सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान। देशभर सफलताको साथ दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म नोभेम्बर रेनले दर्शकको साथ त पाइरहेको छ नै देशभरनै उत्साहजनक कलेक्सन समेत गरिरहेको छ।

यहि उत्साहको बिचमा फिल्मका निर्माता सुवास गिरी नायिका छुलठिम डोल्मा गुरुङलाइ लिएर पूर्वाञ्चल दौडाहामा निस्किएका छन्। निर्देशक दिनेश राउत पश्चिमको दौडाहा सकेर काठमाडौँ फर्कन साथ निर्माता र नायिका पूर्व आएका हुन्। दौडाहा अन्तर्गत शुक्रवार उनीहरुले धरानका दर्शकसंग बसेर फिल्म हेरे अनि सकारात्मक प्रतिक्रिया समेत बटुले।

धराने दर्शकले गणेश टाकिजमा फिल्मको टिमलाई भब्य स्वागत समेत गरेका थिए। बिशेषतः फिल्ममा डल्लीको भूमिकामा प्रस्तुत भएकी छुलठिमलाई डल्ली रक्स भनेर दर्शकले हूटिंग समेत गर्न भ्याए।  त्यसो  त फिल्मको ६० प्रतिशत छायांकन समेत धरानमै गरिएको छ र फिल्मले धरानमा व्यापार पनि उत्साहजनक गरिरहेको छ। धराने युवतीको रोलमा प्रस्तुत  भएकी छुलठिम दर्शक माझ आकर्षणको केन्द्र बिन्दु बनेकी थिइन।

टिभीको बूम समातेर आफै प्रतिक्रिया लिएकी छुलठिमसंग फोटो खिच्ने र अटोग्राफ लिनेको भिड हलमा जम्मा भएको थियो। फिल्ममा धराने बोलचाल र भेषभूषामा प्रस्तुत भएर उत्कृष्ट अभिनय गरेकोमा दर्शकले उनलाई बधाई दिएका थिए। यी सबै कुरा नियालिरहेका निर्माता सुवास गिरी  पनि हर्षित देखिन्थे। छायांकन ताकाबाटै धरानका दर्शकले माया र सहयोग गरेको बताउदै अहिले रिलिजमा समेत उस्तै सदभाव देखाएको उनले बताए।

पूर्व दौडाहा अन्तर्गत शनिवार दमकको दमक चित्र मन्दिर र निलकण्ठ चित्र मन्दिरमा फिल्मको प्रोमोसन गरिने छ भने बुधबार बिर्तामोडको कृष्ण टाकिजमा गएर दर्शकसंग फिल्म हेर्ने कार्यक्रम तय गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस