नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका १३ अप्रिल। नयां बर्ष २०७१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था नेपालीघर र रकिमाउण्टेन्स फ्रेन्डस अफ नेपालले शनिबार बेलुका संयुक्त रुपमा आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन्।

अध्यक्षद्वय नारायण श्रेष्ठ र शरद आचार्यले पानसमा बत्तीबाली उद्धाटन गरेका कार्यक्रममा झण्डै ५ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो। डेनवर्कस्थित नर्थ ग्लेन हाई स्कूलमा सम्पन्न कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाटोपी, गुन्यू चोलो लगाएर आएका थिए भने कोही आफ्नो जातीय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए।

कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरिकीहरु पनि सहभागी भएका देखिन्थे। कार्यक्रम आयोजना स्थलमा बालक हुन् वा बृद्ध, यूवा हुन वा यूवती सबै आआफ्ना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए। कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो।

नेपाली राष्ट्रियगान गाएर सुरु गरिएको शुभकामाना सांझमा अधिकांश मनोरञ्जन दिने खालका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालीको रहन सहन, भेष भूषा झल्कने नेवारी नृत्य, तामाङ्ग सेलो, कौडा नाच, धिमाल नाच, तथा लोक नृत्य, आधुनिक र देश भक्तिका गीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहंदा आफूलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो। दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुञ्जिरहेको थियो।

अध्यक्षद्वयले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिदैं नेपाली संस्कृति बचँई राख्न तथा नेपालको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए। मातृभूमिप्रतिको कर्तब्य स्मरण गराउन तथा कर्म थलोमा आफू जन्मे हुर्केको संस्कृतिको जगेर्ना गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताए।

गत बर्षसम्म दुबै संस्थाले नयां बर्षको कार्यक्रम आयोजना छुट्टा छुट्टै रुपमा गर्ने गरेका थिए। बिदेशमा बसेका नेपालीहरुको हक हितको लागि तोडिएर होईन जोडिएर, एक्ला एक्लै हैन संगै हिडेमात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने दुबै संस्थाले महशुस गरी केही समय अघिदेखि यस्ता कार्यक्रमहरु संयुक्त रुपमा आयोजना गर्न थालेका हुन्। नयां बर्षको यो संस्कृतिक कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न दुबै संस्थाका तीन, तीन जना सदस्य रहने गरि गठन गरिएको एक कल्चर कमिटीको सकृयतामा यस कार्यक्रम सम्पन्न भएको हो।

तोकिएकै समयमा कार्यक्रम सुरुगर्नु, बिभिन्न जात जातीका भेष भूषामा बालबालीकाहरुलाई सिंगारेर नेपाल बहुजाती र बहुभाषी भएको सुन्दर देश हो भन्ने भावना झल्काउनु, दुबै संस्थाका पदाधिकारीहरु सकृय सहभागी भई कार्यक्रम सञ्चालन गर्नु, स्थानीय कलाकारहरुलाई आफ्नो कला देखाउने अवसर दिनु, कार्यक्रमको सकारात्तमक पक्ष रहेको र आगामी कार्यक्रममा साउण्ड सिष्टमलाई बिशेष ध्यान दिनुपर्ने सहभागीहरुको प्रतिक्रिया रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस