अनुशील / एचकेनेपाल डट कम –
काठमाडौं, २६ बैशाख। रंगकर्ममा सक्रिय इलम दिक्षितको डेव्यु चलचित्र रेड मनसुन शुक्रबारबाट राजधानीका मल्टिप्लेक्स हलबाट सार्वजनिक भएको छ।

चलचित्र, सिरीयलमा अभिनय तथा नाटक निर्देशन गर्दै आएका इलम दिक्षितले निर्देशन गरेको रेड मनसुन इलमको डेव्यु चलचित्र हो। काठमाडौं उपत्यकाको समाज भित्रका विद्यमान नयाँ नेपाली पुस्ताको संघर्षशील पात्रहरुको बास्तविक कथा बोकेको यो चलचित्रलाई दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको निर्देशक दिक्षितले बताउछन्। उनी भन्छन्, “चलचित्रमा हाम्रै वरिपरिको वास्तविक कथा भएकाले दर्शकले मेरो कामलाई मन पराउनु हुनेछ भन्नेमा विश्वस्त छु।”

निर्देशक इलम दिक्षित

४ वर्ष अघि अमेरिकोको न्युओर्क स्थित सारा लरेन्स कलेजबाट अभिनय तथा निर्देशनमा स्नातक गरेका उनको यो चलचित्रले हामी को हौ भन्ने कुरा प्रष्टाउने उनी बताउछन्। आफ्नो फिल्मले सबै खाले दर्शकलाई लक्षित गरेको बताउछन् उनी। “अधिकांशले योे फिल्म निश्चित वर्गका दर्शकले मात्रै मन पराउने भन्छन्,” उनी भन्छन्, “यसमा मैले मानवीय संवेदनाहरु पस्केको छु, मानवीय संवेदनाले संसारका जस्तोसुकै पृष्ठभूमिका दर्शकलाई छुन्छ।” करुणा शर्माको शरण शीर्षकको छोटो कथालाई चलचित्रमा रुपान्तरण गरी दिक्षितले फिल्म बनाएका हुन्।

कोष्टारिकामा सम्पन्न सानजुआन फिल्म फेस्टिभल (२०१३), मुम्बई फिल्म फेस्टिभल (२०१३) अहिले काठमाडौं ईन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (२०१३) मा प्रर्दशन भइसकेको रेड मनसुन पपकर्न पिक्चरले वितरणको जिम्मा लिएको छ। २०१० देखि र २०१२ सम्म दिक्षितले ओथेल्लो, अ भिउफ्रम द ब्रिज, द ग्लास मनेजरी, एक्जिट द किङ, अ स्ट्रिटकार नेम्ड डिजायर जस्ता नाटकहरुमा निर्देशन र अभिनय समेत गरे पछि उनले यो चलचित्रमार्फत निर्देशनमा आएका हुन्।

बलिउडकी लोकप्रिय चलचित्र अभिनेत्री नन्दिता दासले मुम्बई फिल्म फेस्टिभलमा रेड मनसुन हेरेपछि यसले काठमाडौंको समकालीन समाजमाथि प्रकाश पारेको बताउदै दक्षिण एशियाली सिनेमामा शुरु भएको परिवर्तनको बहसलाई थप बल प्रदान गरेको बताएकी थिइन्। उनले भनेकी थिइन् “चलचित्रले समाजमा विद्यमान शक्ति र सम्बन्धहरुको देखाउनै पर्ने कथा प्रस्तुत गरेको छ जहाँ पुराना अनिश्चितताहरु बिलाएर जान्छन्।”

यो चलचित्रमा अमेरिकाको क्यालीफोर्नीयामा मानवशास्त्रमा स्नाकोत्तर गरिरहेकी हिमाली दिक्षित, कलाकार संन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सीके लगायतका कलाकारको अभिनय रहेको छ। अमेरिकाको म्यासाच्युसेट्सको साउथ हेड्लीस्थित माउण्ट होलियो कलेजमा अर्थशास्त्रमा स्नातक गरिरहेकी सृष्टि घिमिरे नायिकाको रुपमा छिन्। चलचित्रमा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको समेत अभिनय रहेको छ। अजय उपाध्याय र रुथ मोई निर्माता तथा अमेरिकी चलचित्रकर्मी डग्लस म्याकहुग क्रियटिभ प्रोड्युसरको रुपमा छन्।

करुणा शर्माको कथा, निर्देशक स्वयंमको पटकथा संवाद र सम्पादन रहेको छ। सराह लरेन्स कलेज न्युयोर्कका चलचित्र लेखन, निर्माण, मिडीया आर्ट कार्यक्रमका प्राविधिक निर्देशक तथा अमेरिकी चलचित्रकर्मी ब्रायन एमेरीको सिनेमाटोग्राफी रहेको छ। संगीतका अध्येता लोचन रिजालको संगीत रहेको यो चलचित्रमा तीनचार सय वर्षअघि सारंगीसंगै बज्ने गरेको आरबाजालाई यसमा ब्यूँताएका छन्। फिल्मको रङलाई पक्रेर आफूले संगीत तयार पारेको बताउने उनी भन्छन्, “४० बर्षपछि फर्केर हेर्दा पनि धेरैले यसलाई एउटा उपलब्धिमूलक फिल्म मान्नेछन्।”

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस