घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम-
दोहा, बैदेशिक रोजगारको शिलशिलामा १ बर्षअघि कतार आएका कास्की जिल्ला चाउथेका ३८ बर्षीय बिर बहादुर थापाको सुतिरहेको अवस्थामा आफ्नै कोठामा सोमवार ज्यान गएको छ।

फाइल फोटोः बिर बहादुर थापामृतकको शवलाई सोही दिन हमद हस्पिटल पुर्याईएको थियो। उनको हृदयघातबाट मृत्यु भएको हमद हस्पिटलले जनाएको छ।

आईतबार राति काम गरेर उनी साथीभाईसँगै सुतेका थिए। सोमबार बिहान काममा जानका लागि साथीहरुले उठाउन खोज्दा केही नबोलेपछि बिहान ३.३० बजे एम्बुलेन्स बोलाईएको थियो। डाक्टरले २ घण्टा अगाडि नै ज्यान गैसकेको जानकारी दिएको थापासँगै काम गर्ने चितवनका बाबुराम चौधरीले बताए। बेलुकासँगै खाना खाएर बिहान समयमै उठाउने आग्रह गरेका थापाको मृत्युले छागाँबाट खसेको जस्तै भयो उनले भने।

मृतकका श्रीमती,२ छोरा र १ छोरी छन्। भर्खर ८ महिनाको तेश्रो सन्तानको मुखसम्म हेर्न नपाएका थापाको निधनले उनीसँगै काम गर्ने साथीहरु अझै पनि झस्कि रहेका छन्। थापा अल एवल कम्पनीको चालकमा कार्यरत थिए।

शव नेपाल पठाउनका लागि प्रक्रिया अघि बढिसकेको छ। कतारस्थित नेपाली दूतावासको पहलमा शवलाई बुधवार सम्ममा नेपाल पठाईने मृतकका आफन्त प्रकाश श्रेष्ठले बताए। सहयोगका लागि कास्की आर्दश सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङलाई पनि जानकारी गराईसकिएको छ।

कतारमा सुतिरहेको अवस्थामा निधन हुनुलाई साधारण हृदयघातबाट मृत्यु भएको भन्ने गरिन्छ। बर्षेनी अधिकांश नेपालीहरुको सुतिरहेकै अवस्थामा निधन हुने गर्छन्। कतारमा दुर्घटना र आकस्मिक निधन बार्षिक सरदर १ सय ७० देखि २ सय २५ जना रहेको पाईन्छ। रोजगारीका लागि कतारमा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस