एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ वैशाख। नइ प्रकाशनले चार जना महानुभावहरूलाई २०७१ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितलाई एक लाख रुपियाँ राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिने भएको छ। त्यसैगरी साहित्यकार तथा गायिका श्री चन्द्रकला नेवारलाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

आमसञ्चार विज्ञ डा.मञ्जु मिश्रलाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ। चलचित्रकर्मी तथा सङ्गीतकार विशेषदेव पाण्डे (क्रोनिक बिट) लाई पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। यी पुरस्कारहरू आगामी जेठ १ गते काठमाडौंमा प्रदान गरिने छन्।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार प्रकाशनले ११ लाख रूपियाँ राशिसहित छब्बीसवटा पुरस्कारहरू हरेक वर्ष तीन चरणमा प्रदान गर्दै आएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस