आलोक शर्मा / एचकेनेपाल डट कम-
कता कता न्याउली चरी कराएझै सुन्छु
जहाँ रहेनि स्वदेशकै संम्झनामा हुन्छु,
कता कता न्याउली चरी कराएझै सुन्छु…….

मैलाई हेर्न उभिएझै माछापुच्छ्रे चुली
घामको झुल्का पोखिएर सुनै भुल भुली
कता कता कुर्ले ढुकुर कराएझै सुन्छु…….

जहाँ रहेनि स्वदेसकै सिर्जनामा हुन्छु
अग्ला भिर छिचोलेर निस्किएकी सेती
बगरमा बगाउँछिन कति हिरामोती
कता कता कोईलिले बोलाएझै सुन्छु…….
जहाँ रहेनि स्वदेशकै कल्पनामा हुन्छु

मानिसले जीवनलाई जसरी विभिन्न फरक–फरक तवरवाट बुझ्ने, परिभाषित गर्ने वा जिउने गर्दछन् त्यसरी नै प्रत्येक बस्तु प्रतिको बुझाई, भनाई अनि भोगाई अलगै हुँदो रहेछ। राष्ट्र, राष्ट्रियता, प्राकृतिक सम्पदा, हिमशिखर, नदी–नाला, पशु–पक्षिं, कृषि क्षेत्र, ग्रामिण एवं सामाजिक परिबेश, कला, संस्कृति र भेषभूषा जस्ता बिषयहरु नै मानिसको अन्तर्मन, भावना र जीवनसँग जोडिएका एक अर्काका परिपूरक हुँदा रहेछन्।

यी सबैको बिचमा मात्रै मावन जीवनको सार्थकता लुक्दो रहेछ, जसको छातीमा स्वदेशको माया नै माया भरिँदो रहेछ। एल्बम ‘प्रभाव’को राष्ट्रियताले ओतपोत भएको ‘कता कता न्याउली चरी’ बोलको यो गीतले सारा नेपालीहरुको लागि एउटा छुट्टै सन्देश दिईरहेको छ। सुनजस्तै पँहेलो रुपमा देखिएको माछापुच्छ्रे हिमाल अनि हिरा मोतीसँगै बगेकी सेती नदी जस्ता शव्दले गीतको भाव, सुन्दरता अनि हृदयभित्रको अन्तरमनलाई प्रस्तुत गरेको छ।

कुहु–कुहु गर्ने कोइली चरीदेखि एकोहोरो आवाजले मानिसको मन छुने गरिकन कराउने न्याउली चरी र कुर्ले ढुकुर जस्ता सुन्दर एवं सुमधुर संगीतमय स्वर दिने पक्षिको सम्झना, माया र त्यसको मोहलाई समेत गीतमार्फत उद्गार गरिएको छ। प्रस्तुत गीतले ‘जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी’ भने जस्तै स्वदेशको माया एवं भावलाई दर्शाएको छ। आफ्नो देशलाई स्वर्गभन्दा पनि सुन्दर रुपमा प्रस्तुत गरि जुन ठाउँ, देश तथा परिबेषमा रहेपनि आफूलाई स्वदेशको सम्झना, कल्पनाको साथै सृजनामा रहेको लेखकको राष्ट्रभाव र राष्ट्रियता प्रतिको माया र मोह स्पष्ट देख्न सकिन्छ।

ज्योति पौडेलको राष्ट्रप्रति ओतपोत भएका शव्द, आलोक शर्माको भावपूर्ण संगीत, सफल निर्दैशन तथा क्यामेराको साथै भानुभक्त ढकालको सुमधुर र कर्णप्रिय स्वरमा सजिएको यस गीतमा राष्ट्रियता र राष्ट्रभावका थुप्रै झलकहरु देख्न र सुन्न पाईन्छ। गीतले देशलाई जन्म दिने आमा समान, राष्ट्रियतालाई आमाको हृदय समान, प्रकृति, कला, संस्कृति र समाजलाई आमाको सुन्दर गहनाको साथै कृषि क्षेत्रलाई आफ्नो कर्मको रुपमा प्रस्तुत गरेको छ।

गीतमा देखाईका धौलागिरि, चाँदी र सुन रङको माछापुछ्रे हिमाललगायत बिभिन्न सुन्दर हिम श्रृखलाहरु, नेपालको राष्ट्रिय फूल लालीगुराँस, पोखराको फेवाताल, सेती नदी, वाराही मन्दिर र शान्ति स्तुपले गीतका सुन्दर शव्दलाई गहनाको रुपमा सजाएको छ। यसको साथै पर्यटकीय एवं साँस्कृतिक महत्व बोकेको घान्द्रुक एवं बिभिन्न गाउँघर, कुश्मा ज्ञादी जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुल, कुश्मा बलेवा जोड्ने यान्त्रिक पुलले देशको सँस्कृति एवं पर्यटनलाई समेत राम्रोसँग प्रस्तुत गरेको छ।

गीतमा देखाइएको कृषिभूमिसँगै ज्ञादीको पहेलपुरे फाँट, कृषकहरुले धान काट्ने र थन्काउँदै गरेको दृष्यले नेपालको कृषिलाई आफ्नो कर्मसँग जोडेको मान्न सकिन्छ। कतिपय अवस्थामा अशिष्ठ, उत्तेजित, काल्पनिक र कृतिम वाटोवाट अगाडि बढिरहेको आम सागीतिक क्षेत्र भन्दा पृथक र अलिक भिन्न परिवेश जस्तो लाग्ने यस एल्बमले नेपाली सांगीतिक क्षेत्रमा शिष्टता, समर्पण, राष्ट्रभावलाई राम्रैसँग छचल्काएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस