देवराज राई / एचकेनेपाल डट कम –
विश्व काव्य यात्रामा निस्कनु भएका कवि एवं गीतकार बसन्तकुमार चौधरी २०१४ मे ४ तारिखका दिन हङकङमा प्रस्तुत हुनुभयो। नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वमा रहेका नेपालीहरुमाझ पुर्याउने उद्देश्यसहित अगष्ट १२, २०१२ सालदेखि अमेरिकाबाट प्रारम्भ भएको काव्य यात्राको हङकङ संस्करण भव्यरुपमा सम्पन्न भएको छ।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हङकङको पाकिस्तानी क्लवमा आकर्षक साजसज्जासहित एक भव्य स्टेजमा आफ्ना देशभक्ति कविताहरु र प्रेम भावना समेटिएका २ दर्जन कविताहरु, मूक्तकहरु ४५ मिनेट समयावधिमा उत्कृष्ट वाचनशैलीमा आफ्ना रचनाहरु सुनाउनु भयो। बसन्त चौधरीको विश्व काव्य यात्रामा हङकङमा रहेका कवि–कवियत्रीहरु, लेखक–साहित्यकार र समाजका अगुवा अभियन्ताहरु उपस्थित थिए। हङकङ नेपलीज फाउण्डशेनको आयोजनामा र मिसन टु हेल्पको सहयोगमा काव्ययात्रा हङकङ सम्पन्न भएको हो।

कार्यक्रममा कवि गीतकार चौधरीका कविताहरुको ई बुक “मेरा कविताहरु“ हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेको बाहुलीबाट विमोचन गरिएको थियो। हङकङ नेपलीज फाउण्डेशनका अध्यक्ष किसन राईले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो। युकेमा रहनु भएकी कवियत्री लारा, मिसन टु हेल्प प्रेसीडेन्ट बबी लामा, चलचत्रि निर्देशक सीजी इन्टरटेनमेन्टका निर्देशक राजेन्द शलभ हङकङ संस्करणमा सहभागी हुनुभएको थियो।

काव्य यात्राको क्रममा कविहरु टंक साम्बाहाम्फे, नरेश सुनुवार, दीपा एवाई राई, हाङयुग अज्ञात, लालबहादुर गुरुङले आफ्ना कविताहरु सुनाउनु भएको थियो। कार्यक्रममा कवि गीतकार चौधरीलाई हङकङेली नेपालीहरुको तर्फबाट किसन राई, टंक साम्बाहाम्फे, हाङयुग अज्ञात, टीकाज्योति गुरुङ, जेएन ज्ञवाली, कमल पौड्याल, अमोद राई, नन्दलाल थोकर लगायतका व्यक्तिहरुले खादा ओडाई सम्मान व्यक्त गर्नु भएको थियो।

कवि चौधरीले यसअघि अमेरिकाको विभिन्न राज्यहरुमा, बेलायत, दुबई, भारतको सिक्किमलगायतका स्थानहरुमा काव्य यात्रा पूरा गरिसक्नु भएको छ। यसै वर्षको अन्तसम्ममा विश्वका २० शहरहरुमा काव्य यात्रा सम्पन्न गरिने लक्ष्य लिइएको छ। नेपाली भाषा,साहित्य,संस्कृति कला प्रवर्द्धन सम्बन्धि प्रचार गर्ने अभियान रहेको कवि चौधरी रहनु भएको छ। हङकङपछि नेपालका विभिन्न शहरहरु एवं युरोपका विभिन्न देशहरुमा काव्य यात्रा तय भइसकेको जानकारी दिनु भएको छ। हङकङमा आयोजना भएको कार्यक्रममा कवियत्री लाराले बसन्त चौधरीको असल कार्यबारे प्रकाश पार्नु भएको थियो। कार्यक्रमको संचालन देवराज राई र धन्यवाद ज्ञापन शैलेन्द्र बोगटीले गर्नु भएको थियो।

थप तस्वीरहरू

हङकङका नेपाली विद्यार्थीहरुसँग कवि बसन्त चौधरी
“नेपाली भाषा, साहित्य, संस्कृतिलाई लाई विश्व सामू पुर्याउनु पर्छ। संसारको जुनसुकै ठाउँमा रहेपनि आफ्नो हृदयको कुनामा नेपाललाई सजाउनु पर्छ। नेपाल नबिर्सौ, नेपाली भाषालाई नबिर्सौ।“ कवि गीतकार बसन्त चौधरीले हङकङमा रहेका नेपाली विधार्थीहरुलाई सम्बोधन गर्दै भन्नु भयो।

काव्य यात्राको भोलिपल्ट मे ५ तारिखका दिन नेपाली विद्यार्थीहरु अध्ययन गर्ने हङकङको पब्लिक स्कुल पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलका सिनियर विद्यार्थीहरुमाझ बालबालिकाहरुका लागि लेख्नु भएको आफ्नो कविता सुनाउनु भयो। उहाँले बालबालिकाहरुको कविता सुन्नु भयो र नानीहरुको प्रश्नको उत्तर दिनु भएको थियो।

कवि चौधरीले विद्यालयमा नेपाली भाषा विकासका लागि पुस्तकालायमा पुस्तक प्रदान गर्नु भयो। नेपाल गएर विद्यार्थीहरुका लागि र आवश्यक राम्रा पुस्तकहरु थप पठाइदिने वचन पनि दिनु भएको थियो। विद्यालयको भ्रमणको क्रममा विधार्थीहरुको नेपाली भाषा मोह देखेर कवि चौधरीले विद्यालयमा नेपाली पुस्तकालयका लागि नगद सहयोग समेत गर्नु भएको थियो। सहयोगका लागि विद्यालयकी प्रधानध्यापिका आइरीना युनसान लाईले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

उहाँले विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरुलाई आग्रह गर्दै भन्नु भयो – “म नानीहरुमा नेपाली भाषालाई जोगाइ राख्न जस्तो सुकै सहयोग गर्न तयार रहेको छु। नेपाली नानीहरुलाई राम्ररी शिक्षा प्रदान गर्न र भविष्यमा नेपाल फर्केर देशलाई सहयोग गर्न सक्ने असल शिक्षा प्रदान गर्नुहोस्।“ उहाँले विभिन्न कक्षाका विद्यार्थीहरुलाई नेपाल र नेपाली भाषालाई माया गर्नु पर्छ भन्ने ज्ञान दिनु भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस