एचकेनेपाल डट कम संवाददाता-
बैंकक, सुन्दर सपना बोकेर विदेश गएका नेपालीहरु विभिन्न अपराधमा जेल जीवन बिताउन वाध्य छन्। कोही अपराधमा कोही परिबन्दमा परेर। यसरी जेल परेका नेपालीहरु थाइल्याण्डमा पनि छन्।

थाईल्याण्डको जेलमा रहेका नेपालीहरुलाई नेपाली दूताबास र गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्ड संयुक्त टोलीले गत शुक्रबार भेटेर उनीहरुको अवस्था बारेमा जानकारी लिएको छ। भ्रमण टोलीमा थाईल्याण्डका लागि कार्यबाहक राजदूत डोरनाथ अर्याल र एनआरएनए थाईल्याण्डका अध्यक्ष खगेन्द्र राज ढकाल थिए।


केन्द्रिय महिला जेलका निर्देशक सिरिपककन चुटिगुलाङ्ग र नेपाली भ्रमण टोली।

भेटका क्रममा कैदीहरुले आफूहरुलाई नेपाल पठाई बाँकी सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन एनआरएनएलाई आग्रह गरेका थिए। त्यसै गरी, रोयल पार्डनको लागि दूताबासमार्फत पहल गरिदिन पनि नेपाली कैदीहरुले आग्रह गरेका थिए। उनीहरुको दैनिक जीवन भाषा नबुझेर अत्यन्त कठिन भएको गुनासो धेरै कैदीहरुको थियो।

थाई सरकारले विभिन्न २४ राष्ट्रहरुसंग कैदीहरु संबन्धित देशमा हस्तान्तरण हुने सन्धि गरेपनि नेपालसंग भने अहिलेसम्म त्यो सम्बन्ध कायम हुन नसक्दा कैदीहरु थाईल्याण्डकै जेलमा जीवन बिताउन बाध्य छन्। यो सन्धि गर्नु अत्यावश्यक भएको भन्दै नेपाल सरकारले यथासिघ्र यसमा पहल गर्नुपर्ने अध्यक्ष ढकाल बताउंछन्। ढकालले यसका लागि आवश्यक आवाज उठाउने कैदीहरुलाई आश्वसन दिएका छन्।

ढकालले केन्द्रीय महिला जेलको निर्देशक सिरिपककन चुटिगूलाङ्गसंग भेट गरी नेपालीहरुलाई भाषाको कठिनाईलगायतका समस्या रहेको भन्दै आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए। नेपाली सघसंस्थाहरुको तर्फबाट थाईल्याण्डस्थित नेपाली कैदीहरुलाई भेट्ने अनुमति मिलेको यो पहिलो पटक हो। उक्त टोलीले नेपाली क्यालेन्डर, नेपाली अंग्रेजी डिक्सनरी, केहि ज्ञानवर्धक नेपाली पुस्तकहरु र नेपालीमा उल्था गरिएको जेल निर्देशिका हस्तान्तरण गरेको थियो।

टोलीले बांग क्वांग केन्द्रिय जेल र केन्द्रिय महिला जेलमा रहेका नेपालीहरुलाई भेटेको हो। बांग क्वांग केन्द्रिय जेलमा २१ पुरुष र केन्द्रिय महिला जेलमा ९ महिला नेपाली कैदीहरु छन्। थाइल्याण्डमा जम्मा ७० नेपाली कैदीहरु छन्। उनीहरु बोम्बाट जेल, क्लोंग प्रेम जेल र च्यान्ग्राई जेलमा छन्।। थाई सरकारले अपराधको प्रकृति हेरी कैदीहरुलाई विभिन्न ५ जेलमा राख्ने गरेको छ।

अधिकांश नेपाली कैदीहरु लागु पदार्थ ओसारपसार सम्बन्धी अपराधमा दोषी भेटिएपछि आजीबन काराबास भोगिरहेका छन्। केहीले किंग पार्डन पाएर आफ्नो कराबासलाई छोटयाउन सफल भएका छन। ढकालका अनुसार एनआरएनए थाईल्याण्डले राजदूताबाससंग समन्वय गरी कैदीहरुलाई बर्षमा ३ पटक भेट्ने कार्यतालिका तय गरेको छ।

अशिक्षित युवाहरुलाई लागु पदार्थ ओसारपसारमा ठूला माफियाहरुले प्रयोग गरेको हुन सक्ने अध्यक्ष ढकाल बताउंछन्। कैदीहरूमा अधिकांश तामांग, गुरुङ र अन्य जनजातिका छन्। ढकाल भन्छन् सोझा जनजातिहरुलाई यस्ता अपराधमा संलग्न गराउन माफियाहरु सफल भएको देखिन्छ। उनले जनजातिसंग सरोकार राख्ने संस्थाहरुले चेतनामूलक कार्यक्रम गर्नुपर्ने र नेपाल सरकारले पनि यस्ता जोखिममा पर्ने समुदायलाई लक्षित गरि कार्यक्रम ल्याउनुपर्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस