उत्तम अधिकारी / एचकेनेपाल डट कम-
यूएई, १२ अप्रिल। नयाँ वर्षलाई स्वागत गर्दै जनसाँस्कृतिक मंच यूएईले अलऐनमा एक भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली राष्ट्रिय पोशाक दौरा, शुरुवाल, टोपी र महिलाहरु गुन्यु चोलीमा सजिदै स्टेजमा गाइएको राष्ट्रिय गान र लगत्तै सामुहिक रुपमा “यो नेपाली शिर उचाली” बोलको गीतमा राष्ट्रिय झण्डा फहराउदै कलाकारहरुले प्रस्तुत गरेका नृत्यले कार्यक्रमका सहभागीहरु राष्ट्रिय भावनामा ओतप्रोत भएका देखिन्थे| कलाकार बिमल अधिकारीको “यो गाउँको ठिटो म”, बिमला लामाको “दिल यो”, बिवश ठकुरी, बिमला लामा र मिनुषा लामाको “नगर दोमन”, प्रेमिका लामाको “मै ठूली”, पारु लामाको “चियावारीमा”, तथा सन्तोष लामा र मिनुषा लामाको “चाहन्छु म तिमीलाई नै” बोलको युगल नृत्यले उपस्थित दर्शकहरुको वाहवाही बटुलेको थियो| यसका अलावा उक्त मनोरन्जनात्मक कार्यक्रममा चिनीमाया लामा, मनिका लामा, शोभा तामांग, पूर्णिमा बि.क., सानु थापा, सीता लामा, लक्ष्मण बि.क., राम बुढा, टोपेन्द्र मगर, रबिन्द्र लिम्बुलगायत डेढ दर्जन कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।
प्रवासी नेपाली मंच यूएईको साँस्कृतिक बिभाग अन्तर्गतको जनसाँस्कृतिक मंच यूएईले अलऐनको जिमी मल नजिक शुक्रवार उक्त कार्यक्रम आयोजना गरेको हो। नेपाली नयाँ बर्ष २०७१ लाई स्वागत गर्दै कार्यक्रमका सभापति तथा जनसाँस्कृतिक मंचका अध्यक्ष बिमल अधिकारी र प्रमुख अतिथि प्रवासी नेपाली मंच यूएईका अध्यक्ष प्रकाश कोइरालाले संयुक्त रुपमा केक काट्दै कार्यक्रमको उद्घाटन गरेका थिए। आयोजक समितिका उपाध्यक्ष हरी बिभर्षले संचालन गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि कोइरालाले न्यून पारिश्रमिकमा कार्यरत तथा आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा कठिनाई भोगिरहेकी कलाकार शोभा तामांगलाई सोही कार्यक्रममा संकलित झण्डै एघार सय दिर्हाम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मन्तब्य राख्दै कोइरालाले प्रवासी नेपाली मंच यूएई दु:खमा परेका नेपालीहरुको सहयोगका लागि हरदम तयार रहेकोले आफूलाई परेको समस्याका बारेमा बेलैमा जानकारी गराउन आव्हान गरे। उनले क्षमतावान कलाकारहरुलाई केवल घर र कार्यस्थलको सिमित दायरामा संकुचित नभई मंचको जनसाँस्कृतिक फाँटमा आवद्ध भएर आफ्नो प्रतिभाको बृहत प्रदर्शन गर्दै आफू जहाँ रहेपनि आफ्नो पहिचान स्थापित गर्न अग्रसर हुन अनुरोध गरे। नयाँ बर्षको शुभकामना प्रदान गर्दै उनले मंच प्रवासिएका कलाकारहरुको हीत र संरक्षणमा संवेदनशील भएकाले कलाकारहरुकै चाहना बमोजिमको नीति निर्माण गर्दै अघि बढ्ने तर त्यसका लागि कलाकारहरुको बृहत एकता र आफ्नो संगठनमा आबद्धताको आवश्यकता रहेको बताए|
सभापति अधिकारीले कार्यक्रममा बिभिन्न संघ सँस्थाका तर्फबाट उपस्थित अतिथिहरु तथा सहभागी र कलाकार सबैमा आभार प्रकट गरेका थिए| रात्रिभोजसहित आयोजना गरिएको उक्त कार्यक्रममा मंचका साँस्कृतिक बिभाग प्रमुख इन्द्रबहादुर घिमिरे, अलऐन राहत तथा उद्धार समिति यूएईका अध्यक्ष श्याम पाठक लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको अन्तिम भागमा उपस्थित मध्येबाट गोलाप्रथा मार्फत २ जनालाई उपहार समेत प्रदान गरिएको थियो। दुबईका बिबेक प्रधान र अलऐनकै एक सहभागीले उक्त पुरस्कार जितेका थिए।