दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा १३ वैशाख। रेडियो अन्नपूर्ण पोखराले आप्नो १४ औं बार्षिकोत्सवको अवसरमा जनकविकेशरी धर्मराज थापासहित अन्य श्रष्टाहरु सम्मानित भएकाछन्।
पोखरामा शुक्रवार आयोजित कार्यक्रममा ‘पोखरा रत्न—२०७०’ बाट जनकवि केसरी धर्मराज थापा सम्मानित हुनुभएको हो। सम्मानित थापा अस्वस्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेकाले उहाँका माइला छोरा कुञ्जराज थापा मार्फत थापालाई प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका मुख्य न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले ताम्रपत्र, दोसल्लाबाट सम्मान गरिएको थियो।

नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा उल्लेनीय योगदान पुर्याएको भन्दै रेडियो सम्मान गरेको हो। उहाँले गन्धर्व र सारङ्गीलाई विश्वभर चिनाउनु भएको थियो। जीवनको उत्तरार्धमा पुग्नु भएका जनकवि केशरी थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन्। पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मिनु भएका थापा अहिले पक्षघातबाट पीडित भएर काठमाडौस्थित आफ्नै घरमा आराम गरिरहनु भएको छ।

सम्मानित व्यक्तित्वको चर्चा गर्नुहुदै पोखरा रत्न २०७० छनौट समितिका सदस्य वरिष्ट सँस्कृतिकर्मी तिर्थ श्रेष्ठले जनकविकेशरी धर्मराज थापालाई छनौट गर्न पाउदा समिति नै सम्मानित भएको बताउनुभयो। पोखरा र यस क्षेत्रको साँस्कृतिक, सामाजिक, आर्थिक क्षेत्रमा थापाले गर्नुभएको योगदानको उचित सम्मान हुन नसकेको गुनासो गर्नुभयो। यस क्षेत्रमा अतुलनीय योगदान गर्ने श्रष्टालाई रेडियो अन्नपुर्णले सम्मान गर्न शुरुवात गरेकोमा खुशी व्यक्त गर्नुभयो।

पोखरा रत्न २०७० छनौटका लागि रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्वमा गठित ५ सदस्यीय छनोट समितिमा संस्कृतिविद तिर्थ श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइराला र रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ रहनुभएको थियो।

बार्षिकोत्सव समारोहमा आष्र्टिष्ट अफ दी इयर आशिष राना ‘लाहुरे’,एल्बम अफ दी इयर गीतकार शिव शर्मा चञ्चलको विगत, ब्याण्ड अफ दी इयर डीमोर्चा, अन्नपुर्ण संगीत प्रतिभा सम्मानबाट पोखरेली संगीतकार बसन्त सापकोटा सम्मानित हुनु भयो। सम्मानितहरुलाई प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका मुख्य न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र रेडियो अन्नपुर्णका प्रवन्ध निर्देशक सुनयना पालिखेले सम्मान गर्नुभएको थियो।

यसरी नै रेडियो अन्नपुर्णका प्राविधीक प्रमुख रविभुषण पराजुली बेष्ट अफ दी इयर र वरिष्ट प्रस्तोता कविता श्रेष्ठ कोअर्डिनेटर अफ दी इयर घोषित हुनुभयो। पराजुलीलाई १० हजार रुपैया, सम्मानपत्र, दोसल्ला र श्रेष्ठलाई नगद ३ हजार,सम्मानपत्रसहित रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखे, संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, निर्देशक शुशील कुमार लामाले सम्मान गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका मुख्य न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले विधिको शासन, मानवअधिकार सुनिश्चित गर्न सञ्चार माध्यमहरुले भुमिका महत्वपूर्ण भएको बताउनुभयो। बार्षिकोत्सवमा रेडियो अन्नपुर्णले विशिष्ट व्यक्तित्व जनकविकेशरी धर्मराज थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा पोखरा रत्न २०७० बाट सम्मानित जनकविकेशी धर्मराज थापाका माईला छोरा कुञ्जराज थापाले खुशी व्यक्त गर्नुहुदै आफ्नो बुबाको बारेमा बार्षिकोत्सवमा तीर्थ श्रेष्ठले चर्चा गर्दा बुबाको बारेमा आफूलाई धेरै कुरा जानकारी नभएको महसुस भएको बताउनुुभयो। उहाँले बुबाको कृतिहरु कालजयी छ भन्नुहुदै त्यसको अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो। नवरत्नको औठी लाउने धोको भएको कुञ्जराज थापाले आफ्ना बुबाले रेडियो अन्नपुर्णबाट पोखरा रत्न पाउँदा आफूले पनि केही अंश प्राप्त गरेको अनुभूति भएको बताउनुभयो। कार्यक्रममा उहाँले बुबा धर्मराज थापाको शुभकामना पढेर सुनाउनुभएको थियो।

अन्नपुर्ण संगीत प्रतिभा सम्मानबाट सम्मानित पोखरेली संगीतकार बसन्त सापकोटाले अझै राम्रा राम्रा सिर्जना पस्कन सकौं उर्जा र लोक संगीतको उर्बरभूमि गण्डकी क्षेत्रलाई उत्कृष्ठ स्वाद प्रदान गर्ने प्रेरणा प्राप्त भएको बताउनुभयो। उहाँले सागर सरी चोखो माया बोलको गीतले काठमाडौंमा चर्चामा ल्याएको बताउनुभयो। कार्यक्रममा सागर सरी चोखो माया र यी आँखामा तिमी छौं यो मनमा तिमी छौं गीत गाउनुहुदै मनोरञ्जन दिलाउनुभएको थियो।

प्रेस काउन्सिलका सदस्य माधव शर्माले रेडियो अन्नपुर्णलाई शुभकामना र सम्मानितहरुलाई बधाई दिनुहुदै राजनीितिक दलहरुलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बुढा र अग्रजलाई राजनीतिक दलहरुले सम्मान गर्नुपर्ने आग्रह गर्नुहुदै सञ्चार माध्यमहरुले अनुदानको आसा गरेर होइन रेडियो अन्नपुर्णले झै आफै अग्रसर भई काम गर्नुपर्ने बताउनुभयो।

एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले सञ्चार माध्यमको महत्वको चर्चा गर्नुहुदै युद्धदेखि शान्ति, विकासदेखि व्यापारसम्म सञ्चारको महत्व रहेको बताउनुभयो। युद्धकालमै रेडियो अन्नपुर्णसँग सम्बन्ध जोडिएको बताउनुहुदै अन्नपुर्णको सकरात्मक चेतना प्रसारण गर्ने अभियानको निरन्तरताको कामना गर्नुभयो।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले शुभकामना व्यक्त गर्नुहुदै समय सापेक्ष मुलुकको तत्कालिन आवाश्यकतालाई रेडियोले स्थान दिनुपर्ने बताउनुभयो। संविधान निर्माण, पोखरामा अन्र्तराष्टिय विमानस्थल जस्ता महत्वका विषयमा सकारात्मक कार्यका लागि रेडियोले भूमिका खेल्नुपर्ने पूर्वमेयर समेत रहनु भएका थापाको भनाई थियो।

बानका क्षेत्रीय उपाध्यक्ष रमेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै छापा र विधुतिय सञ्चार माध्यमलाई एकै दर्जामा राख्नुपर्ने बताउनुभयो। सूचनामा क्रान्ति रेडियोबाट आएको दाबी गर्नुहुदै पौडेलले रक्सी उद्योगलाई विद्युत प्रति युनिट ५ रुपैया र रेडियोलाई भने १० रुपैया लगाएर सञ्चार संस्थामाथि भार थपेको बताउनुभयो। रेडियो बाराहीको प्रवन्ध निर्देशक समेत रहनु भएको पौडेलले सेती बाढी पीडितका लागि रेडियो अन्नपुर्णले राहत वितरण गरेकोमा खुलेर प्रसंशा गर्नुहुदै अन्नपुर्णको शुभकामना व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले नेपालका हरेक परिवर्तनको संवाहक बनेको रेडियोहरु अब आर्थिक क्रान्तिको संवाहक बन्नुपर्ने शुभेच्छा कामना गर्नुभयो। उहाँले नाफामुखी वित्तिय संस्थाहरु मर्ज गरिदै लगिएको अवस्थामा रेडियो सञ्चालकहरुले घाटाको व्यापार गर्नु भन्दा सञ्चार संस्थाहरुले पनि मर्ज गरी बलियो सञ्चार माध्यम बनाउन छलफल शुरु गर्नुपर्ने सुझाव दिनुभयो।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य दुर्गा भण्डारी नेपालको भौगोलिकताका अनुसार रेडियो र टेलिभिजन उपयुक्त सञ्चार माध्यम भएको बताउनुहुदै रेडियो अन्नपुर्णले सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको बताउनुभयो।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सञ्चार माध्यमको दायित्व भन्दा माथि उठेर रेडियो अन्नपुर्णले सामाजिक क्षेत्रमा योगदान प्रशंसा गर्नुभयो। उहाँले सेती बाढी पीडितलाई राहत, यस क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मानले सामाजिक क्षेत्रमा क्रियाशील रहन रेडियो अन्नपुर्णले प्रेरित गरेको बताउनुभयो।

कार्यक्रममा सम्मानित डिमोर्चा ब्याण्डका भाष्करधोज श्रेष्ठले जनकविकेशरी, पोखरा रत्न २०७० बाट सम्मानित धर्मराज थापाको सम्मानमा हो हो तारे हो हो, हो हो माले हो हो गीत गाउनुभएको थियो। कार्यक्रममा कास्कीका विभिन्न संघ संस्था, क्षेत्र, बर्ग, समुदायको बृहत उपस्थिती रहेको थियो।

रेडियो अन्नपुर्ण २०५८ साल बैशाख १२ गतेबाट पोखरा गैह्रापाटनबाट प्रसारण शुरु गरेको थियो। वार्षिकोत्सव रेडियो अन्नपुर्णका अध्यक्ष शिवलाल मल्लको अध्यक्षता, प्रवन्ध निर्देशक सुनयना पालिखेले स्वागत र प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

तस्बिर सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस