बिएफबिएस रेडियोले सर्भिस साउन्ड भिजन कोअपरेशन (एसएसभिसी) च्यारिटी मार्फत् ब्रिटिस सेना रहेका सैनिकहरुको लागि समाचार र सामग्री तयार पार्दछ। यही अन्तर्गतको बिएफबिएस गोरखा रेडियो नेपाल ब्रिटिस सेनामा कार्यरत गोरखा सैनिक, तिनका परिवार र उनीहरुका समुदायलाई सूचना र सन्देश दिन स्थापना भएको हो। यो हाल ११ ठाउँबाट एफएम रेडियो, अनलाइन, स्काइ र फ्रिस्याटबाट प्रशारण भईरहेको छ। यसअघिसम्म बिएफबिएस गोरखा रेडियोेले गोरखा समुदाय, तिनका परिवार र उनीहरुका समुदाय अर्थात् आदिवासी जनजाति समुदायका समाचार र सन्देशलाई महत्वका साथ स्थान दिदै आएका थिए। समाचार प्रतिनिधिहरु पनि गोरखाली समुदायकै थिए। तर, बिनोध्वज खड्का स्टेसन प्रमुख र शरदराज गौतम समाचार प्रमुख भएर आएपछि आदिवासी समुदायका समाचार र सन्देशहरुलाई निशेध जस्तै गरिएको छ। र, समाचार प्रतिनिधिहरुलाई पनि निशेधित गर्न खोजिएको छ। गोरखा समुदायप्रति खड्का र गौतमको यस्तो अनुदार व्यवहारले गोरखाली समुदाय आक्रोशित छन् भने रेडियोको आकर्षण पनि ओरालो लागेको छ। गोरखा सैनिक आवाजमा प्रकाशित सईन्द्र राईले तयार पारेको खोजमूलक रिपोर्टः

जिल्लाको खबरलाई देशविदेशसम्म सञ्चार गरिरहेकी पोखराकी पत्रकार शान्ति गुरुङलाई बीएफबीएस रेडियोका तत्कालीन नेपाल प्रमुख किशोर गुरुङले अर्काे जिम्मेवारी थपिदिए – ब्रिटिस गोरखा सैनिकहरुका लागि समाचार लेख्ने। पत्रकार गुरुङलाई पनि खुशी नै लाग्यो, जहाँ आफ्ना श्रीमान् कार्यरत छन्, त्यहाँसम्म आफ्नो समाजको समाचार पुर्याउँने गहन जिम्मेवारी पाएकोमा। रेडियोका प्रमुख गुरुङको प्रस्तावलाई पत्रकार गुरुङले सहर्ष स्वीकारिन् र समाचार लेख्न थालिन्। आफ्नो ठाउँको खबर परदेशमा रहेकाहरुसम्म पुर्याउँन थालिन्। ब्रिटिस सेनामा कार्यरत नेपाली दाजुभाईको माझ पत्रकार गुरुङ छाउन थालिन्। पत्रकार गुरुङ भन्छिन्, ‘धेरै नै उत्साहित भए, परदेश र गाउँको सेतुु बन्न पाएकोमा।’

व्रिटिस सैनिकमा आफ्नो समुदायका धेरै दाजुभाई कार्यरत रहेकाले त्यहाँसम्म आफ्नो ठाउँको खबर पुर्याउँन उनलाई भ्याईनभ्याई भयो, त्यसका लागि काठमाडौं स्टेसनबाट उत्साह, समन्वय र साथ दिए स्टेसन प्रमुख किशोर गुरुङले। पोखरा क्षेत्रबाट व्रिटिस सैनिकमा कार्यरतहरु पनि खुशी भए, आफ्नो ठाउँको खबर दिनदिनै सुन्न÷बुझ्न पाएकाले। तीव्र बजारीकरणसँगै पत्रकार गुरुङलाई एक्लैले सबै खबर कभरेज गर्न नसक्ने अनुभूति भयो। त्यसबेलासम्म बीएफएस रेडियोका नेपाल प्रमुख किशोरका ठाउँमा लाल शाही आइसकेका थिए। शाहीले पनि कर्मचारी र जिल्ला प्रतिनीधिहरुसँग राम्रो समन्वय गर्ने, उत्साह दिने र कर्मचारीहरुलाई सृजनात्मक काम गर्न उत्प्रेरित गर्दै रेडियोको लक्ष्य पछ्याउँने गुरुङकै स्वभावलाई ग्रहण गरिसकेका थिए। पत्रकार गुरुङले पोखरामा अर्काे प्रतिनीधि थप्न राखेको प्रस्तावलाई स्टेसन प्रमुख शाहीले पारित गरिदिए। उनी सम्झन्छन्, ‘एकको ठाउँमा दुई जना भएपछि काम गर्न सहज भयो, खबर सम्प्रेषण गर्न गुणात्मक फाइदा पुग्यो।’

तर, यो उत्साह धेरै दिनसम्म टिक्न सकेन। शाहीलाई यूके बोलाएर उनको ठाउँमा नेपाल स्टेसन प्रमुख बनाई विनोदध्वज खड्कालाई पठाइयो। मनोखुशीले काम गर्ने स्वभावका खड्का स्टेसन प्रमुख भएलगत्तै कर्मचारी र जिल्ला प्रतिनीधिहरुलाई उत्साह दिनुको साटो मनोबल गिराउँने काम गर्न थाले। खासगरी गोरखा समुदाय(आदिवासी जनजाति) प्रति अत्यन्त अनुदार व्यवहार गर्न थाले खड्काले। पत्रकार गुरुङलाई पनि स्पष्टीकरण लिन थालियो – ‘पोखरामा किन दुई जना चाहियो, शान्ति गुरुङ कि खेम सारु निस्कने? त्यहाँ एक जना भए पुग्छ।’ आफ्नै प्रस्तावमा राखिएको अर्का प्रतिनीधि सारुलाई जागिरबाट निकाल्न पत्रकार गुरुङको मनले मानेन। निकै लामो समय निर्णय नदिएरै उत्साहित भएर काम गरिरहेकी पत्रकार गुरुङले आफै निस्कने मनसाय बनाएका छन्। निष्क्रिय अवस्थामा रहेकी पत्रकार गुरुङले भनिन्, ‘स्टेसन प्रमुखसँग असन्तुष्ट छु, उहाँको कार्यशैलीले काम गर्ने जाँगर छैन।’

स्टेसन प्रमुख खड्काको गलत नियतका कारण पत्रकार गुरुङ मात्रै होइन, रेडियोमा कार्यरत अन्य कर्मचारीहरु पनि सन्तुष्ट छैनन्। उनको कार्यशैली र व्यवहारकै कारण अधिकांश जिल्ला प्रतिनीधिहरुले काम गर्न छाडिसकेका छन्। जुन असन्तुष्टि बाहिर पोख्न नसक्ने भएकाले आफै रेडियो छाड्ने क्रम निरन्तर बढिरहेको छ। नयाँ नियुक्त भएर आउने प्रतिनीधिहरु उत्साहित भएर केहीदिन काम गरेपनि विस्तारै निष्कृय बन्दै जाँदा रेडियोको प्रभावकारिता घट्दै गएको छ। पोखरा प्रतिनीधि गुरुङ भन्छिन्, ‘अन्य विकल्प नभएका कर्मचारी तथा प्रतिनीधिहरु जागिर जोगाउँनकै लागि खड्काप्रतिको असन्तुष्टि व्यक्त गर्न सक्दैनन्।’

पोखराबाट हाल खेम सारुले रिर्पाेटिङ गरिरहे पनि पहिले जस्तो काम हुन सकेको छैन। सारुबाट झारो टार्ने काम मात्रै भइरहेको बताइन्छ। दिनहूँजसो त्यहाँको खबर परदेशसम्म पुग्ने गरेकोमा हाल महिना दिनमा एकदुई पटक मात्रै रिर्पाेटिङ भइरहेको छ। खड्काकै कारण असन्तुष्ट बनेर एक्सन राई, सइन्द्र राई, शान्ता राई, सरस्वति पुनलगायतले उक्त रेडियो छाडिसकेका छन्। खड्काकै कार्यशैलीका कारण रेडियो छाडेको उनीहरु बताउँछन्। आदिवासी समुदायका कर्मचारीहरुप्रति प्रमुख खड्का र समाचार प्रमुख शरदराज गौतमले अत्यन्त अनुदार रहेको उनीहरुको भनाई छ। व्यवासायिकताको हवला दिदै मनोवैज्ञानिक रुपमा निराश बनाउँने काम गरेको उनीहरुको भनाई छ। उनीहरु एक स्वारमा उनीहरुको प्रश्न छ, ‘हामीले तयार गरेको समाचार अरु जहाँ पनि उत्कृष्ट हुन्छ, तर त्यहाँ चहि व्यावासायिकताको नाममा बजाईन्न उनीहरुले कस्तो व्यावासायिक समाचार खोजेको हो? भोजपुर प्रतिनीधिका रुपमा काम गरेका एक्सन राईले स्टेसनबाट हुने व्यवहारकै कारण आफैले रेडियो छोडेको बताए। उनका अनुसार मनोवैज्ञानिक रुपमै निराश बनाउने काम स्टेसनबाट हुने गरेको छ।

भोजपुरमा मात्रै होइन, रेडियोको प्रतिनीधिहरु धेरै जिल्लाहरुमा धेरै समय टिक्न सकेका छैनन्। स्टेसन प्रमुख खड्का र समाचार प्रमुख गौतमले बिभिन्न कारण देखाएर काम गर्ने वातारबण नै प्रतिकूल बनाईदिएकोले धेरै प्रतिनीधिहरु आफैं रेडियो छाड्ने गरेका छन्। पाँच बर्षको अवधिमा जनजाति बहुल लाहुरेहरु रहेको जिल्ला खोटाङमा मात्रै चार जना प्रतिनीधि परिवर्तन भइसकेका छन्। रिर्पाेट तयार पार्न प्राविधिक कठिनाई रहेको खोटाङका प्रतिनीधिलाई काठमाडौंबाट गरिने व्यवहारकै कारण धेरै समय टिक्न नसकेका हुन्। भोजपुरमा एक्सनले काम छोडेपछि अहिले नयाँ प्रतिनीधिका रुपमा अवतारमान राई नियुक्त भएका छन्।

स्रोतका अनुसार म्यानेजर खड्कादेखि जिल्ला प्रतिनीधिहरु मात्रै होइन, स्टेसनका कर्मचारीहरु समेत सन्तुष्ट छैनन्। यतिसम्म कि राजनीतिक समाचार हेर्दै जिल्लाजिल्लाका प्रतिनीधिहरुसँग निकट रहने गरेका धनजङ गुरुङ समेत खड्कादेखि खुशी छैनन्। खड्काले गुरुङलाई हटाउँन धेरै पटक प्रयास समेत गरेका थिए। तर, जागिर जोगाउँनै लागि गुरुङले आफ्नो असन्तुष्टि अन्यत्र व्यक्त गर्न सकेका छैनन्। असन्तुष्ट गुरुङ आफूमाथि हुने अन्यायहरु जिल्लातिरका प्रतिनीधिहरुसँग साट्ने गरेका छन्।

खड्का र गौतमको प्रवेशपछि घट्दो क्रेज
रेडियो चल्नका लागि चलिरहेपनि उद्देश्य भन्दा टाढिदै गएको त्यहाँ लामो समय कार्यरत कर्मचारीहरु बताउँछन्। जसको लागि सञ्चालन हुँदै आएको थियो, त्यही समुदाय उपेक्षामा पर्दै गएको बताइन्छ। स्टेसन प्रमुख खड्काले पुराना प्रतिनीधिहरुलाई रेडियो छोड्न बाध्य बनाएर नयाँ प्रतिनीधि चयनमा अपनाएको तरिकाले स्थापनाको उद्देश्य भन्दा टाढिदै गएको एक कर्मचारी अनुमान लगाउँछन्। ‘आफ्नो गाउँठाउँ र परिवारको वस्तुस्थिति प्रशारण हुने यो रेडियो कुनैबेला बेलायतमा कार्यरत सबैको प्रिय भएको थियो’ पूर्व गोर्खा सैनिक रबिप्रकाश राई विगतलाई सम्झन्छन्। तर,अहिले कतिपय नयाँ ब्रिटिस सैनिकहरुलाई यो रेडियोको नाम समेत थाहा छैन। दुई बर्षदेखि कार्यरत एक गोर्खा सैनिकले फेसबुक कुराकानीका क्रममा यो रेडियोबारे थाहा नभएको बताए। उनले भने, ‘यो कस्तो किसिमको रेडियो हो?’

खड्का आउनुअघिसम्म जिल्ला प्रतिनीधिहरुमा स्फुर्ति थियो। त्यसैले व्रिटिस सैनिकहरुको चासोका विषयलाई उत्साहित भएर रिर्पाेटिङ गर्थे। आदिवासी जनजाति समुदायको समाचारहरुलाई स्थान दिईन्थ्यो। जुन अहिले नभएकाले रेडियोको लोकप्रियता कम हुँदै गएको हुन सक्ने कतिपय अनुमान लगाउँछन्। अघिल्ला स्टेसन प्रमुखहरुले दिने उत्साह र मैत्री व्यवहारकै कारण जिल्लाजिल्लाका प्रतिनीधिहरु सबैतिर बीएफबीएस रेडियोलाई परिचित गराएका थिए। पूर्व प्रतिनीधि बिमला राईले रेडियोलाई खोटाङका प्रशासनदेखि जनजनसम्म पुर्याउँन ठूलो योगदान पुर्याएकी थिइन्। लाहुरेका गाउँमा बसिरहेका बाआमाहरु रेडियोको प्रतिनीधिलाई भेटेर आफ्नो खबर छोरासम्म लगिदिन अनुरोध गरेको बिमला सम्झन्छिन्। तर, अहिले उक्त रेडियोको प्रतिनीधि को छन् भन्नेबारे त्यहाँका पत्रकारहरु समेत अनभिज्ञ छन्।

नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य दीपक पाण्डे आमसञ्चारका माध्यम अप्रिय बन्नुको पहिलो कारण लक्षित स्रोता÷पाठक नचिन्नु बताउँछन्। पत्रकारिताका प्राध्यापक आरके रेग्मी भन्छन्, ‘सञ्चार माध्यम सञ्चालन गर्नुपूर्व लक्षित स्रोता निर्धारण गरिएको हुन्छ, उक्त स्रोतालाई ध्यानमा राखेर रिर्पाेटिङ र कार्यक्रम उत्पादन गर्नु पर्दछ।’ उक्त रेडियोमा कार्यरत कर्मचारीहरु पनि स्टेसन प्रमुखको मनोगत शैलीले सम्बन्धित समुदायका प्रतिनीधिहरुमा छाएको निराशाले नै रेडियो उद्देश्य भन्दा टाढिदै जानुको कारण भएकोमा सहमत छन्। यसरी उद्देश्यबाट बिचलित भएर सञ्चालन हुँदा त्यसको मारमा भने व्रिटिस गोर्खा सैनिकहरु नै परेका छन्। जसले आफ्नो र आफ्नो ठाउँको खबरबाट बञ्चित हुनुपरेको छ। जसको ठाउँमा कुनै व्यक्तिको अक्कलले प्रशारण गरिएका सामग्री सुन्न उनीहरु बाध्य छन्।

आर्थिक अपारदिर्शता
कर्मचारी तथा प्रतिनीधिहरु असन्तुष्ट बनेर झारो टार्ने काम गरिररहेपनि रेडियोमा भने दिनहूँ लाख रुपैयाँ खर्च भइरहेको छ। कर्मचारीको तलब, स्टेसनरी खर्च र प्रतिनीधिहरुको पारिश्रमिकबापत मासिक झण्डै तीस लाख खर्च हुने रेडियोका एक कर्मचारीले बताए। तर, कतिपय प्रतिनीधिहरुले पारिश्रमिक नपाएकै कारण रेडियो छोडेका छन्। भोजपुरका पूर्व प्रतिनीधि एक्सन राईले सम्झौता अनुसार पारिश्रमिक नपाइएकालै रेडियो छोडेको बताए। उनले गोरखा सैनिकसँग भने, ‘रिर्पाेटिङ गर्न भोजपुरको गाउँमा मलाई पठाएपछि दुईदिन लगाएर रिर्पाेट तयार पारे, त्यसका लागि लागेको खर्च दिइएन। रेडियोको काम गर्दा उल्टै गोजीको पैसा झिकेर खर्च गर्नु परेकाले रेडियो छोडे।’ एक्सनले अर्काे गुनासो थपे, ‘कार्यालयकै कामका लागि भनेर बोलाएइपछि तीनदिनको गाडी यात्रा गरेर भोजपुरबाट काठमाडौं आइयो। तर, आउनेजाने खर्च समेत नदिएपछि म निराश भए। काम गर्नै मन लागेन।’ उसो त, रिर्पाेटिङबाट पाइने पैसाले सामान्य जीवन चलाउँन समेत नसकिने भएपछि प्रतिनीधिहरु आफै रेडियो छोड्ने गरेका छन्। तीनदिन लगाएर तयार पारेको रिर्पाेटको पारिश्रमिक ६ सय रुपैयाँ आउँने गरेको सोलुखम्बु प्रतिनीधि बुद्धिबीर बाहिङले बताए। तर, त्यहाँ कार्यरत कर्मचारीहरु यसबारे खुलेर बोल्ने बातावरण समेत नरहेको बताउँछन्।

सरकारी तथा नीजि सञ्चार माध्यमहरुले बार्षिक पारिश्रमिक समानुकूल बढाउँदै लगे पनि यो रेडियोले बर्षाैदेखि तलब बढाएको छैन। स्टेसन प्रमुख लाल शाहीले निर्धारण गरिदिएको दरमै कर्मचारी तथा प्रतिनीधिहरुले पारिश्रमिक पाउँदै आएका छन्। जसको परिणाम जिल्ला–जिल्लाका रिर्पाेटरहरुलाई बढि असर परेको छ। गाउँगाउँ पुगेर रिर्पाेट तयार पार्नै प्रतिनीधिहरुलाई महिनामा दश हजार पनि रेडियोले दिन नसकेपछि प्रतिनीधिहरुमा आर्थिक निराशा समेत परेको छ। त्यसोत, युकेबाट आउँने बजेटमाथि पनि स्टेसन प्रमुखले पारदर्शी नगर्ने आरोप छ। जागिर जोगाउँनकै लागि खड्काका अगाडि कर्मचारीहरु नतमस्तक बन्नुपर्ने स्थितीले उनको मनोपरी बढेको बताइन्छ। उक्त रेडियोको आर्थिक निर्देशिका समेत त्यहाँका कर्मचारीहरुलाई थाहा छैन।

निसाना गोरखा समुदाय
स्टेसन प्रमुख खड्का र समाचार प्रमुख गौतम भएपछि उनीहरुको प्रमुख निशाना गोरखा समुदायको बिषय र स्टेशनमा उनीहरुको भौतिक उपस्थीतिमाथि भएको छ। उनीहरुले बिभिन्न बहानामा आदिवासी जनजातिको बिषयलाई सकेसम्म स्थान दिदैनन्। यस्तै गोरखा समुदायका कर्मचारी तथा समाचारदाताहरुलाई पनि मनोवैज्ञानिक रुपमा निराश बनाउने काम गर्छन्। एक प्रतिनीधि भन्छन्, ‘स्टेसन प्रमुख खड्काले कतिपय अवस्थामा समुदायगत विभेदित शब्दहरु समेत प्रयोग गर्छन्।’ जसको कारण कर्मचारीहरु निराश हुन्छन्, बोल्न र काम गर्न उत्साहित हुँदैनन्। खड्काको यस्तो शैलीले गर्दा अघिल्ला स्टेसन प्रमुखहरुले बनाएको बिरासतलाई समेत धरासयी बनाएका छन्। उनले बद्लिदो सामाजिक अवस्था पनि ध्यान दिएको पाइँदैन। जब कि वैधानिक तवरमै अव समावेशी सञ्चार नीति अपनाउँनु राज्यको संवैधानिक दायित्व रहेको आदिवासी जनजाति महासँघका अध्यक्ष डण्ड गुरुङ बताउँछन्। उनी भन्छन्, ‘संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त राज्यका सम्पूर्ण अवयवहरुका लागि हो, त्यसैले यो नियम सञ्चार क्षेत्रमा पनि लागू हुन्छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य निर्वाचित खिम घले अवको लडाईँ समावेशी सञ्चार नीतिकै लागि हुने बारम्बार बताउँछन्। मुल प्रवाहका मिडियाहरुमा जनजातिहरुको न्यून उपस्थिती भएकाले त्यसको प्रभाव अन्य ठाउँमा पर्न गएको उनको भनाई छ। दोस्रो जनआन्दोलनपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएकाले अव भावनात्मक आधारमा मात्रै नभई कानुनी आधारमा पनि कुनै पनि किसिमको विभेद गर्न पाइँदैन।
कानुनी आधारमा हेर्दा नेपाल संयुक्त राष्ट्र संघको पक्ष राष्ट्र भएकाले १९६५ डिसेम्बरमा जारी महासन्धीलाई काट्न नसकिदैन। उक्त महासन्धीमा कुनै जाति विषेशको भाषा, संस्कृतिको आधारमा विभेद हुने किसिमका व्यवहार गर्न नपाइने उल्लेख गरिएको छ। उसो त, अन्तर्राष्ट्रिय महासन्धीका आधारमा मात्रै नभई नेपालको अन्तरिम संविधान २०६३ को धारा–१४ को (१), (२), (३) र (४) ले कसैको उत्पत्तिकै दोषका कारण उजनीच व्यवहार गर्न दिएको छैन। यदि, त्यस्तो गरिएमा काुनन त दण्डनीय भनेर उक्त धाराको उपधारा ५ ले उल्लेख गरेको छ। तर, राजनीतिक संक्रमणका कारण कानुन विपरितका कामहरुबारे पनि कसैले आवाज उठाउँन नसकेको एक अधिकारकर्मी बताउँछन्। बरिष्ठ कानुन अधिवक्ता सुरेन्द्र महतो भन्छन्, ‘राज्य पुनसंरचनाको संक्रमणकालीन अवस्थामा अन्तरिम संविधानको उक्त धारा नै बढि निष्क्रिय रहन पुगेको छ।’

कानुन कार्यान्वयन नहुँदैमा आकाशै खस्ने नभएपनि त्यो संस्थाले जनमानसको विश्वास आर्जन गर्न नसक्ने भएकाले बिस्तारै अन्तत बन्द हुनेमा अधिकारकर्मीहरु विश्वास गर्छन्, जुन बाटो स्टेसन प्रमुख खड्काले बीएफबीएस रेडियोको हकमा अपनाएको छ। खड्काले आफ्नो मान्छे अटाउँनकै लागि ब्रिटिस सैनिकहरुको सामान्य प्रभाव समेत नदेखिने शहरहरुमा प्रतिनीधिहरु राखेका छन्। जसले गर्दा रेडियोले राखेको उद्देश्य बमोजिमका समुदायहरुको सामाग्री ओझेलमा पर्न गएको छ। यसरी एउटै व्यक्तिको गलत व्यवहारले गर्दा ब्रिटिस गोर्खा सैनिकहरु भन्दा रेडियोको यात्रा उल्टो गतिमा वग्न थालेको छ। ब्रिटिस सैनिकहरुमाथि मार पर्न गएको छ।

को हुन् विनोदध्वज ?
विनोदध्वज खड्का बेलायती सेनाबाट २००२ मा सेवा निवृत लगत्तै बिएफबिएस गोरखा रेडियो ब्रुनाईमा स्टेशन काम गरे। उनी २००६ मा सोही रेडियोको शर्नक्लिफमा नेटवर्क प्रोग्राम डाइरेक्टर गोरखा सर्भिसको रुपमा सरुवा गरिएका थिए। उनी केही समयअघि मात्र नेपालस्थित सोही रेडियोको स्टेशन म्यानेजरको रुपमा दुई वर्षको लागि नियुक्ति गरिएको रेडियोको वेभसाइटमा उल्लेख छ। बिएफबिएस गोरखा रेडियो नेपालबाट गोरखा सैनिकहरुको बिचमा अत्यन्त लोकप्रिय किशोर गुरुङको बर्हिगमनपछि लाल शाही प्रमुखको रुपमा आए। त्यसो त शाही पनि गोरखाहरुको बिचमा प्रिय नै थिए। शाही बेलायत गएलगत्तै स्टेशन म्यानेजर भएका खड्काले सुरुदेखि गोरखा समुदायप्रति अनुदार व्याबहार गदै आएको बताईन्छ। उनी यतिसम्म कि आदिवासी जनजाति समुदायका बिषयबस्तु सकेसम्म प्रवेश नै नगरोस् भन्ने चहान्छन्। गोरखाली समुदायलाई सकेसम्म निशेध गर्ने उनको अभियान नै हो। उनको यो अभियानमा साथ दिएका छन्, समाचार प्रमुख शरदराज गौतमले। आदिवासी समुदायका समाचारदाताहरुलाई अनेक बहाना देखाएर निराश बनाउँने अनि जाँगीर नै छोड्न बाध्य बनाउँने अभियानमा उनीहरु दुबै छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस