डोरनाथ अर्याल / एचकेनेपाल डट कम –
बैंकक, बुद्ध जयन्तीको अवसरमा नेपाली राजदूतावास बैङ्ककले मंगलवार दिन गैरआवासीय नेपाली संघ, थाइ नेपाली संघ, थाई–नेपाल च्याम्बर अफ कमर्स समेतको सक्रिय सहयोग र सहकार्यमा विशेष कार्यक्रमहरुको आयोजना गरेको छ।

विहान नेपाली राजदूतावास प्रांङ्गणमा विशिष्ट भिक्षुहरुसमेत आमन्त्रण गरी प्रवचन, धर्मदेशना, भोजनदान लगायतको कार्यक्रम तथा साँझ पतयामा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो।

पतयामा भगवान वुद्धको मुर्तिलाई सजाएर नेपालबाट आएका कल्चरल एक्स्प्लोर नेपालका कलाकारहरुबाट नाचगान सहितको र्यालीले पतया शहरको समुन्द्र किनारको सेन्ट्रलरोडबाट शुरु गरी करीब एक घण्टा १५ मिनेटको पदयात्रा गरेको थियो। मायादेविको मन्दिर तथा भगवान वुद्धको जन्मस्थल प्रिन्ट भएको निलो रंगको टिसर्ट लगाई भगवान बुद्धका सन्देशहरु तथा “जीवनमा एक पटक लुम्विनी भ्रमण गर्नुहोस” आदि उल्लेखित व्यानरहरु बोकेको र्याली निकै आकर्षक देखिन्थ्यो।

पदयात्रामा थाइलैण्डका वरिष्ठ भिक्षुहरु र नेपालबाट आएका कल्चरल एक्सप्लोर नेपालका सॉस्कृतिक टोलीले विभिन्न नेपाली पोशाकमा सजिएर नाचगान गर्दै हिंडेका थिए। र्याली ग्राण्ड बेल्ला भिल्ला होटलसम्म पुगेको थियो। र्याली पश्चात औपचारिक कार्यक्रम र रात्रिभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

राजदूतावासमा विहान गरिएको कार्यक्रममा वरिष्ठ भिक्षु डा=अनिलमान शाक्यसहित सात जना भिक्षुहरुको उपस्थिति थियो। थाइल्याण्डमा रहेका विदेशी भिक्षुहरु मध्ये डा. शाक्य माथिल्लो दर्जामा हुनुहुन्छ। गत बर्ष उहाँलाई थाइ नरेशबाट “फ्रा शाक्यबंश विशुद्ध”को विशेष उपाधि प्रदान गरिएको थियो। फ्रा शाक्यबंश विशुद्धले प्रवचन दिंदै यो विशेष अवशरमा राजदूतावास प्राङ्गणमा गत बर्षदेखि यस्तो कार्यक्रम गर्ने गरिएकोमा धन्यवाद दिंदै यसको निरन्तरताको लागि अनुरोध गर्नु भयो। भगवान वुद्धका सन्देशहरु र यसको सान्दर्भिकता, आधुनिक दृष्टिकोण, वुद्ध जयन्तीको महत्वमाथि प्रकाश पार्नु भएको थियो।

साँझको कार्यक्रममा भिक्षुहरु, पत्रकारहरु, ट्राभल व्यवसायीहरु, कूटनीतिक कर्मचारी तथा परिवारका सदस्यहरु, थाइल्याण्डमा बसोवास गर्ने नेपाली तथा नेपालीमूलका व्यक्तिहरु सहभागी थिए। कार्यक्रममा बोल्दै नेपाली राजदूतावास, बैङ्ककका कार्यवाहक राजदूत डोरनाथ अर्यालले वुद्ध जयन्ती तथा INTERNATIONAL VESAK DAY को महत्वमाथि प्रकाश पार्नु भयो। उहँले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी दुई देशबीच असल सम्बन्धको एक महत्वपूर्ण प्रतिकको रुपमा रहेको बताउँदै भगवान बुद्धको शिक्षामा रहेका शान्ति, अहिंसा, सहनशीलता, मान्छेहरु बीचको समानता, एक अर्काको विचारको सम्मान आदि कुराहरु सबै र सधैको लागि सान्दर्भिक भएको कुरा बताउनु भयो। उहांले यी विषयहरुलाई संयुक्त राष्ट्रसंघको चार्टरमा समेत आत्मसात गरिएको कुरा बताउनु भयो।

राजदूतावासले गत बर्षदेखि बुद्ध जयन्ती तथा INTERNATIONAL VESAK DAY लाई नियमित पर्वको रुपमा मनाउन लागेको हो। गतबर्ष यस्तै खालको कार्यक्रम लुम्बिनी पार्कका गरिएको थियो। नेपाली राजदूतावासले गर्ने यस्ता आर्थिक कूटनीति सम्बन्धी कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सक्रिय सहयोग र सहभागिता हुने गरेको छ। यस्ता कार्यक्रम आयोजनाको लागि नियोग प्रमुखको अध्यक्षतामा एक आर्थिक कूटनीति सम्बन्धी स्थायी समिति गठन गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस