नयाँ वर्ष खुशीयाली बनेर आउनेछ !(कविता)
– आचार्य प्रभा


समयहरुलाई
आफ्नो पोल्टोभरी कोचेर
नयाँ वर्ष फेरि
मग्मगाउँदैछ
हर नेपालीको
मन आँगनमा।
नयाँ बर्ष,
नव पालुवाको मुना बनेर
पलाउँदैछ
हरेक नेपाली पात्रोभरी
र…..,

उसरी नै सुबासिलो
बास्ना बनेर मग्मगाउँनेछ
हर नेपालीको आँगनभरी।
आउने छैन पक्कै पनि
नयाँ बर्ष रग्ताम्य
साँझ बनेर,
भित्रिने छैन अवश्य पनि
नयाँ बर्ष,
कालो मंडारिएको
बादल बनेर।
हो…,
नयाँ बर्ष
समान भाव लिएर
आउनेछ,
अनि…,
समानताको बिगुल फुकेर
सबैलाई एकताको कसिमा
बाँध्नेछ,
त्यसैले…,
नयाँ बर्ष
हर नेपालीको मुटुको
ढुक्ढुकी बनेर आउनेछ
अझ भनौं…,
यो २०७१ साल
करोडौं नेपालीको
खुशीयाली बनेर आउनेछ!!!

अप्रिल/ १२/ २०१४

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस