सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं, २७ चैत्र। विद्यालय स्तरमा पठन पाठनका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिमा नेपाल म्युजिक सेन्टरले प्रकाशन गरेको कक्षा ६ को पाठ्यपुस्तक ‘मेरो सँगीत’ को सार्वजनिक भएको छ। पुस्तकका लेखक सँगीतकार शान्तिराम राई हुन्।

सँस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सत्यमोहन जोशी, शिक्षा पत्रकार सँजालका अध्यक्ष इश्वरराज ढकाल, पुस्तकका लेखक शान्तिराम राई, बरिष्ठ गीतकार रत्नशम्शेर थापा, म्युजिक सेन्टरका सदस्य सचिव सन्तोष शर्मा, सँगीतकार सुरेश अधिकारी, म्युजिक स्कूलका प्रिन्सिपल इमनविक्रम शाहले सँयुक्त रुपमा विमोचन गरे।

यो बर्षदेखि औपचारिक रुपमा विद्यार्थीहरुले सँगीतको सैद्धान्तिक र व्यवहारिक शिक्षा कक्षा ६ देखि स्कूलमै पढ्न पाउने भएकाछन्। पाठ्यपुस्तक नबनेका कारण विद्यालयहरुले मनोरञ्जनको लागि मात्र सँगीतलाई प्रयोग गरिरहेका थिए।

लेखक शान्तिराम राईको भनाई अनुसार कक्षा ६ मा यो विषय लिएर पढ्ने विद्यार्थीहरुले गाउने, बजाउने र नाच्ने आधारभूत शीप सिक्न सक्नेछन्। पूर्वीय सँगीत र पाश्चात्य सँगीतको उत्पत्ति, विकास तथा यसका स्वरलिपी सम्बन्धी शिक्षा लिन सक्नेछन्। नेपाली सँगीतका विभिन्न शैलीहरु र नेपाली सँगीतका मूर्धन्य श्रष्टाहरुको बारेमा थाहा पाउनेछन्। यस किताबमा सँगीत, गायन, वाद्यवादन र नृत्य गरी चारवटा खण्डमा पढ्नु पर्ने छ। कक्षा १ देखि ८ सम्मको सँगीतको पाठ्यपूस्तक तयारी अवस्थामा रहेको र यो वर्षदेखि लागू हुने गरि कक्षा ६ को पाठ्यपुस्तक प्रकाशनमा आएको सो अवसरमा जानकारी गराईयो।

उपत्यकाका लगभग ५० वटा नीजि विद्यालयहरुमा यो वर्षदेखि पठन पाठन शुरु हुनेछ। जस मध्ये ग्रामर स्कूल का]टेश्वर, नेशनल बेबीलोन स्कूल शान्तिनगर, नोबेल एकेडेमी बानेश्वर, क्याम्ब्रीज स्कूल पुरानेबानेश्वर, ब्राईट फ्यूचर नैकाप, ब्लुरेन स्कूल कलंकी, पवनप्रकृति स्कूल इमाडोल, होली गार्डेन भक्तपुर, माउण्ट ओलिभ सानागाउँ, न्यू मिलेनियम जावलाखेल, कमलनेत्र स्कूल भीमसेनगोला, एस्टर एकेडेमी इमाडोल, फ्यूचर स्टार डल्लु , सगरमाथा स्कूल जावलाखेल, सूर्योदय स्कूल मैतिदेवी लगायतका विद्यालयमा यही शैक्षिक सत्रबाट पठनपाठन गरिने छ।

बिमोचन समारोहमा सत्यमोहन जोशीले भने राष्ट्रनिर्माणमा सँगीतले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ। लेखक राईका अनुसार सँगीत व्यवसायिक विषय भएकोले यो अर्थसँग जोडिएको छ। नेपालमा मात्रै सँगीत कर्मबाट अर्वौको आर्थिक कारोवार भईरहेको, ठूलो मात्रामा रोजगार सिर्जना भएको र जसबाट राज्यलाई समेत ठूलो रकम कर वापत प्राप्त भईरहेको छ। यो विषय व्यवस्थित हुन सक्यो भने र सवै विद्यालयका विद्यार्थीहरुले पढ्न पाए भने नेपाली सँगीतको स्तर उन्नति हुने, नेपाली कला र सँस्कृतिको सम्वर्द्धन हुने, र नेपालमा विदेशी गीत सँगीतको प्रभाव कम हुने छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस