निश्चल काउचा /एचकेनेपाल डट कम –
सउल कोरिया, कोरियाको राजधानी सउलमा काठमाडौं–हेटौडा सुरुङमार्गको संस्थापक शेयर लिने सम्बन्धि बृहत सेमिनार सम्पन्न भएको छ।

सेमिनारमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशी, टिबीआई होल्डिङ्सका अध्यक्ष भवन भट्ट कोरियाका लागि नेपाली राजदूत कमानसिह लामालगायत बिद्यार्थी, पत्रकार, व्यवसायी र अन्य पेशाकर्मीहरुको बृहत उपस्थिति रहेको थियो।

यो सुरुङगमार्गलाई निकै महत्वकांक्षाका साथ हेरिएको छ। यो परियोजना सम्पन्न भएमा नेपालको आर्थिक बिकासमा ठूलो कायापलट हुने अपेक्षा गरिएको छ। २०१६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यसाथ द्रुत गतिमा काम भईरहेको यो परियोजना सम्पन्न गर्न ३५ अर्ब नेपाली रुपैयाँ लागत लाग्ने छ। ५८ किलोमिटर लामो यो सुरुङ मार्ग ४ लेनको हुनेछ। यो द्रुतमार्ग सकिएपछि काठमाडौंबाट हेटौंडा एक घण्टाभन्दा कम समयमा पुग्न सकिनेछ। यो सडकबाट आवतजावत गर्नेसँग यात्रा दूरी घट्दा बचत हुने जम्मा इन्धनको एकतिहाइ रकम शुल्कका रूपमा उठाइने छ। यो परियोजना ३० वर्षसम्म नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ। समयमै यो परियोजना सम्पन्न भएमा सरकारले बोनस स्वरुप ५ वर्ष थपिदिने सम्झौता समेत भएको छ। त्यसपछि स्वतः यो द्रुतमार्ग सरकारलाई हस्तान्तरण गरिने छ।

कार्यक्रममा आफ्नो भनाईहरु राख्ने क्रममा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशीले नेपाल नेपालीले बनाउने हो। अरु कोही आएर बनाई दिने छैन। आउनुहोस् हामीसंग हातमा हात मिलाएर देश निर्माणको बाटोमा हामी चाहन्छौ यो परियोजनामा सबै नेपालीको स्वामित्व होस्। अहिले विदेशबाट मासिक ४० अर्ब रेमिट्यान्स देश भित्रिने गर्छ तर त्यो पैसा कहाँ गईरहेको छ? प्रश्न गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। त्यसै गरि जापानमा बसेर सफल व्यवसाय गरिरहेका टीबीआई होल्डिंसका अध्यक्ष भवन भट्टले हामीले विदेश १७ / १८ घण्टासम्म मेहनत गर्छौ। दु:ख गरेर आर्जन गरेको पैसाको केही अंश देश निर्माणको पवित्र कार्यमा लगानी गर्न आग्रह गर्दै यदि आज हामीले देश निर्माणको कार्यमा लगानी गरे भोलिका हाम्रा सन्ततिले समुन्नत नेपाल देख्न पाउने छन् भन्दै एन.आर.एनहरु देश निर्माणको कार्यमा लगानी गर्न सधै तप्पर रहेको पनि बताए। काठमाडौ-हेटौंडा सुरुङ मार्ग निर्माणको अगुवाइ गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसंग टीबीआई होल्डिंस जापानले एक अर्ब रुपैयाँबराबरको सेयर केहि समय अघि खरिद गरेको थियो। सोही क्रममा नेपाली राजदूत कमानसिह लामाले कोरियाको उदाहरण दिदै हिजोको दिनमा कोरियनहरु पनि अरुको देशमा काम गर्न जाने गर्थे उनीहरुले बाहिर गएर कमाएको सिप र पैसा आफ्नै देशमा लगानी गरे अहिले हिजोको अरुले माग्ने कोरिया आज अरुलाई दिने भएको छ। हामीले कोरियाबाट पाठ सिक्नु पर्छ भन्दै कोरियाबाट बार्षिक ३१ अर्ब रेमिट्यान्स पठाउछौं उक्त रकम हामीले घर घडेरी खरिद गर्न र विलासिताको सामान खरिद गर्न खर्चिने गरेको भन्दै उनले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिदै नेपाल सरकारले झिगाको बोसो झिक्ने तर बगुरको बोसो फाल्ने गरेको ब्यङ्ग गरे।

कार्यक्रम सरोज खडकाले संचालन गरेको थिए। सोही अवसरमा सेयर खरिद गर्न फारम भर्ने ब्यबस्था पनि गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस