पठित मजदुरको प्रश्न÷ब्रर्तोल ब्रेख्त)
ब्रेख्तले कविता सोधेजस्तै हामी सोध्न सक्छौँ, ‘कसले बनायो यो भव्य विमानस्थल? पुस्तकमा लेखिएको छ, ब्रिटिस राजाहरूको नाम, के ती राजाहरूले उचालेका थिए चट्टानका विशाल डल्लाहरू? हो, ती डल्लाहरू उठाउने गोरखाली नै थिए। असली निर्माता गोरखाली थिए।
हङकङ
गोरखाहरूको लागि हङकङ कुनै विरानो प्रदेश होइन। त्यहाँका प्रत्येक ढुङ्गा माटोहरूलाई गोरखालीका हातहरू छोएका छन्। यदि ढुङ्गामाटो बोल्दो हो त यो दाबी प्रस्तुत गरिरहुन नपर्ने हुन्थ्यो होला। त्यहाँका ढुङ्गामाटोको सबैभन्दा प्रिय गोरखाली नै बन्ने थिए। हङकङसँग गोरखालीहरूको कति धेरै भावनात्मक साइनो र सम्बन्ध रहेछ? भन्ने कुरा मैले भूपू सैनिकहरूसँग पुराना ब्रिटिस गोरखा क्याम्प र सीमा क्षेत्र घुमिरहदा अनुभूति गरे।
गेसोका केन्द्रीय सदस्य तथा हङकङ इन्चार्ज मणि किरात बान्तावा र ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठनका सह–सचिवसँग ४ अप्रिलमा गोरखाहरूको पुरानो तालिम केन्द्र सेकोङ गयौँ। कुनै बेला ‘ब्रिगेड अफ गोरखाज्’ मुख्यालय तथा तालिम केन्द्र रहेको यो सेकोङ ब्यारेक गोरखाहरूको ऐतिहासिक थलो हो।
खासगरी पूर्वी एसिया मलाया, बोर्नियो र ब्रुनाइको युद्धको करिब—करिब अन्त्य भएपछि ब्रिगेड अफ गोरखाज्लाई सुङ्गइपटनीबाट हङकङको सेकोङमा सारिएको थियो। ब्रिटिसले पूर्वी एसियामा उठिरहेको कम्युनिष्टहरूको विद्रोहलाई दबाउन गोरखालीहरूको प्रयोग गरेका थिए। उसले मलेसिया र इण्डोनेसियाको लागि युद्ध लड्ने ठेक्का लिएको थियो। यो ठेकेदारीबाट उसले अरबाँै पाउण्ड कमायो। त्यसबेला गोरखालीहरूलाई लड्न पठाए बापत प्रति गोरखा सिपाही ४ सय ५० मलेसियन डलर लिएर गोरखालीहरूलाई ४३ डलर मात्रै दिएका थिए। युद्ध चलिरहेकै क्रममा सन् १९७० मा तत्कालीन सिङ्गापुरका प्रधानमन्त्री लि कान यु, मलेसियाका प्रधानमन्त्री टेकु अब्दुल रहमान र इण्डोनेसियाका राष्ट्रपति सुकार्नोबीच आपतकालीन बैठक बस्यो। उनीहरूबीच भएको दुई घण्टाको बैठकले युद्ध विराम गर्ने सहमति भयो। यसपछि ब्रिटिस गोरखाले एक वर्षभित्रमा ती देश छोड्नुपर्ने अवस्था आयो। त्यही सहमति पछि सन् १९७१ मा ‘ब्रिगेड अफ गोरखाज्’ सुङ्गइपटनीबाट हङकङ सरेका थियो। त्यसबेला ५ बटालियन मध्ये ३ बटालियन हङकङमा थियो। बाँकी एउटा ब्रुनाइ र अर्को एउटा ब्रिटेनमा थियो।
हो, त्यही सेकोङ ब्यारेकमा अहिले चिनियाँ जनमुक्ति सेना बसेको रहेछ। हामीले बाहिरैबाट यो ब्यारेकको तस्बीर खिच्यौँ। ब्यारेकको मुख्य गेटमा गएर तस्बीर खिचाउँदै गर्दा खड्क दाइ निकै ‘नोस्टाल्जिक’ हुनुभयो। भन्दै हुनुहन्थ्यो, ‘यही हो, हामी र हाम्रो हजारौँ पुर्खाहरूले तालिम गरेको।’ मुख्य गेटबाट अलि तलतिर फ्यामिलीलाइन अर्थात् श्रीमती सहित बस्ने घरहरू रहेछ। खड्क दाइ र मणि किरात दाइले ठट्यौली पारामा सुनाउनुभयो, ‘राजेश, यो लाइन बच्चा जन्माउने कारखाना हो, परिवारसहित आएका गोरखा सैनिकहरूले यही श्रीमती राख्थे।’ त्यहाँ जन्मेका हजारौँ गोरखा सैनिकका सन्तानहरू अहिले पनि छँदैछन्। त्यस वरिपरि सानोतिनो जङ्गल पनि रहेछ। त्यहाँका रुख सबै गोरखालीहरूले रोपेका रहेछन्। रुख रोप्न उतिबेला अनिवार्य थिएछ। आ–आफ्नो सैनिक नम्बर लेख्दै रुखहरू रोपिएका रहेछन्। मणि दाइ भन्दै हुनुहन्थ्यो, ‘कतिको त अझै आर्मी नम्बर होलान् ।’ सेकोङ ब्यारेक वरिपरि ठूला–ठूला डाँडाहरू रहेछन्। ती डाँडाहरू, जहाँ गोरखालीहरूले धेरै दशक साँझ बिहान पसिना बगाएका थिए। उहाँहरूको पुरानो दिनका कहानी सुनिराख्दा यस्तो लाग्थ्यो, ‘मानाँै ती डाँडाहरूको प्रत्येक ढुङ्गामाटोले गोरखालीहरूलाई चिन्छ। त्यहाँका सारा ढुङ्गामाटोलाई गोरखालीहरूले छोएका छन्।’ आफ्नो पसिनाले लछप्पै भिजेका यी डाँडाहरू गोरखालीहरूलाई आफ्नै आँगनजस्तो लाग्दोरहेछ।
चिङ मा ब्रिज
पुरानो ब्यारेकहरू हेर्दै हामी क्यासिनो क्याम्प र तामी क्याम्पबीचमा रहेको गोरखा सिमेट्री अर्थात् समाधिमा पुग्यौँ। अहिलेसम्म गोरखाहरूलाई सम्झिने ठाउँ यो मात्रै रहेछ, तर त्यति भव्य हङकङमा गोरखालीहरूलाई सम्झाउने यो समाधि भने जङ्गल भित्र रहेछ। उतिधेरै सरसफाई गरिएको थिएन। यसलाई अझ समृद्ध र सुरक्षित बनाउन गोरखाहरूको ठोस पहल र हङकङ सरकारको सहयोगको जरुरी छ। यो संरक्षण र सम्बद्र्धनको पर्खाइमा देखियो।
७ मार्चमा मणि दाइ र खड्क दाइसँगै निकै लामो बाटो छिचोलेर गोरखाहरूको पुरानो क्याम्प पेरोन ब्यारेक हेर्न गयौँ। समुद्रको किनारामा रहेको यो ब्यारेक अहिले खाली नै रहेछ। सामान्य रेखदेखको लागि केही ब्रिटिस कर्मचारी रहेछन्। खड्क दाइले आफूहरू भूपू गोरखा भएको बताएपछि खुशी भएर उनीहरूले सलाम गरे। ब्रिटिस शासकले गोरखाहरूमाथि अन्याय गरेपनि ब्रिटिस जनताको मनमा भने गोरखाप्रति अगाध माया र सम्मान अझै छ। त्यही झल्को उनीहरूको सलामले देखाएथ्यो। यो ब्यारेकमा गोरखा इन्जिनियर्सको पल्टन बस्थ्यो। गोरखा हाकिम केशरबहादुर लिम्बूको नाममा बनेको एउटा हल अझै रहेछ। हल अघिको भागमा लेखिएको थियो; ‘केशरबहादुर लिम्बू’।
त्यसभित्रका सबै भौतक संरचना बिस्तारै जीर्ण हुँदै गएको देखिन्थ्यो। गोरखालीहरूको साइनो सम्बन्ध, रगत, पसिना र आँसु जोडिएको गोरखा ब्यारेकहरूमध्ये सजिलैसँग पस्न सकिने ब्यारेक यही रहेछ। त्यही ब्यारेकभित्र एउटा ठूलो नेपाली मन्दिर पनि रहेछ। त्यही मन्दिर जहाँ गैरहिन्दू गोरखाहरूले प्रत्येक आइतबार हिन्दूधर्मको पाठ गर्नुपथ्र्यो। हिन्दूकरणको एउटा कारखाना हो त्यो। ‘यही मन्दिरमा हामीले प्रत्येक आइतबार हिन्दूधर्मको कर्म अनुसार हिन्दूकर्म गर्नुपथ्र्यो’, खड्क दाइले मन्दिर देखाएर भन्दै हुनुहुन्थ्यो, ‘यहाँ हजारौँ लाहुरेले हिन्दू पाठ पूजा गरे।’
पेरोन ब्यारेकबाट फर्किँदै गर्दा हङकङको सबैभन्दा लामो पुल र संसारको सबैभन्दा लामो पोल दुरी भएको पुल चिङगा ब्रिज हेर्यौँ। त्यो पुलको सबै प्राविधिक गोरखा इन्जिनियर पल्टनका गोरखालीहरूले गरेका रहेछन्। हङकङको शानसौकातको रुपमा रहेको यो पुल निर्माणमा सयौँ गोरखालीहरूको पसिना बगेको कहानी खड्क दाइले बताउनुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘यो पुल गोरखा इञ्जिनियरका गोरखालीहरूले आएर बनाएका हुन्।’ आज हङकङले चिङ्गा ब्रिजलाई शानसौकातको रुपमा संसारलाई देखाइरहँदा यो पुललाई बनाउने गोरखा इन्जिनियर पल्टनका गोरखालीहरूलाई भुल्नु बेइमानी हुनेछ।
अर्को दिन ईश्वर मामा, खड्क दाइ र मणि दाइ हङकङ र चीनको सीमा क्षेत्र लोकमाचाउ गयौँ। लोकमाचाउ चीनको आर्थिक क्षेत्र सेन्जेन शहरसँग जोडिएको छ। चीनले सेन्जेनलाई सन् १९८० मा थालिएको विशेष आर्थिक क्षेत्रहरूको निर्माण अभियानमा पहिलोपटक छानेको थियो। यही लोकमाचाउ क्षेत्रमा हजारौँ गोरखालीहरूले सीमा तैनाथी गरेका थिए। उतिबेला हङकङलाई चीनबाट भिन्न खालको खतरा थियो। त्यो खतराबाट बचाउन गोरखालीहरूले ढालको रुपमा काम गरेका थिए।
लोकमाचाउ हुँदै हामी पुराना गोरखा ब्यारेकहरू ग्यालीपुली, बर्मालाइन, डिल्सकर्नर, लोउरेन्जतिर गयौँ। पुरानो ब्यारेकहरूको भौतिक संरचना उस्तै रहेछ। बर्मालाइनको तैनाथी पोष्टमा सामान्य रेखदेख गर्न हङकङकै कर्मचारीहरू राखिएका थिए। खड्क दाइले ती कर्मचारीहरूलाई आफूहरू भूपू गोरखा भएको बताएपछि उनीहरू पनि खुशी भए। उनीहरू गोरखाहरूको बारेमा जानकार रहेछन्, तर ब्यारेकभित्र कसैलाई जाने अनुमति छैन क्यारे! उनीहरू सामान्य कुरा गरेर भित्र छिरिहाले। डिल्सकर्नरमा लामो फ्यामेली लाइन रहेछ। त्यही जन्मेका अधिकांश गोरखाका सन्तानहरूले हङकङ आइडी पाएका छन्, तर उतिबेला कुनै पनि गोरखालीहरूलाई यस बारेमा पत्तो थिएन। यही सन्तान जन्माए हङकङको आइडी पाउँछ भन्नेमा उनीहरू बेखबर थिए। ईश्वर मामा भन्नुहुन्छ, ‘यहाँ जन्माउँदा आइडी पाउँछ भन्ने कुरा थाहै भएन, यदि त्यस्तो थाहा भएको त सबैले यहाँ नै ल्याएर बच्चा जन्माउन लाउथ्यौँ होला।’
खोइ बलिदान र योगदानको चिनो ?
जनगायक रामेश विद्यार्थीकालका हाम्रो आर्दश गायक थिए। त्यसो त अहिलेको पनि हुँदै हो। संयोगले रामेश दाइको एकल साँझमा सहभागी हुने मौका मिल्यो। ‘हङकङ हिमायती’ले पाकिस्तानी क्लबमा गरेको कार्यक्रममा रामेशले नयाँ पुराना जनवादी गीतहरू सुनाउनुभयो। राल्फाकालीन संस्मरणको साथमा केही मनका बहहरू पनि पोख्नुभयो। समुद्रपारीको शहरमा प्रिय गायकको गीत सुन्दा असाध्यै हर्क लाग्यो। हङकङमा बसेर साहित्यकर्ममा लागेका टंक सम्बाहाम्फेसँग दिनभर घुमेर हामी रामेश दाइको गीत सुन्न पुगेका थियौँ। व्यस्त समयकोबीचमा पनि टंक दाइ साहित्यकर्ममा जुटिरहनु भएको छ। उहाँको लोभलाग्दो क्रियाशीलता छ।
पाकिस्तानी क्लब छिर्दै गर्दा पाकिस्तानी झण्डा फरफराई रहेको देखेँ। त्यसको नजिकै भव्य भारतीय क्लब पनि रहेछ। उसैगरी भारतीय क्लब अगाडि भारतको झण्डा फरफराइरहेको देखेँ। त्यहाँ पुग्ने जो कोही भारतीयहरूलाई त्यो झण्डा देखेर गौरवले कति छाती फुल्दो हो। फुल्छ पनि, तर विडम्बना त्यति लामो योगदान र वलिदान गर्ने गोरखालीहरूको भने यस्तो कुनै त्यस्तो क्लब वा अरु केही छैन रहेछ। गोरखाली वा नेपालीहरूको कुनै त्यस्तो क्लब नहुनुमा स्वयम् हाम्रो आफ्ना धेरै कमजोरी पनि होलान्? तर, त्यति ठूलो योगदान र बलिदान गरेका गोरखालीहरूलाई नसम्झिनु हङकङ सरकारको पनि बेइमानी हो। होलान्, भारत, पाकिस्तान, अमेरिका वा अरु कुनै देशबाट हङकङमा आएर व्यापार गरे नाफा गरे होलान्, त्यही नाफाले सरकारलाई प्रभावित पारे होलान्। भलै, गोरखालीहरूले अन्य देशका फिरङ्गी व्यापारीहरूले जस्तो नाफा कमाएर हङकङ सरकारलाई प्रभावित पार्न सकेनन्, तर दशकौँदेखि हङकङको लागि रगत र पसिना बगाएको तथ्य घामजस्तै छर्लङ्ग छ, तर हङकङ सरकारलाई आफ्नो माटो र मुलुकको लागि इमानदारीतापूर्वक रगत पसिना बगाइदिने सोझा सिपाहीभन्दा नाफाखोर व्यापारीहरू किन प्रिय बने? कम्तीमा गोरखालीहरूले गरेको योगदान र बलिदानको फेहरिस्तसहित यही प्रश्न गोरखालीहरूले हङकङ सरकारलाई सोधे गोरखाली क्लब दिनेमा म चाहिँ विश्वस्त छु।
ब्रिटिस गोरखाहरूले प्रयोग गरेका त्यतिधेरै क्याम्पहरू अझै पनि खाली नै रहेछन्। यदि केही तथ्यसहित गोरखालीहरू संगठित रुपमा जाने हो भने कहीँ न कहीँ कुनै भवन अवश्य दिनेछ, तर ढिलो गर्नु हुँदैन। यही प्रसङ्गमा ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठन हङकङका नेतृत्वहरूसँग बहस हुँदा पनि उहाँहरूले चाँडै यसको लागि ठोस पहल गर्ने जानकारी दिनुभएको छ।
को हुन् असली निर्माता ?
यो माटोभित्र उम्लिरहेको रगतको आवेग
—कसको हो ?
यो महलको चोटा–चोटाबाट आइरहेको पसिनाको गन्ध
—कसको हो ?
यी दरबारका भव्य झ्याल–ढोकाहरूमा
कसकसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
कसकसका औँठाका शङ्ख—चक्रहरू छन् ?
एक–एक खुट्याउनु छ, इतिहासको खुनी अनुहार
चिन्नु छ—
को हो असली निर्माता ?
(उत्खनन्, श्रवण मुकारुङ)
प्रेमचन्द भन्छन्, ‘धनीहरूले त केवल राष्ट्रबाट नाफा मात्रै लिएका हुन्छन्, हरेक राष्ट्रका निर्माताहरू त तिनै निमुखाहरू हुन् जसले रगत, पसिना बगाएका हुन्छन्। जो—जसको रगत र पसिनाको भरमा राष्ट्र बनेको छ, असली निर्माताहरूलाई भुल्ने राष्ट्रका शासकहरूले आफैलाई पनि भुलिरहेका हुन्छन्।’ गोरखालीहरूले नै हङकङको कायापलट गर्यो भनेर दाबी गर्नु केवल त्यो उत्तेजना हुन्छ, वस्तुगत हुँदैन, तर प्रेमचन्दले भनेजस्तै आजको भव्य हङकङका असली निर्माताहरू चाहिँ अवश्य निमुखा गोरखालीहरू पनि हुन्। अरु देशका व्यापारीहरू हङकङमा नाफा कमाउन आए, तर गोरखालीहरू पसिना र रगत बगाउन गए। कवि श्रवण मुकारुङले सोधजस्तै ‘यी भव्य झ्याल–ढोकाहरूमा कसकसका हातका रेखाहरू छन्?’ सोध्ने हो भने, निश्चित रुपमा उत्तर आउनेछ, ‘गोरखालीहरूको हातका रेखाहरू पनि छन्।’
माथि पनि प्रसङ्ग आयो। भारतीय र पाकिस्तानीहरूलाई क्लब दिइएको छ, तर गोरखालीलाई दिइएको छैन। साँचो अर्थमा उनीहरू हङकङमा नाफा कमाउन आए, तर गोरखालीहरू सुरक्षा दिन र निर्माण गर्न। हिजो ब्रिटिस कालमा गोरखालीहरूले ढालजस्तै सीमानाको रक्षा गरे, तिनै गोरखालीहरूले आज हङकङका ठूला मानिसहरूलाई ढालजस्तै सुरक्षा दिइरहेका छन्। अहिले पनि हङकङका धनीहरूको निजी सुरक्षा गार्ड नै गोरखाली छन्। फेरि गोरखालीहरू अन्य देशका नागरिक जस्तो शरणार्थी भएर वा लुकेर पनि हङकङ गएका होइनन्। त्यही देशको रक्षाको लागि त्यहाँ पुगेका हुन्, तर गोरखालीहरूलाई चाहिँ उनीहरूलाई जति पनि सम्मान नगर्नु चाहिँ विडम्बना हो। भनिन्छ, देश समृद्धिको पहिलो शर्त सुरक्षा र निर्माण हो। हङकङको सुरक्षा र निर्माणमा गोरखालीको पहिलो उपस्थिति रह्यो। भव्य हङकङको शान विमानस्थल, चिङगा ब्रिज, रेलसेवा, ओसन पार्क, बिग वुद्ध, ठूला भवनहरू आदिको निर्माणमा गोरखालीहरूको महत्वपूर्ण सहभागिता रह्यो। सुरक्षाको मामलामा सीमानादेखि शासक (धनीहरू नै शासक बन्छन्) सम्मको सुरक्षा गोरखालीले नै गरेका छन्।
इतिहास विश्वविद्यालय वा कक्षाकोठमा मात्रै पढाइने र पढिने विषय होइन, र इतिहास निर्माण केवल शासकहरूले मात्रै गर्ने पनि होइनन्। इमर्सन भन्छन्, ‘जीवनका कथाहरूको अत्तिरिक्त अरु कुनै सत्य इतिहास छैन।’ हङकङमा जीवनका उर्वर समय बिताएका गोरखालीहरूको जीवनका कथाहरू सुनिरहँदा यस्तो लाग्छ, मानौँ हङकङ सबै गोरखालीहरूले बनाएका हुन्। कम्तीमा सबै नबनाए पनि पसिना त बगाएकै हुन्। हङकङमा सबैसँग संवाद गरिरहँदा यस्तो लाग्यो, ‘गोरखालीहरूको योगदान र बलिदान बारेमा धेरै बेखबर छन्।’ कहिलेकाहीँ यस्तो हुन्छ कि यस्ता योगदान र बलिदानका बारे सम्बन्धित देश वा शासक बेखबर हुन्छन्। यदि यस्तो अवस्थामा आए सम्झाउनुपर्छ। गोरखालीहरूले आफ्नो योगदान र बलिदानको बारेमा हङकङ सरकारलाई एक पटक सम्झाउन कि?
उही नेपाली काइदा
गोरखाली वा नेपालीहरूले क्लब वा कुनै त्यस्तो सम्मान नपाउनुमा स्वयम् नेपाली समुदाय पनि उत्तिकै जिम्मेवार छन्। नेपालमा भन्दा चर्को राजनीति वा खिचातानीे रहेछ। एउटा संस्था वा संगठनले अधिकारको मुद्दा उठायो भने अर्को संगठनले विरोध नगरी चित्तै नुबझ्ने प्रवृत्ति बढ्दै गएको प्रष्ट जान्न सकिन्छ। हङकङबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिकाहरूको रिपोर्ट हेर्दा पनि हङकङको सामाजिक सुरक्षामा नेपाली समुदाय पनि चुनौती बनेको प्रष्ट बुझ्न सकिन्छ।
हङकङका सभामुख चाङसोक सिङ एभरेष्ट साप्ताहिकको विशेष अंकमा अन्तर्वार्ता दिदै नेपाली समुदायका कारणले पनि सामाजिक सुरक्षामा चुनौती बनेको बताएका छन्। उनले बडो स्पष्ट भाषामा नेपालीबीच चर्को बेमल रहेको र यसले स्वयम् नेपालीलाई मात्रै होइन, स्थानीय समाजलाई पनि असर पर्ने संकेत गरेका छन्। हङकङ सरकारका उच्च अधिकारीले थाहा पाउने गरी चर्को बेमेल हुनु विडम्बना नै हो। ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठनका अध्यक्ष हेमप्रताप गुरुङले भन्नु भए जस्तै त्यहाँका नेपाली समुदायको मूलजरो भनेको ब्रिटिस गोरखा नै हो। भोलि हङकङमाथि दाबी प्रस्तुत गर्ने ऐतिहासिक आधार पनि उनीहरूको बलिदान र योगदान हो। क्लब लगायत अन्य मागहरूको सन्दर्भमा ब्रिटिस गोरखा भूतपूर्व सैनिक संगठनलाई अघि लगाएर आवाज बुलन्द गरे बढी प्रभावकारी हुने थियो कि?
आशाका अनुहार
गोरखालीहरूको पुरानो विरासत बचाइराख्ने नयाँ ऊर्जाशील युवाहरूको क्रियाशीलता लोभलाग्दो छ। विभिन्न पेशा व्यावसायमा आबद्ध यी लाहुरेका सन्तान तथा आफन्तहरूले पुरानो शानसौकात र स्वाभिमानलाई बचाइराख्ने आशा गर्न सकिन्छ। उनीहरूको अर्थमूलक र लोभलाग्दो सक्रियता प्रशंसनीय छ (बाँकी अङ्कमा लेख्दै जानेछाँै)। किसन राई, पशन तमू, देवराज राई, अमोद राई, जगत अम्बु गुरुङ, अशोक गुरुङ, डा. धीरज गुरुङ, चुरा थापा, विमल गुरुङ, रिगम राई, टंक सम्बाहाम्फे, रीता गुरुङ, प्रमिला दर्लामी, दम गुरुङ, कृष्ण लाओती, मेरिना राई आदि नामहरू (धेरै छुटेका छन्) आशाका अनुहार हुन्। यिनै अनुहारमा पुरानो पुस्ताले आफ्नो उज्यालो भविष्य देखेका छन्। निश्चय नै अझ यी आशाका अनुहारहरू क्रमशः उज्यालो हुँदै जानेछन्। सबैको भविष्य उज्यालो हुँदै जानेछ।
हङकङ भ्रमणका अरु पाटा
हङकङको पर्यटकीय केन्द्र ओसन पार्क, बिग वुद्ध, स्टारफेरी लगायतका स्थानहरू जाने अवसर मिल्यो। ती सबै स्थानहरूमा गोरखालीहरूको उस्तै पसिना बगेको तथ्य रहेछ। संखुवासभाका तारा राई, कृष्ण राई, देहरादुन घर भएका नेपाली भाषा कोमल थापा, जो उदायीमान गायिका हुन्। उहाँहरूले धित मर्ने गरी ओसन पार्क घुमाइदिनुभयो। ओसन पार्क निर्माणमा पनि उस्तै गोरखालीहरूको सहभागिता रहेछ।
बिग बुद्ध
बालिका बान्तावा दिदीले स्टारफेरी घुमाइदिनुभयो। उहाँ मेरो अभिभावक नै हुनुहुन्छ। पत्रकार किसन दाइ, जनगायक रामेश र भाउजुसँग बिग बुद्ध गयौँ। हङकङले एउटा वुद्धको मूर्ति राखेर लाखौँ पयर्टकलाई आकर्षित गरेको रहेछ। त्यसबाट मासिक करोडौँ कमाई भएको छ। त्यही वुद्धको मूर्तिनेर रामेश दाइलाई भनेँ, ‘दाइ, यिनिहरूले लुम्बिनी नै पाए त कन्नि के—क गर्थे? ‘भाइ, त्यसले मात्रै देशलाई हीरा बनाउने थिए’, उहाँको उत्तर थियो। माल पाएर पनि चाल नपाउँदा हामी यो दिन व्यहोरिरहेका छौँ सायद। यस्तै पोखराकी जस्मिन गुरुङ, इशा बिक लगायतले घुमाउनुभयो।
यसैगरी किरात राई यायोक्खा हङकङको कार्यक्रम सम्झनायोग्य रह्यो। युनलोङमा किरात राई यायोक्खाको आफ्नै कार्यालय रहेछ। कार्यालयसँगै किरात राईहरूको पहिचानको प्रतीक तीन चुलो पनि बनाइएको रहेछ। अध्यक्ष शशीमदन राई, पूर्व अध्यक्षद्वय हेजेन राई, किसन राई, बसन्ती राई लगायतसँग साक्षात्कार गर्ने अवसर मिल्यो। किरात राई यायोक्खा हङकङले ठूलो लगानीमा चुलो निर्माण गर्न लागेको खबरले खुसी बनायो। यसै गरी भोजपुरको समग्र विकासलाई टेवा दिनको लागि हङकङमा भोजपुरे सेवा समाज गठन गरिएको रहेछ। यो समाजको स्वागतले थप आनन्दित बनायो। अध्यक्ष खड्क राई, उपाध्यक्ष झन्डा राई, सचिव माइकास मुकारुङ लगायतले भोजपुरको लागि गरिरहेको काम तारिफयोग्य रहेछ। यस्तै इलामका दाइ बसन्त राई र खोटाङका हिराधन दाइसँगको बसाई पनि उस्तै सम्झनायोग्य रह्यो। हङकङमा मेरो प्रिय कवि हाङयुग अज्ञातसँग अन्तरङ्ग कुरा गर्दा खुशीको सीमा रहेन। धनकुटा पढ्दा चिनजान भएकी बहिनी कन्चुले हङकङमा राम्रो व्यावसय चलाइरहेकी रहिछन्। उनको प्रगतिले खुशी बनायो।
करिब १२ दिनको बसाइ थियो। १२ दिनसम्म बस्दा हङकङ आफ्नै शहर जस्तो अनुभूति भयो। मलाई विमानस्थलसम्म छोड्न खड्क दाइ र मणि दाइ आउनुभएको थियो। उहाँहरूसँग विमानस्थलमा बिदाइका हात हल्लाउँदा आफ्नै बुबाले बिदाइ गरेको अनुभूति भयो। सायद, अभिभावकत्व र अपनत्व भनेको यही होला।
तस्वीर स्रोतः इन्टरनेट
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस