सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम –
बेलायत। वर्ष २०१४ को बहु प्रतिक्षित नेपाली फिल्म ‘हँसिया’ को वेलायतको अल्डर्सटस्थित प्र्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ। प्रिमियरमा सहभागी हुन अभिनेता राजेश हमाल वेलायत आएका थिए। प्रिमियरमा हमाल नै मुख्य आकर्षणको केन्द् बने।

एनआरएन यूकेको महिला अध्यक्ष शान्ति थापाको अध्यक्षता रहेको सो प्रिमियर शोमा अभिनेता तथा विमान चालक विजय लामा, विल्सन विक्रम राई, अभिनेता ध्रुब दत्तलगायत करीव ३०० नेपालीहरुको उपस्थिति रहेको थियो।

फिल्म सुरुवात अगाडी सञ्चारकर्मी सरोज केसी र लक्ष्मी थापा राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले हँसिया छायांकन गर्दाको अनुभव सुनाउनुका साथै निर्देशक मिलन चाम्सको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए। साथ साथै उनले नायिका हेमाको कामको पनि प्रसंशा गरे।

निर्देशक चाम्सले नेपाली फिल्मलाई माया गरिदिनको साथै फिल्ममा भएको कमी कमजोरीलाई औंलाई दिन अनुरोध गरे। निर्देशक चाम्सले आफ्नो पक्षबाट गर्ने काम, आफ्नो जिम्मेवारी आफूले पूरा गरेको अब पालो दर्शकहरुको रहेको प्रतिक्रिया दिंदै ‘हँसिया‘को एक्सन दर्शकहरुले मन नपराउनु भएमा आफूले एक्सन फिल्म निर्देशन गर्ने नगर्ने भन्ने बिषयमा निर्णय गर्ने बताए। फिल्म हेरेपछि सन्तुष्ट भएर सकारात्मक प्रतिक्रिया आउनेमा उनी ढुक्क छन्।

हँसियामा राजेश हमालको साथै हेमा श्रेष्ठ, अनुप विक्रम शाही, विशाल ढुङगाना, आलोक कार्कीलगायतको मुख्य भूमिका रहेको छ। फिल्मको एक आइटम गीतमा नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ। चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म हँसियालाई दुर्गा घलेले निर्माण गरेकी हुन्।

”हँसिया” हेरे पश्चात रेड कार्पेट प्रिमियरमा दर्शकहरुले डेव्यू निर्देशक मिलन चाम्सको काम र फिल्मको राम्रो प्रतिक्रिया दिए। बिशेष गरी हेमा श्रेष्ठको एक्सनलाई रुचाईएको पाईयो। डायस्पोरादेखि स्वदेशमा समेत छुट्टै हाइप सिर्जना गर्दै गरेको यस फिल्मले नेपालमा कस्तो प्रतिक्रिया पाउंछ? त्यसको लागि भने जेठ ९ गतेसम्म कुर्नै पर्ने हुन्छ। त्यस्तै बेलायतकै विभिन्न स्थानमा यो साता महानायकको उपस्थितिमा बिशेष शो समेत आयोजना गरिन लागेको छ। ”हँसिया” रिलिजअघि हङकङ र नेपालमा समेत बिशेष शो आयोजना गर्ने तयारी गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस