घनस्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम –
दोहा – कतारको अल अरविक स्पोर्टस क्लवमा आज शुक्रवार नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु भिड्दै छन। अल अहली क्लवले आयोजना गरेको खेलमा नेपालका चर्चित गायक मिलन लामा र मिलन अमात्यको बजोड सांगीतिक प्रस्तुतीसमेत रहनेछ।

नेपालबाट २१ जना खेलाडीसहित ३० जनाको टोली कतार आईसकेको छ। खेलाडिहरुको टिममा म्यानेजर ललितकुमार श्रेष्ठ, मुख्य प्रशिक्षक राजुकाजी शाक्य, सहायक प्रशिक्षक उपेन्द्रमान सिंह, फिजियो सुरज भुसाल साथै खेलाडीहरु क्यापटेन सागर थापा, अनिल गुरुङ्ग, भोलानाथ सिलवाल, बिक्रम लामा, विशाल श्रेष्ठ, किरणकुमार लिम्बु, टंकबहादुर बस्नेत, राजु तामाङ, सन्तोल साहुखल, रबिन श्रेष्ठ, रितेश थापा, रोहित चन्द, सुबिन्द्र श्रेष्ठ, सन्दिप राई, जुमानु राई, सरज श्रेष्ठ, जितेन्द्र कार्की, बिराज मर्हजन, सुर्दशन देबकोटा, अशिमजैग कार्की र दिपक राई रहेका छन्।

सांगीतिक प्रस्तुतीका लागि नेपाल कै चर्चित गायक मिलन लामा, गायिका मिलन अमात्य, उद्घोषकमा एबिसी टेलिभिजनका महाप्रबन्धक किरणबाबु मरहट्ठा साथै गौरब थापा रहेका छन्। खेलाडीहरु मंगलबार र कलाकारहरु बुधाबार बेलुका कतार आईपुगेका हुन्।

११ अप्रिल शुक्रबार दिउसो ३:३० बजेबाट प्रवेश खुल्ला गरिने कार्यक्रममा ४ बजेबाट सांगीतिक प्रस्तुती रहने, ६ बजेबाट कतारका अन्तरक्लवबीच खेल साथै बेलुका ८:३० बजेबाट नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरुबीचको खेल हुने चितवन युवा समूहका पूर्वअध्यक्ष रामहरी गैहे्रले बताए।

कार्यक्रमलाई चितवन युवा समूहले समन्वय गरेको छ। कार्यक्रमका लागि समूहमा आउने दर्शकहरुलाई यातायातको पनि व्यवस्था गरिएको छ। खेलसँगै भरपूर मनोरन्जन लिन नेपाली समूदायलाई चितवन युवा समूहले सहभागिताका लागि आह्वान गरेको छ।

अलअहली क्लवले नेपाली राष्ट्रिय खेलाडीहरुलाई कतारमा खेल प्रदर्शन गर्ने ऐतिहासिक अवसर दिएको छ। नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरुलागायत सांगीतिक कार्यक्रमको सम्पूर्ण खर्च क्लवले नै बेहोर्नेछ। कार्यक्रममा आउने दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

कतारमा कार्यरत नेपालीहरुले नजिकबाट आफ्नो टिमको खेल हेर्न पाउनेछन्। नेपाली संगीतका पारखीहरुका लागि पनि भरपूर मनोरन्जन मिल्ने छ। चर्चित गायक मिलन लामाको माफी मुस्किला, माझिदाइ पोखरा फेवातालको, छमछमि नाचिदेउ साथै गायिका मिलन अमात्यको आशैको गुलेलीले, यो गाँउ रमाईलो यो ठाँउ रमाईलो र नाच्यो भाले पोखरीको छेउलगायतका सांगीतिक प्रस्तुतीले कतारमा कामका लागि दिनरात दौडिनु पर्ने नेपालीको बाध्यतालाई बिर्साउने छन्। कार्यक्रममा फिलिपिन्सको पनि सांगीतिक प्रस्तुती रहनेछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस